• ९ पुस २०८१, मङ्गलबार

कृषकबाट घुस मागेको आरोप लागेका अधिकृतले दिए राजीनामा

blog

भवानी ऐर

गोदावरी (कैलाली), साउन ३१ गते । कैलालीको गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिनुभएको छ । सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिनुभएको हो । 

नगरपालिकाको कृषि शाखाका अधिकृत भट्टले सेवाग्राही कृषक समूहहरूसँग अनुदान वितरण गर्दा रकमको बिस प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरणको जवाफ दिनुको साटो उहाँले राजीनामा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्रीले जानकारी दिनुभयो ।

अनुदान वितरणमा कमिसन माग गरेको आरोप लागेको थाहा भएकै दिन ३ दिने स्पष्टीकरण सोधिए पनि जवाफ प्राप्त नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताउनुभयो । उहाँले जवाफ पेस गर्नुपर्ने दिन कटेपछि भट्टको राजीनामा पत्र आएको जानकारी दिनुभयो । नगरपालिकाले यही साउन २१ गतेसम्मका लागि भनेर भट्टलाई स्पष्टीकरण सोधेको थियो । तर भट्टले स्पष्टीकरण नदिएर साउन २२ गते नगरपालिकामा राजीनामा पत्र बुझाएका थियो । 

भट्टले आफूले अध्ययन गर्नुपर्ने लगायतका घरायसी समस्या देखाएर राजीनामा बुझाएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले गतवर्ष गोदावरी कृषक समूह, हरियाली कृषक समूह, युनिक कृषक समूह, सेतीनाला कृषक समूह र सुदूरपश्चिम कृषक समूह गरी पाँच समूहलाई १५ लाख रुपियाँ अनुदान दिइएको थियो । 

भट्टलाई नगरपालिकाकै वडा नं. ४ मा रहेको एउटा कृषक समूहले कमिसन मागेको आरोप लगाएको हो । नगरपालिकाले दिएको अनुदानबाट २० प्रतिशतका दरले भट्टले पैसा मागेको फोन रेकर्ड बाहिरिएको थियो । उक्त फोन रेकर्डमा केही रकम माथि पनि दिनुपर्ने भट्टले भनेको आधारमा स्पष्टीकरण माग गरेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले गत वर्ष भट्टलाई करारमा नियुक्त गरेको थियो । राजीनामा दिनुभएका भट्टले पनि पैसा मागेको अडियो आफ्नै भएको स्विकार्नु भएको छ । तर, पैसा भने नमागेको दाबी गर्नुभएको छ ।