• ४ पुस २०८१, बिहिबार

मापदण्डभित्र रहेर उडान अनुमति

blog

काठमाडौँ, भदौ २ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा तोकेको उडान अवधिपछि निश्चित मापदण्ड पालना गरेर मात्र उडान अनुमति दिने भएको छ।

यसअघि प्राधिकरणले साउन तेस्रो साता एक दर्जनभन्दा बढी पहाडी तथा हिमाली विमानस्थलमा   असोज दोस्रो सातासम्म बिहान ६ देखि दिउँसो १२ बजेसम्म मात्रै उडान गर्न पाउने मापदण्ड तोकेको थियो। प्राधिकरणले बिहीबार पहाडी क्षेत्रका छोटो उडान र अवतरण हुने (स्टोल) विमानस्थलमा उडानका लागि चार वटा निर्णय गर्दै उडान खुला गरेको जनाएको छ। 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अबदेखि छोटो धावन मार्ग भएका दुर्गमका विमानस्थलबाट उडान गर्दा प्रत्येक उडानमा सिएए ‘कार (२)’ मा भएका ‘भिएमसी’ (भिजिबिलिटी एन्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) को सुनिश्चितता गरी चालक र डिस्प्याचरको लिखित घोषणापछि मात्र उडान अनुमति निर्णय भएको जानकारी दिनुभयो। प्राधिकरणले हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिबन्ध लगाएको बताउँदै उहाँले कर्णालीमा मनसुन अवधिका लागि प्रतिबन्ध लगाएको उडानमा कुनै पूर्वाग्रह नरहेको प्रस्ट पार्नुभयो। 

“पहाडी तथा हिमाली क्षेत्रका विमानस्थलमा भएका दुर्घटनाका प्रतिवेदनले मनसुनको समयमा मौसम बिग्रेर हेलिकोप्टर वा जहाज पहाडमा ठोक्किएर दुर्घटनाको जोखिम धेरै हुने गरेकाले दुर्घटना न्यूनीकरणका लागि उडान समय तोकिएको हो,” उहाँले भन्नुभयो, “केही विमानस्थलमा दिउँसो १२ बजेपछि तेज गतिमा हावा चल्ने भएकाले प्राधिकरणले विगतका वर्षमा पनि मनसुनको अवधिमा उडान बन्द गर्दै आएको थियो।” उहाँले जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका अनुसार उक्त उडान समय तोकिएको जानकारी दिनुभयो।

प्राधिकरणले बिहीबार गरेको निर्णयमा दुर्गमका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको ‘भिएमसी मिनिमा’ कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापछि मात्रै उडान अनुमति प्रदान गरिने उल्लेख छ। त्यस्तै नेपालगन्ज विमानस्थलबाट पहाडी क्षेत्रका स्टोल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगन्ज विमानस्थलमा अनिवार्य रूपमा उडान सञ्चालन अधिकारी (एफओओ) को व्यवस्था गर्नुपर्ने प्राधिकरणले जनाएको छ। त्यसपछि उडान सञ्चालनको सम्पूर्ण कार्य सोही अधिकारीमार्फत गर्नुपर्ने र दुर्गमका विमानस्थल सञ्चालन समय पुनरवलोकन गर्ने तथा हवाई मार्गको मौसमको उपलब्धताबारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने प्राधिकरणले निर्णय गरेको छ।