• १९ असार २०८२, बिहिबार

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

blog

गण्डकी, असार १८ गते ।  पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै कागुनोखेतीतर्फ आकर्षित बनेका छन् ।

बाँदरले बर्सेनि बालीनाली खाइदिने तथा नष्ट गरिदिने भएपछि २०७५ सालदेखि कागुनोखेती गर्न लागेका यहाँका स्थानीय अहिले भने सामूहिक रुपमा नै यस खेतीतर्फ आकर्षित बनेका हुन् । अन्य खेतीका तुलनामा कागुनोखेती बाँदरले कम खाने भएका कारण आफूहरू यसतर्फ लागेको काफलघारी सामुदायिक विकास संस्था आमा समूहका अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिनुुभयो ।

उहाँका अनुसार पछिल्ला वर्षमा काफलघारी क्षेत्रमा ६० रोपनीभन्दा बढी क्षेत्रफलमा कागुनोखेती हुने गरेको छ । परापूर्वकालदेखि विशेषतः नेपालको पहाडी क्षेत्रमा कागुनोको खेती गरिँदै आइएको छ । सिँचाइको सुविधा नभएको जग्गामा पनि उत्पादन हुने यो खेती कोदोबालीअन्तर्गत पर्दछ । बहुपोषणयुक्त खाद्यान्नका रुपमा रहेको यस अन्नमा प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता तत्व पाइन्छन् ।

ठोस फाइबर हुने भएकाले यसका परिकार खाँदा पाचन क्रिया सहज हुन्छ । मधुमेहका रोगीहरूका लागि यो बढी स्वस्थकर मानिन्छ । सिँचाइ बिना पनि राम्रो उत्पादन हुने र बाँदरले कम खाने भएकाले पहाडी भूभागमा यसको खेतीको धेरै सम्भावना रहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो ।

कागुनोखेतीतर्फ कृषकहरूको आकर्षणलाई दृष्टिगत गर्दै महानगरपालिकाले यसको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु. १२० निर्धारण गरिएको उहाँले बताउनुुभयो । रासस