नवीनराज कुइँकेल
लमजुङ, असार १८ गते । निरन्तर वर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको छ ।
यहाँ सञ्चालित मर्स्याङ्दी, दोर्दी, ङादी, मिदिम, खुदी, छ्याङ्दी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन थालेपछि पूर्ण क्षमता विद्युत् उत्पादन भैरहको आयोजनाहरुले जनाएका छन् । नदी तथा खोला घटेपछि गत मङ्सिरदेखि विद्युत् उत्पादन घटेको थियो ।
लमजुङमा रहेको सबैभन्दा ठूलो ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरेको छ । यस आयोजनाबाट मङ्सिरयता २४ मेगावाट मात्र विद्युत् उत्पादन हुँदै आएको थियो । यतिबेला भने मर्स्याङ्दी नदीमा पर्याप्त पानी भएकाले ७० मेगावाट नै बिजुली उत्पादन भइरहेको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले बताउनुभयो ।
मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको हिउँदमा २५ मेगावाट मात्र उत्पादन भएकामा अहिले पूर्ण क्षमतामा उत्पादन भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो । त्यसैगरी, दोर्दी कोरिडोरमा रहेको पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरेको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन बढेको छ । हिउँमा बिजुली उत्पादन घटेर १३÷१४ मेगावाट मात्र बिजुली उत्पादन भएकामा हाल पूर्ण रूपमा बिजुली उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।
त्यसैगरी, ३० मेगावाटको ङादी जलविद्युत् आयोजना, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, लिबर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ ।
ठूला आयोजनाजस्तै साना आयोजनामा पनि विद्युत् उत्पादन बढ्न थालेको छ । पाँच मेगावाटको सिउरी जलविद्युत् आयोजना, चार दशमलव चार मेगावाटको राँधी जलविद्युत् आयोजना, चार मेगावाटको खुदी जलविद्युत् आयोजना, तीन मेगावाटको मिदिमखोला (करापु) जलविद्युत् आयोजना, दुई मेगावाटको छ्याङ्दीखोला जलविद्युत् आयोजना, एक सय ८३ किलोवाटको स्याँगे लघु जलविद्युत् आयोजनामा पनि विद्युत् उत्पादन बढेको आयोजनाहरुले जानकारी दिएका छन् । जिल्लामा उत्पादित विभिन्न आयोजनाबाट तीनसय मेगावाट बिजुली उत्पादन भएको बताइएको छ ।