• ३१ वैशाख २०८१, सोमबार

उत्तरपुस्तिका साटफेर,केन्द्राध्यक्षसहित दुई पक्राउ

blog

दीपकप्रसाद गौतम

वीरगन्ज, साउन ३२ गते  । वीरगन्जस्थित ठाकुरराम क्याम्पस परीक्षा शाखाका पूर्वप्रमुख आफ्नै बुहारीको उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै साटफेर गर्दैगर्दा पक्राउ परेका छन् ।  त्रिजुद्ध माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा ठाकुरराम बहुमुखी क्याम्पसको बिबिएस दोस्रो वर्षको परीक्षाको उत्तरपुस्तिका हेरेफेर गरिरहेको अवस्थामा प्रहरीले ठाकुरराम क्याम्पसको परीक्षा शाखाका पूर्वप्रमुख मोहन यादव र त्रिजुद्ध मावि परीक्षा केन्द्रका प्रमुख विनोद स्वर्णकारलाई पक्राउ गरेको हो ।

दुवै जनालाई वडा प्रहरी कार्यालय बिर्ताको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले गोरखापत्रलाई बताउनुभयो । उहाँका अनुसार विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले त्रिजुद्ध मावि परीक्षा केन्द्रका प्रमुख स्वर्णकारसँग उत्तरपुस्तिका साट्दै गरेको अवस्थामा यादवलाई पक्राउ गरिएको थियो । 

यादवले जेठो छोरा अरविन्दकुमार यादवकी श्रीमती भीमाकुमारी यादवको परीक्षामा लेखेको उत्तरपुस्तिकाको सट्टा बाहिरबाट लेखाएर ल्याइएको उत्तरपुस्तिका साटफेर गरेका प्रनाउ गिरीले बताउनुभयो । ठाकुरराम क्याम्पसमा लामो समय परीक्षा शाखा प्रमुखका रूपमा कार्यरत यादव एक महिनाअघि सेवानिवृत्त भई अहिले वीरगन्जकै हरिखेतान बहुमुखी क्याम्पसको परीक्षा शाखा प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।

परीक्षा केन्द्रबाट बुधबार पक्राउ परेका दुवै जनालाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । दुवै जनाउपर शिक्षा ऐन–२०२८ को दफा १७ अनुसार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रनाउ गिरीले बताउनुभयो । प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा वा अरूको परीक्षा दिएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा त्यसमा संलग्नलाई कसुरको मात्रा हेरेर एक लाख रुपियाँ जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुनसक्ने प्रावधान त्यस दफामा उल्लेख छ ।

यो घटना उजागर भएसँगै क्याम्पसमा कार्यरत परीक्षा शाखाका बहालवाला कर्मचारी, पूर्वकर्मचारी, प्राध्यापक र केही विद्यार्थी सङ्गठनका नेताको मिलेमतोमा विद्यार्थीसँग रकम लेनदेन गरी परीक्षामा उत्तरपुस्तिका नै साटेर उत्तीर्ण गराउने धन्दा वर्षौंदेखि चल्दै आएको आशङ्का गरिएको छ । एउटा विषयको परीक्षामा उत्तीर्ण गराउन विद्यार्थीसँग ३० देखि ३५ हजार रुपियाँ असुली गरिने, परीक्षामा वास्तविक परीक्षार्थीको सट्टा नक्कली परीक्षार्थीलाई लेख्न लगाइने र त्यो पनि नभए कापी साट्ने जस्ता कार्य हुने गरेको आशङ्का व्याप्त थियो ।