सन्त तुलसी दासको देहावसान भएको चार सय वर्ष पूरा भयो । सन्तको मृत्यु संवत् १६८० साउन कृष्ण तृतीया शनिबार काशीको असिघाटमा भएको मानिन्छ । कसैले श्रावण शुक्ल सप्तमीलाई पनि मानेका छन् । उनको जन्म संवत् १५५४ श्रावण शुक्ल सप्तमीको दिन भएको मानिन्छ । अतः सन्तले १२६ वर्षको लामो जीवनयापन गरेको देखिन्छ । सायद भगवान् राममा रहेको उनको भक्तिले उनलाई यति लामो जीवन प्रदान गरेको हुनु पर्छ ।
सन्त तुलसीको जन्म भारतको उत्तरप्रदेश राज्यको बाँदा जिल्लाको राजापुर गाउँमा भएको थियो । पिता आत्माराम दुवे र माता हुलसीको कोखबाट जन्मेको यस बालकको बाल्यकाल अत्यन्तै दुःखद थियो । अभुक्तमूल नक्षत्रमा बाह्र महिनासम्म गर्भमा बसेपछि जन्मेको समयमा नरोई ‘राम’ शब्द उनले उच्चारण गरेको मानिन्छ । उनको मुखमा बत्तीस वटा दाँत थिए । बालकको अस्वाभाविक शारीरिक विकास देखेर परिवारमा अमङ्गल हुन सक्ने शङ्काले पिताले उनलाई आफ्नो दासीबाट दशमीको रातमा आफ्नो ससुराली पठाउनुभयो । त्यसको भोलिपल्टै आमाको मृत्यु भयो । दासी चुनियाँले बालकको राम्रो हेरचाह गरिन् तर पाँच वर्षपछि उनी पनि मरिन् । तत्पश्चात् बालक अनाथ बन्न पुगे र घर–घर गएर भिख मागी आफ्नो जीवनयापन गर्न थाले ।
भनिन्छ, भगवान्को कृपाले नरहर्यानन्दले त्यो बालकलाई ‘राम बोला’ नाम राखी अयोध्या ल्याए । संवत् १५६२ माघ शुक्ल पञ्चमी शुक्रबारको दिन निजको व्रतबन्ध गरिदिए । नसिकाए पनि बालकले गायत्री मन्त्रको उच्चारण गरे । नरहरिस्वामीले उनलाई वैष्णव पाँच–संस्कार गरी राममन्त्रको दीक्षा दिए र उनलाई अध्ययनमा लगाए ।
केही समयपछि उनी र गुरु सुकर क्षेत्र पुगे; जहाँ गुरुले उनलाई रामकथा सुनाए । पछि काशी पुगी तुलसीले शेषसनातनसित पन्ध्र वर्षसम्म वेद–वेदाङ्गको अध्ययन गरे । गुरुको स्वीकृति प्राप्त गरी उनी आफ्नो गाउँ फर्के । गाउँमा उनले आफ्नो परिवारको कसैलाई भेटेनन् । आफ्नो बुवाआमाको श्राद्ध गरी त्यहीँ बसेर रामकथा वाचन गर्न थाले । । संवत् १५८३ शुक्ल १३ को दिन उनको विवाह भारद्वाज गोत्रको कन्यासित भयो । उनी सुखपूर्वक सांसारिक जीवनयापन गर्न लागे ।
सुनिन्छ, एक समय उनकी श्रीमती आफ्नो भाइको साथ आफ्नो माइत गइन् । पछि तुलसी पत्नीबेगर बस्न नसकेर ससुराली पुगे । पतिलाई हेर्दा पत्नीले उनलाई धिक्कारे कि जुन किसिमको उनको प्रेम ममा छ, त्यस्तो प्रेम यदि भगवान्मा भयो भने उनलाई यस भवसागरबाट मुक्ति मिल्ने थियो । यी शब्दले तुलसीको मर्ममा चोट पु-यायो । त्यसै क्षण त्यहाँबाट निस्केर उनी प्रयाग पुगे । त्यहाँ आफ्नो गृहस्थ वस्त्र त्यागी साधु भेष धारणा गरे । प्रयागबाट तुलसी पुनः काशी फर्की रामकथा वाचन गर्न लागे ।
किंवदन्ती छ कि काशीमा तुलसीलाई एउटा प्रेतले हनुमानजीको बस्ने ठाउँ बताए । त्यसपछि तुलसीले हनुमानलाई भगवान् रामको दर्शनका लागि प्रार्थना गरे । हनुमानबाट रामको दर्शन उनलाई चित्रकुटमा हुन्छ भन्ने वचन पाई उनी चित्रकुटतिर लागे । उनले राम र लक्ष्मणको दर्शन पाउन सफल भए । हनुमानको कृपाले सन्त हनुमानको आज्ञा अनुसार अयोध्यातिर लागे । बाटोमा प्रयागमा माघको मेला थियो । उनी त्यहीँ बसे ।
अयोध्या नगई उनी पुनः काशी फर्किए । प्रह्लादघाटमा एउटा ब्राह्मणको घरमा बसे । जहाँ उनमा कवित्वभाव प्रष्फुटन भयो । उनले संस्कृतमा पद्यको रचना गर्न थाले । उनले दिनमा संस्कृतमा रचना गर्थे । रातिमा त्यो मेटिइहाल्थ्यो । केही समय यस्तो भएपछि आठौँ दिन स्वप्नमा भगवान् शङ्करले उनलाई आफ्नो भाषामा काव्य रचना गर भन्ने आदेश दिए । शङ्करको अनुमतिले नै उनी अयोध्या पुगी हिन्दीमा अवधी भाषाका कथा लेख्न थाले ।
रामचरितमानस
सन्तले यस महाकाव्य रचनाको प्रारम्भ संवत् १६३१ चैत्र शुक्ल नवमीको दिन (रामको जन्मदिन) मा गरे । यसमा दुई वर्ष सात महिना र छब्बिस दिन लाग्यो । संवत् १६३२ मार्ग शीर्ष शुक्ल पञ्चमी (राम–सीता विवाह भएको दिन) सातौँ काण्ड पूरा भयो । महाकाव्य थालनीको सम्बन्धमा सन्त रामचरितमानसमा नै लेख्छन् ।
तुलसी रचित रामचरितमानस एउटा यस्तो महाकाव्य हो; जसका विभिन्न पङ्क्ति सामान्य ग्रामीण व्यक्तिले पनि आफ्नो कुराकानीमा सहजै उद्धृत गर्छन् । सायद विहार, उत्तरप्रदेश, मध्यप्रदेश, राजस्थान आदि भारतीय राज्यबाहेक नेपालका दक्षिण भेग मधेशमा पनि उत्तिकै प्रचलित यस ग्रन्थको पाठ हो । विश्वका विभिन्न खण्डमा बस्ने हिन्दुलाई पनि यस ग्रन्थले प्रभावित पारेको बुझिन्छ । अर्को शब्दमा भनौँ, करोडौँ मानिसको जीवनमा यो महाकाव्यको प्रभाव देखिन्छ ।
यस महाकाव्यको मुख्य विषय नै रामकथा हो, जसको आदि स्रोत निश्चय नै वाल्मीकि रामायण हो । सन्तले यस काव्यलाई पूर्ण भक्तिमय बनाउन काव्यको कथालाई केही छोट्याएको देखिन्छ । रामकथाको अन्त्य लङ्का विजयपछि उत्तरकाण्डमा सीता–लक्ष्मणसहितका अयोध्या वापसी र रामको राज्याभिषेकको वर्णन गरी रामराज्यको वर्णन सकेपछि कथालाई विराम दिएका छन् । साथै महाकाव्यमा आफ्नो दर्शन र भक्तिमार्गलाई अन्य संवाद र कथाहरूबाट स्थापित गरेको देखिन्छ ।
वाल्मीकि रामायण र रामचरितमानसका सातौँ काण्डका विषयवस्तुमा केही परिवर्तन पनि गरेका छन् । युद्धकाण्डको नाम लङ्काकाण्ड दिएका छन् । रामचरितमानसको विशेषता के छ भने यसले संशय र संवादलाई कथाको माध्यम बनाएको देखिन्छ । रामको चरित्र वा स्वरूपका बारेमा संशय उब्जाएर त्यसको निदान र व्याख्याबाट कथालाई अगाडि बढाएको पाइन्छ । आफ्नो दर्शनको प्रतिपादन पनि संवादहरूबाट नै सन्तले गरेका छन् । यस महाकाव्यको दुई वटा उद्देश्य देखिन्छ :
प्रथम, प्राचीनकालदेखि नै स्थापित शैव दर्शन र शिवको देवत्वलाई सीमित पारी रामलाई ब्रह्मका रूपमा स्थापित गरी हिन्दुदेव समूहमा उच्चतम स्थान दिन उनले प्रयास गरे । पूर्वस्थापित हिन्दु धर्ममा विष्णुको अवतारका रूपमा प्रतिष्ठित रामलाई विष्णुको अवतार नमानी स्वयम् ब्रह्मका रूपमा
निर्गुण र सगुण रूपमा प्रतिस्थापित गर्ने प्रयास भएको देखिन्छ । उनले सन्त मात्र रामभक्त नभई रामको चरित्रबाट स्थापित ब्रह्मको विचारलाई अन्य वेदान्ती आचार्य शङ्कर, रामानुज जस्तै आफ्नो दर्शनलाई एउटा विशिष्टतासमेत प्रदान गरेका छन् ।
मानस दर्शन
सन्त रामचरितमानसको माध्यमबाट यस निष्कर्षमा पुगेका छन् कि भगवान् जो एक भक्तको आराध्यदेव हुन्छ, त्यसको प्रेम वा भक्ति पाउनका लागि योग, यज्ञ, जप, तप, व्रत पूरै व्यर्थ छन् । रामको स्मरण, गायन, कीर्तन र सन्तहरूको मुखबाट उनका गुणको श्रवण नै एक मात्र साधन हो ।
तुलसीको राम ईश्वर र ब्रह्म दुवै हो । परमतत्वको वस्तुनिष्ठ स्वरूप ब्रह्म हो । आत्मनिष्ठ स्वरूप आत्मा हो । यी दुवै शब्द पर्यायवाची हुन् । उपनिषद्को ब्रह्म एकातिर आत्माका रूपमा सुनिश्चित छ भने अर्कोतिर ब्रह्मका रूपमा असीम छ । आत्मा ब्रह्म हो । यसको स्वरूप ब्रह्म झैँ अनन्त छ । आत्मा ब्रह्मबाट नै आफ्नो सत्ता प्राप्त गर्छ । यदि अहम् ब्रह्म र यदि त्वम् पनि समान रूपमा ब्रह्म छ भने उद्देश्य र विधेय, ज्ञाता र ज्ञेय दुवै ब्रह्म हुन् । अतः प्रकृति, आत्मा र अनात्मा समान रूपमा ब्रह्म हुन् ।
ब्रह्मका दुई रूप छन् । एक विश्वाकार हो, जुन सर्वव्यापी, सर्वसुन्दर गुणसम्पन्न, सप्रपञ्च, सगुण, एवं सविशेष हो र विश्वव्यापी हो । अर्को रूपमा यो अविश्वरूपी हो किनकि यो गुणरहित, अनिर्णित, अनिर्वचनीय हो – निस्प्रपञ्च, निर्गुण, निर्विशेष हो । यी दुवै स्वरूपको आधारमा आचार्य शङ्करले अद्वेत वेदान्तको प्रतिपादन गरे र आचार्य रामानुजले विशिष्टाद्वैतको । शङ्करका अनुसार ब्रह्म ईश्वरको अवैयक्तिक पक्ष हो । जड, आत्मा र ईश्वर ब्रह्मको अभिव्यक्ति मात्र हुन् । रामानुजका अनुसार ब्रह्म वैयक्तिक एवं सर्वव्यापी ईश्वर हो र जड आत्मा त्यसको शरीर ।
गोस्वामीजीले शङ्कर र रामानुजको दर्शनमा समन्वय गर्दै रामलाई निर्गुण ब्रह्मका रूपमा नै स्वीकारेका छन्; जो सच्चिदानन्द हो । सन्तले ब्रह्मको प्रकृतिमा द्वैतलाई स्वीकार गरेका छैनन्, जसरी रामानुजले चेतन र अचेतनलाई ब्रह्मको स्वरूप मानेका छन् । शङ्करलाई अनुसरण गर्दै सन्तले मायालाई ब्रह्मको शक्तिका रूपमा स्वीकारेका छन्, जुन किसिमले एउटा जादुगरले आफ्नो शक्तिबाट भ्रम उत्पन्न गर्छ तर स्वयम् प्रभावित हुँदैन । त्यस्तै सृष्टिको रचनाका शक्तिबाट ब्रह्म प्रभावित हुँदैन । रामानुजको विचारमा मायाबाट निर्गुण ब्रह्म भक्तहरूको हितका लागि सगुण भइदिन्छ ।
सन्तले निर्गुणत्व र सगुणत्वलाई समन्वयका लागि सगुणतालाई ब्रह्मको स्वरूपमा नस्वीकारी सगुणतालाई एउटा प्रक्रिया वा स्वरूप परिवर्तनको व्रिmयाका रूपमा स्वीकार गरेका छन् । जसबाट निर्गुण ब्रह्म आफैँ सगुण बनिदिन्छ । यस विचारलाई ब्रह्मपरिणामवाद भन्न सकिन्छ । सन्त एउटा दार्शनिक मात्र थिएनन् बरु एउटा भक्तका रूपमा ब्रह्मलाई भगवान् मानी निर्गुण ब्रह्मलाई सुगुण बनाउन सफल भएको देखिन्छ । यसैले आजका दिन रामको पूजाआजा आधुनिक समाजमा हुँदै आएको छ ।