• १४ मंसिर २०८१, शुक्रबार

गण्डकी प्रदेश सभा बैठक बस्दै

blog

गण्डकी, साउन ३०  गते ।  गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो ।  आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ । 

सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताउनुभयो । यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईबस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईवटा प्रस्ताव पनि प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ । 

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद्’ मानिने विषयगत समिति अझै गठन हुनसकेको छैन । प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेश सभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहनेछन् ।  रासस