• २६ वैशाख २०८१, बुधबार

प्रहसनको तयारी

blog

काठमाडौँ, भदौ ४ गते । कलाकारको दसैँ मानिने गाईजात्रामा यो वर्ष पनि कलाकारहरू दर्शक हँसाउने तयारी गर्दै हुनुहुन्छ । सधैँ झैँ यस पटक पनि गाईजात्रा महोत्सवमा अधिकांश हँसाउने मसला राजनीतिक र सामाजिक नै हुने कलाकारहरू बताउनुहुन्छ । धेरैजसो कलाकार देश चलाउने नेता, सभासद्का कुकृत्यलाई तारो बनाउँदै दर्शकलाई पेट मिच्न बाध्य पार्दै हुनुहुन्छ । 

मनोज गजुरेल, शैलेन्द्र सिम्खडासहितका कलाकारले प्रज्ञा भवन, कमलादीमा गाईजात्रा प्रहसन गर्नुहुने भएको छ । ‘२०८० सालको गाईजात्रा’ नामक गाईजात्रा कार्यक्रम आयोजना हुने कलाकार गजुरेलले बताउनुभयो । पहिलो चरणमा पूर्वी नेपाल, दोस्रो चरणमा काठमाडौँ र तेस्रो चरणमा पश्चिम नेपालमा आफ्नो समूहको प्रहसन प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “सधैँ झैँ केही फरक र नयाँ गर्ने सोच छ । चर्चित व्यक्ति र चर्चित घटनाको प्रहसन गरिने छ ।” गजुरेल र सिम्खडाका साथै टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुविना अधिकारीलगायत कलाकार दर्शक हँसाउने तयारीमा हुनुहुन्छ ।

कलाकार जितु नेपालले ‘कमेडी टुर’ सँगै डिजिटल रूपमा प्रस्तुतिको तयारी गरिरहेको बताउनुभयो । एक सातासम्म डिजिटल रूपमा प्रस्तुति दिने तयारी रहेको हास्य कलाकार नेपाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनप्रतिनिधिले जनताको विश्वास गुमाइरहेको र दायित्व भुलेको कुरालाई डिजिटल प्रस्तुतिमार्फत व्यङ्ग्य गर्दै छु ।”

हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले गाईजात्राको छेको पारेर ‘लुछाचुँडी’ नामक प्रहसन सार्वजनिक गरिसक्नुभएको छ । “गाईजात्राकै आसपासमा मोफसल टुर गर्दैछौँ,” रिजालले भन्नुभयो । प्रदेश–२ मा गरिने ‘गोल्डेन ओक कमेडी टुर’ मा जितु नेपाल, सुरेन्द्र केसी (मुला साग), शिवशङ्कर रिजाल (जोगिन्दर), सुमन कार्की, निरज नेपाल र गायिका मिलन नेवारले प्रस्तुति दिनुहुने रिजालले बताउनुभयो । “काठमाडौँ मात्र केन्द्रित नभई नेपालभर गाईजात्राको रौनक बढाउने उद्देश्यले टुर गर्दैछौँ,” हास्यकलाकार रिजालले भन्नुभयो । 

हास्य कलाकार कमल गाउँलेले २३ औँ गाईजात्रे प्रस्तुति ल्याउनुभएको छ । उहाँले यो वर्षको ‘काण्डै काण्डको देश’ शीर्षकको प्यारोडी गाईजात्रे ल्याउनुभएको हो । गाउँलेले सुनकाण्ड, नक्कली भुटानी शरणार्थी, वाइडबडी, पशुपति सुनलगायतका चर्चित काण्डलाई आफ्नो गाईजात्रे प्रस्तुतिको विषय बनाउनुभएको छ । हरेक वर्ष झैँ यस पटक पनि प्यारोडीमार्फत देशमा भएको राजनीतिक र सामाजिक विकृति विसङ्गतिमाथि चोटिलो व्यङ्ग्य गरेको उहाँले बताउनुभयो ।

कुनै समय दुईदेखि तीन समूह मिलेर गर्ने ‘गाईजात्रा’ अहिले अलग–अलग समूहमा परिणत भएको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजाराम पौडेल, दीपकराज गिरीलगायतका कलाकार आआफ्नो समूहसँग मिलेर गाईजात्रा कार्यक्रम गर्ने गर्नुहुन्थ्यो तर अहिले त्यो अवस्था सुस्ताएको छ । कलाकार दीपकराज गिरी यो सबैको दोष कोभिडलाई दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोभिडअघि गाईजात्रा आउने केही दिनदेखि नै हामी जुर्मुराउन थाल्थ्यौँ । जब कोभिडले सबै तहसनहन बनायो त्यसपछि सबै कलाकार एकै ठाउँमा जम्मा हुन पनि गाह्रो भयो र व्यस्तताले पनि समय मिलाउन सकिएन ।”