• १३ मंसिर २०८१, बिहिबार

पाँच गर्भवतीको हवाईमार्गबाट उद्धार

blog

गर्भवती महिलालाई नेपाली सेनाको हेलिकप्टरबाट जिल्लाभन्दा बाहिर उपचारका लागी लगिँदै। तस्बिर : हरि कृष्ण ऐडी

हरि कृष्ण ऐडी 

मुगु, साउन ३१ गते । जिल्ला प्रशासन कार्यालय मुगुको पहलमा आर्थिक वर्ष ०७९/०८० मा  जिल्लाका पाँच जना गर्भवती महिलालाई हवाई मार्गबाट उपचारका लागि जिल्ला बाहिर  पठाइएको छ । कार्यालयले विभिन्न समयमा जटिल समस्या देखिएका गर्भवती महिलालाई हवाई मार्गबाट उद्धार गरेर उपचारका लागि जिल्ला बाहिर पठाएको हो ।

जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ९ की राजकौंडा ऐडी, छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ की मनमाया वि.क, त्यसैगरी  छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० की धनदेवी सेजुवाल र अमृता बुढाको जिल्ला भन्दा बाहिर गर्भवती महिलाको उपचारका लागि हवाई मार्गबाट उद्धार गरी उपचारका लागि बाहिर पठाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले गर्भवती महिलाको उपचारका  लागि जिल्ला भन्दा बाहिर हवाई उद्धारको पहलका लागी छ वटा निकायसँग समन्वय गरी पत्राचार गर्नुपर्ने हुन्छ ।  जिल्ला स्वास्थ्य कार्यालयको रिफर पत्र , जिल्ला प्रशासन कार्यालयले महिला तथा बालबालिकाको कार्यालयलाई पत्र, महिला तथा बालबालिकाको कार्यालयले रक्षा मन्त्रालयलाई, रक्षा मन्त्रालयले नेपाली सेनाको केन्द्रीय कार्यालयलाई, नेपाली सेनाको केन्द्रीय कार्यालयले कर्णाली प्रदेश सुर्खेतको नेपाली सेनालाई पत्राचार गरेमा गर्भवती महिलाको उद्धार हुनेगरेको उहाँले बताउनुभयो ।

गएको महिनामा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ कि राजु नेपालीको व्यथा लाग्दा लाग्दै ज्यान गयो । रक्तचापका कारणले जिल्ला स्वास्थ्य कार्यालय बाट जिल्ला भन्दा बाहिर रिफर गरेको भएपनि समयमै  हवाई वाट उद्धार नहुँदा नेपालीले ज्यान गुमाएको स्थानीय रामचन्द्र रोकायाले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयको गर्भवती महिलाको रिफर कागजातका आधारमा समयमै उपचारका लागि हवाई बाट उद्धार गर्नका  लागि धेरै निकाय सँग पहल नगरी  जिल्ला प्रशासन कार्यालयको  पहलमा कर्णाली प्रदेशको सुर्खेतमा रहेको नेपाली सेनाको कार्यालय  सँगको सहकार्यमा गर्भवती महिलाको उद्धारका लागि  समयमै उपचार हुने उहाँको सुझाव रहेको छ।

यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर कमल ढुङ्गानाकाले गर्भवती महिलालाई  समयमै जिल्ला अस्पताल नल्याई बेथा लागेपछि अन्तिम  अवस्थामा अस्पतालमा ल्याउँदा जटिलता बढेको बताउनुभयो । त्यस्ता गर्भवती लाई जिल्ला भन्दा बाहिर रिफर गर्ने गरिएको छ। गर्भवती महिलाको जिल्ला भन्दा बाहिर  उपचार गराउनका लागि  आफन्तको दबाबले पनि रिफर गराउनु परेको उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालमा प्रसूति सेवाको शाखामा नौ तहको महिला डाक्टरको दरबन्दी रहेको छ तर उक्त दरबन्दीका डाक्टर नहुँदा गर्भवती महिलाको उपचारका लागि सुत्केरी  तीन महिने तालीम प्राप्त डाक्टर नहकुल शाहीले गर्भवती महिलाको उपचार गराउँदै आउनुभएको कार्यालय प्रमुख ढुङ्गानाले भन्नुभयो। 

जिल्ला अस्पताल मुगुको आर्थिक वर्ष ०७९/०८० को तथ्यांकअनुसार जिल्लाका विभिन्न स्वास्थ्य कार्यालय  बाट  एक हजार १३२ जना गर्भवती महिलाले सुत्केरी गराएका छन् । जिल्ला अस्पताल मुगुमा तीन सय १५ जना बाँकी जिल्लाका खत्याड गाउँपालिका, छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र मुगमकार्मारोङ गाउँ पालिकाका स्वास्थ्य कार्यालयमा ८१७ जना गर्भवती महिला सुत्केरी गराएका हुन् ।