यस वर्ष तराईमा खडेरी परेको छ। मनसुन सुरु भएसँगै पहाडी जिल्लाहरूमा बाढी र पहिरोले विनाशलीला मच्चाउँदा तराईका खेतहरूमा धाँजा परिरहेका छन्। मनसुन सकिन केही दिन मात्र बाँकी रहेको बताइरहँदा तराईका अधिकांश भागमा रोपाइँ हुन सकेको छैन। अन्न भण्डारका रूपमा रहेको तराईको यो अवस्थाले अर्काे वर्ष नेपालमा खाद्य सुरक्षाको चुनौती थपिएको छ।
रोपाइँ हुन नसक्नु मात्र होइन, मनसुनमा डुबान र बाढीको समस्याले पिरोल्ने तराईमा खानेपानीको हाहाकार मच्चिएको छ। यसको प्रमुख कारण जलवायु परिवर्तन हो। प्रकृतिको सन्तुलन नै खलबलिने गरी भइरहेको कार्बनडाइअक्साइड ग्यास विसर्जनका कारण पृथ्वीको जलवायुमा ठुलो परिवर्तन आइरहेको छ। यसको प्रत्यक्ष प्रभाव नेपालमा विगत केही वर्षयताबाटै देखा पर्न थालिसकेकोमा यस वर्ष तराई र पहाडी क्षेत्रमा दुई भिन्न अवस्था सिर्जना भयो।
जलवायु परिवर्तनमा प्रकृतिको कुनै भूमिका छैन । प्रकृतिले अनायासै आफैँ तापक्रम बढाउने वा घटाउने काम गर्दैन, प्रकृतिको आफ्नै चक्र छ । यसका लागि मानवीय काम–कारबाही नै सर्वाधिक महत्वपूर्ण हुन्छन् । मानवीय गतिविधिका कारण उत्पन्न भएको कार्बनडाइअक्साइड ग्यासको उत्सर्जन नै पृथ्वीको तापक्रम वृद्धिको सबैभन्दा ठुलो कारण हो । यसले वायुमण्डललाई पातलो पार्दै लगेको छ । ऋतु चक्रलाई पनि प्रभावित पारेको छ र पृथ्वीको जैविक विविधता तथा जीवन प्रणालीलाई ध्वस्त पार्दै लगेको छ । पृथ्वीको तापक्रम बढ्दै छ।
पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमाल तथा उत्तरी ध्रुवमा रहेका हिमसागरका हिउँ पग्लने, समुद्रको सतह बढ्ने तथा जमिनको उर्वराशक्ति घट्ने र खाद्यन्न उत्पादनमा अकल्पनीय कमी आई भोकमरी बढ्ने एवं खानेपानीको समेत प्रचुर अभाव हुने अनेक विवरण दशकअघि नै सार्वजनिक भएका थिए। अहिलेकै अनुपातमा तापक्रम वृद्धि हुने हो भने सन् २१०० सम्म समुद्रको जलसतह २८ देखि ४३ सेन्टिमिटरसम्म बढ्ने छ । केही वर्षअघि अस्ट्रेलियाका शोधकर्ताहरूले पत्ता लगाएको तथ्य अनुसार सन् १८७० यता समुद्री जलसतह १९.५ सेन्टिमिटरले वृद्धि भएको छ । जलवायु परिवर्तनसम्बन्धी अर्को एक प्रतिवेदनले १९९० देखि २१०० सम्म समुद्रको जलस्तर नौदेखि ८८ सेन्टिमिटरसम्म बढ्न सक्ने उल्लेख गरेको छ ।
पृथ्वीको बढ्दो तातोपनका लागि वैज्ञानिकहरू पनि तातो बहसमा उत्रिइरहेका छन् । उनीहरूको यो बहसले अहिलेसम्म कुन निष्कर्ष सही हो र कुन गलत भन्ने छुट्याउन मुस्किल छ । अहिले मानव समाजले भोगिरहेको पानीदेखि खाद्यान्नसम्मको अभावलाई तापक्रममा देखिएको बढोत्तरी र पृथ्वीको तातो वा चिसोपनको घटबढसँग मात्र जोडेर हेर्न मिल्दैन । जलवायु परिवर्तनले मौसम हुँदै प्राकृतिक सन्तुलनमै पारिरहेको प्रभावहरूको पनि मूल्याङ्कन गर्नु पर्दछ। पृथ्वीको जीवनचक्रमै गडबडी उत्पन्न भएको छ । हिमालका हिउँहरू पग्लिरहेका छन् । मौसम अनुसार हुनुपर्ने वर्षात् भएको छैन ।
भौगोलिक बनावट अनुसार हुनुपर्ने खेतीपाती हुन छाडेको छ । नेपालका पहाडी जिल्लाहरूमा पुस–माघमा काफल पाक्न थालेका छन्। चैत नलाग्दै गुराँस फुलेर झरिसकेका छन्। हिमाली क्षेत्रमा लामखुट्टेको सङ्ख्या बढेको छ। यी सबै परिवर्तनको एउटै मात्र कारण मानवीय नै हो भन्ने तथ्यमा कुनै द्विविधा छैन । मानवले मानवकै विनाशका लागि भूमिका निर्वाह गरिरहेको छ। यो पुस्ता जेनतेन सुविधाभोगी बन्ला तर भावी पुस्ताले अक्सिजनको पनि ट्याब्लेट बोकेर हिँड्नुपर्ने दिन नआउला भन्न सकिन्न। कतिपय देशको अस्तित्व पनि आगामी केही दशकमा लोप हुने भविष्यवाणीसमेत भइसकेको छ।
पृथ्वीमा तापक्रम बढ्दा हिमालको मात्र होइन, उत्तर र दक्षिण ध्रुवको हिउँसमेत पग्लिने देखिन्छ। यसले समुद्रको जलसतह बढ्ने हुँदा समुद्र किनारका देशहरूले बारम्बार बाढी र डुबानको समस्यासँग सामना गर्नुपर्ने छ भने कतिपय टापु मुलुकहरूको त अस्तित्व नै समाप्त हुने कुरा वैज्ञानिकहरूले अनुमान गर्न थालेका छन् । यति बेला समुद्रको सतह १.४४ मिलिमिटर प्रतिवर्षका दरले बढिरहेको छ । यसको एउटै कारण भनेको हिउँ पग्लनु हो । २० औँ शताब्दीमा जलस्तरमा १.७ मिलिमिटर प्रतिवर्ष र १९५० देखि अहिलेसम्म १.७५ मिलिमिटर प्रतिवर्षका दरले समुद्री जलसतह बढिरहेको छ । यी सबै कुरा पृथ्वीको तापक्रममा भइरहेको वृद्धिकै परिणाम हो ।
जलवायु परिवर्तन कुनै एक मुलुकको मात्र समस्या होइन । यो पृथ्वीको साझा समस्या हो । यो समस्या मानव जातिको मात्र पनि होइन । पृथ्वीमा अस्तित्वमा रहेका सम्पूर्ण प्राणधारी जीवको हो । उनीहरूको अस्तित्वसँगै मानव अस्तित्व गाँसिएको हुँदा हामीले सिङ्गो पृथ्वी संरक्षणको अभियान चलाउनु पर्दछ । यो बेला देखिएका अनगिन्ती समस्या पृथ्वीको जीवनचक्र प्रणालीमा गडबडी उत्पन्न हुनु पनि एक प्रमुख कारण हो । प्राकृतिक पारिस्थितिकीय प्रणाली ठिक ढङ्गमा बस्न नसक्दा कतिपय जीव तथा वनस्पति लोप भइसकेका छन् भने कति सङ्कटापूर्ण अवस्थामा रहेका छन्। यिनीहरूको अस्तित्वसँग मानवको अस्तित्व पनि गाँसिएको छ। जलचरदेखि स्थलचरसम्मको जीवन रक्षाका लागि पृथ्वीमा भइरहेको गडबडीलाई कम गर्नु पर्दछ । पृथ्वीको तापक्रम वृद्धि किन भइरहेको छ भन्ने मुख्य विषयवस्तुतिर सबैको ध्यान केन्द्रित हुनु पर्छ ।
पृथ्वीको सिङ्गो संरचनालाई सन्तुलित राख्न र यसमा सन्तुलन कायम ल्याउन मानवीय गतिविधिमा सुधार ल्याउनु पर्छ । जलवायु परिवर्तनका विषयलाई हल्का ढङ्गले लिने र सोही अनुसार कसैको स्वार्थपूर्तिका लागि प्रतिवेदनहरू तयार गर्ने काम पनि रोक्नु पर्छ । हरेक मुलुकले आफ्नो देशमा परेको प्रभावको न्यूनीकरण तथा खाद्यान्न र जल सुरक्षाका लागि विशेष कदम चाल्नु पर्दछ । नेपाल जस्ता जलस्रोतमा धनी मुलुकहरूका लागि यो अति आवश्यक छ । हामी विदेशबाट किनेर खाद्यान्न पूर्ति गर्न सक्ने अवस्थामा पनि छैनौँ र आफ्नो उत्पादन बढाउने उपायतिर पनि लागिरहेका छैनौँ । यस्तो अवस्थामा नेपालको चासो र चिन्ता भनेको हाम्रो पानी र खाद्यन्नमाथिको अधिकार तथा हामीसँग रहेका स्रोतको कसरी संरक्षण गर्ने भन्ने हो ।
प्राकृतिक स्रोतको अपार भण्डार रहेको नेपालमा मनसुनी वर्षाकै भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहँदा यस वर्ष अन्नको भण्डार मानिने तराई क्षेत्रमा साउनको अन्तिमसम्म पनि ६० प्रतिशत मात्र रोपाइँ हुनु र ४० प्रतिशत खेत बाँझै हुनु गम्भीर समस्या हो। आकासे पानीको भरमा चल्दै आएको कृषि प्रणालीलाई व्यवस्थित गरी उत्पादन बढाउने उद्देश्यका साथ सिँचाइ सुविधाको पर्याप्त बन्दोबस्त नहुँदा यस वर्ष धान उत्पादनमाा निकै ह्रास आउने सम्भावना नकार्न सकिन्न। यसलाई तत्काल रोक्न पनि सकिने अवस्था छैन तर आगामी वर्षहरूमा पनि यस्तै समस्या वा यसविपरीतको अवस्था आउने निश्चित नै छ। अहिले खडेरी पर्दा आगामी वर्ष अतिवृष्टिका कारण डुबानमा पर्ने सम्भावनालाई नकार्न सकिँदैन।
यसर्थ दुवै अवस्थाबाट हुने जनधनको क्षतिका लागि अहिलेदेखि नै प्रभावकारी योजना बनाउनु पर्दछ। जलवायु परिवर्तनको प्रभावबाट लड्ने भनेकै यही हो। अहिले तराई, पहाड र हिमालमा जे जस्ता वातावरणीय समस्या देखा परिरहेका छन्, यसको एउटै कारण जलवायु परिवर्तन हो र यसको नकारात्मक प्रभाव न्यूनीकरणका लागि हामीले विश्व मञ्चहरूमा प्रभावकारी आवाज उठाउनै पर्छ। नेपाल जस्तै अति प्रभावित मुलुकहरूले साझा एजेन्डा तय गरी एकसाथ अभियान छेड्नु पर्दछ।
नेपालको भौगोलिक विविधता, वातावरणीय विविधता र जैविक विविधता यहाँको सम्पत्ति र सम्पदा हो तर जलवायु परिवर्तनका कारण नेपालका प्राकृतिक सम्पदाहरू नष्ट हुँदै छन्। अहिलेको अवस्थामा सुधार ल्याउन प्रभावकारी कदम, नीति, योजना र कार्यक्रम तत्काल ल्याउनु जरुरी छ। नेपालमा जलवायु परिवर्तनको असर यसरी बढ्दै गएको छ कि ग्रामीण क्षेत्रहरूमा यसअघि कहिल्यै नदेखिएको झार–बुट्यान देखिन थालेका छन् । फलफूल तथा अन्नबालीहरू पनि बेसमयमै पाक्ने, सुक्ने र डढ्ने गर्न थालेका छन् । बारीमा साग–सब्जीदेखि जङ्गलमा पाइने फलफूल तथा चराचुरुङ्गी र जडीबुटीसमेत घट्दै गएका छन् । प्राकृतिक रूपमा छाडिएका वन जङ्गलको मात्र के कुरा आरक्ष घोषित गरिएका स्थानमा समेत चरा लोप हुन लागेको समाचार विवरण प्रकाशित भएका छन् ।
माटोको उर्वराशक्ति घट्दै छ । प्राङ्गारिक खेती गर्नुपर्ने ठाउँमा अनेक किसिमका रासायनिक पदार्थको प्रयोग गरेर खाद्यान्न नै विषाक्त हुँदै गएको छ । धनी मुलुकहरू जैविक खेतीतिर आकर्षित भइरहे पनि गरिब र विकासोन्मुख मुलुकहरूमा रासायनिक मल अनुदानमा उपलब्ध गराएर उनीहरूको बाँच्ने आधार नै समाप्त पार्दै छन् । नेपाल जस्ता परम्परागत कृषि प्रणालीमा धानिएको मुलुकको कृषि उत्पादन हरेक वर्ष घट्दै जानुको मूल कारणमध्ये यो पनि एउटा प्रमुख पक्ष हो ।
नेपाल जस्तो प्राकृतिक स्रोतसाधनले भरिपूर्ण तर गरिब र कमजोर अर्थतन्त्र भएको मुलुकमा जलवायु परिवर्तनले कुनै एक क्षेत्रलाई मात्र होइन, अनेक पक्षलाई प्रभाव पारिरहेको छ । यसका अतिरिक्त हाम्रो आफ्नै कारणले पनि नेपालमा वातावरणीय प्रदूषण बढिरहेको छ । फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्नु, वनजङ्गल विनाश हुनु, विकासका नाममा वातावरणीय प्रभावको मूल्याङ्कन नगरिनु, नदी तथा पानीका स्रोतहरू दूषित हुनु जस्ता अनेक विकृतिहरू रहेका छन् । जलवायु परिवर्तनसँगै सरकारी निकायको जवाफदेहिताविहीनको मार नेपाली समाजले भोगिरहेको छ । सङ्कट पर्नै नपर्ने समयमा खाद्यान्नको चर्को सङ्कट हुन थालेको छ ।
मनसुनमा धान रोपाइँ गर्ने किसिमको वर्षा नभएर पानीको घ्याम्पो फुटाए जस्तो वर्षा हुँदा खेतबारी सिञ्चित हुनुको साटो बाढी, पहिरो र डुबान मात्र बढाइरहेको छ। यो समस्या विगतदेखि नै उत्पन्न भइरहेको हो र यस वर्ष तराईको अवस्थाले अरू छर्लङ्ग बनाएको छ। अब नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न हुने समस्याको कसरी सामना गर्ने भन्ने विषयमा स्पष्ट नीति बनाउनै पर्दछ। यसका अतिरिक्त वातावरण शुद्धता कुनै राजनीतिक एजेन्डा नबनाएर यस विषयमा पूर्वीय शिक्षा पद्धति र अभ्यासले सिकाएको विधिलाई पुनस्र्थापित पनि गर्नु पर्दछ। वातावरण कुनै एक धर्मको विषय होइन। यो व्यक्तिगत स्वार्थको मुद्दा पनि हैन। यो त अन्तर्राष्ट्रिय मुद्दा हो र यसबाट अत्यधिक प्रभावितमध्ये नेपालले अझै पनि आफूलाई दह्रो रूपमा राष्ट्रिय एजेन्डासहित अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत हुन सकेन भने दुर्भाग्यका कारण हामी आफैँ हुने छौँ।