• १२ मंसिर २०८१, बुधबार
blog

यो वर्ष सोभियत सङ्घ र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७ औँ वर्ष पुग्यो । राष्ट्रमा यससम्बन्धी कुनै चर्चा सुनिएन; न त गन्यमान्य, परराष्ट्र र दूतावासहरूले व्यक्त गरेका बधाई र शुभकामना पढ्न पाइयो । १९५७ जुलाई २० को दौत्य सम्बन्ध स्थापनाको दिन त्यो समय थियो; जुन बेला अक्टोबर क्रान्ति, त्यसपछिका गृह र विश्वयुद्ध झेल्दै समाजवादी निर्माणको चार दशकपछि सोभियत सङ्घ विकासको शिखरमा पुगेको थियो र अन्तरिक्षमा उड्न तयार थियो । यो दौत्य सम्बन्धले शिक्षा, उद्योग र पूर्वाधार विकासमा आपसी सहयोगको ढोका खोल्यो र नेपाल–सोभियत सङ्घको सहयोगको युग सुरु भयो, जसलाई लिपिबद्ध गर्न थुप्रै द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भए । 

नेपाल–रुस सम्बन्धको इतिहास खोतल्दा नेपाल भ्रमण गर्ने पहिलो रुसी नागरिक पूर्वीय दर्शन र बुद्ध धर्मका ज्ञाता प्रा. ईभान पाभ्लोभिच मिनाएभ थिए । उनी सन् १८७५ मा तिब्बतको बाटो नेपाल पसेका थिए र स्वदेश फर्केपछि रुसी भाषामा नेपालसम्बन्धी पहिलो पुस्तक लेखेका थिए । साठीको दशकदेखि ‘सोभियत भूमि’ पत्रिका नेपालीमा प्रकाशित हुन्थ्यो र यो दुरदराजसम्म पुग्थ्यो । २१ अक्टोबर, १९६३ मा रेडियो मस्कोबाट नेपालीमा कार्यक्रम प्रसारण सुरु भयो । सन् १९७९ मा काठमाडौँमा रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र खुलेपछि दुई देशबिचको आपसी सम्बन्ध जनस्तरमा समेत घनीभूत भयो । रुसी महासङ्घका प्रख्यात दागेस्तानी कवि रासुल गाम्जातोभ तीन पटक नेपालमा आएका थिए र नेपालको रहस्यमय सौन्दर्यबाट मुग्ध भएर ‘जीवन चक्र’ र ‘जीवित देवी कुमारी’ कविता रचे ।

सन् १९५७ देखि सोभियत सरकारले सोभियत सङ्घमा उच्च शिक्षाका लागि नेपालीलाई छात्रवृत्ति दिन सुरु ग¥यो । त्यस यता हजारौँ वैज्ञानिक, इन्जिनियर, डाक्टर, कृषिविद् आदिले विज्ञता हासिल गरी मुलुकको विकास निर्माण, स्वास्थ्य र प्रशासनिक जिम्मेवार पद सम्हाल्दै आएका छन् । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धेरै विज्ञको नाम यो छोटो लेखमा उल्लेख गर्न सम्भव छैन । तथापि तीमध्ये नेपालमा ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता रहेको तथ्य उजागर गर्ने पहिलो विज्ञ मस्को इलेक्ट्रिकल इन्स्टिच्युटबाट विद्यावारिधि गर्ने ई. डा. हरिमान श्रेष्ठ थिए । उनले ‘जलविद्युत्को सम्भावनामा नेपाल अपार धनी’ भनी देशलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाए ।

नेपालमा डाक्टरको सङ्ख्या नगन्य भएको बेला सोभियत विश्वविद्यालयबाट स्नातक गरेका नेपाली डाक्टरहरूले दुर्गम क्षेत्रमा सेवा गरेका थिए । अरू केहीले अस्पताल, इन्जिनियरिङ इन्स्टिच्युट र परामर्श कम्पनी स्थापना गरे र प्रविधि हस्तान्तरणलगायत विकास परियोजनाको नेतृत्वमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । मुलुकका लागि अत्यावश्यक उच्च जनशक्ति उत्पादनबाहेक सोभियत सङ्घले नेपाललाई कृषि, उद्योग, यातायात क्षेत्रका आधारभूत पूर्वाधार निर्माणमा महत्वपूर्ण विकास सहायता प्रदान गरेको थियो । 

पनौती जलविद्युत् सोभियत सङ्घको सहयोगमा निर्माण भएको पहिलो ‘मेगावाट क्षमता’ को विद्युत् केन्द्र हो । सन् १९६५ मा निर्मित यसको चार किलोमिटर हेडरेस नहरले हजारौँ हेक्टर जमिनलाई सुनमा परिणत गरेको छ । त्यसैले पनौती आलुका लागि लोकप्रिय छ । यसबाहेक आयोजनाको आवासका लागि त्यति बेला निर्माण गरिएको परिसर अद्यापि खोपासी अस्पतालको आवासका रूपमा प्रयोगमा छ ।

सोभियत रुसले स्थापना गरेको जनकपुर चुरोट कारखाना नेपालको लोकप्रिय उद्योग थियो । तत्कालीन सोभियत सङ्घको उपहारका रूपमा जनवरी १९६५ मा राजा महेन्द्रद्वारा उद्घाटित यो कारखाना त्यो समय बजारमा हिरो थियो । यसले लालीगुराँस, याक, देउराली, आशा, गैँडालगायत धेरै ब्रान्डहरू उत्पादन ग¥यो, ती प्रत्येकको छुट्टाछुट्टै प्रशंसक थिए । वार्षिक दुई अर्ब चुरोट उत्पादन गर्ने यो कारखानाभन्दा अघि मुलुकले चुरोटका अम्मलीहरूको माग पूरा गर्न पूर्ण रूपमा आयातमा भर पर्नु पथ्र्यो । यो परियोजनाबाट पूर्वी तराई क्षेत्रका किसान अत्यधिक लाभान्वित भए । त्यतिखेरको उच्चस्तरको भर्जिनिया सुर्तीको सुगन्ध र गुणस्तर अझै पनि मानिसलाई सम्झना छ । राष्ट्रको राजस्वमा महत्वपूर्ण योगदान दिने यो उद्योग सन् २०१० मा निजीकरणको क्रममा बन्द हुनु निकै पीडादायी कुरा हो ।

सङ्घकै सहयोगमा स्थापित वीरगन्ज चिनी कारखाना देशको औद्योगीकरणको दिशामा अर्को कोसेढुङ्गा थियो । सन् १९६४ मा स्थापित यस उद्योगले दैनिक उपभोग्य चिनी उत्पादनका साथै किसानको उखुलाई नगदेबालीमा परिणत ग-यो । कारखानाले दैनिक १५ सय मेट्रिक टन उखु क्रसिङ गर्ने र दस मेट्रिक टन क्रिस्टल चिनी उत्पादन गर्ने क्षमता राख्दथ्यो । यसको अलावा प्रतिदिन चार हजार ५०० मेट खुदो र लोकप्रिय ‘उर्वशी रेड लेबल’ जस्ता मदिरा उत्पादन गथ्र्याे । यसरी फस्टाउँदै आएको सार्वजनिक उद्योग, १६ फेब्रुअरी, २००० मा मन्त्रीपरिषद्को निजीकरण निर्णयले एकाएक धराशायी भयो । 

सन् १९६८ मा स्थापित वीरगन्ज कृषि औजार कारखाना सोभियत सहयोगको अर्काे नौलो परियोजना थियो । यस कारखानाले हलो, टिलर, थ्रेसर, पम्प सेट, कन्टेनर, बिजुली पोललगायत सामग्री उत्पादन गथ्र्र्यो । त्यति बेला वीरगन्जका उत्पादनलाई स्थानीय किसानले मात्र नभई सिमानाका जिल्लामा पनि रुचाउने गरेका थिए र देशले केही कृषि सामग्री भारतमा निर्यात गथ्र्यो । निजी क्षेत्रको प्रवर्धन गर्ने नीति अनुरूप यो उद्योग पनि बन्द हुनबाट अछुतो रहेन ।

सन् १९६० मा राजा महेन्द्रले मुलुकको भाग्यरेखामा गनिने महत्वाकाङ्क्षी पूर्व–पश्चिम राजमार्ग निर्माण सहयोगका लागि विश्व समुदायलाई अपिल गरे । राजा महेन्द्रको होस्टेमा हैँसे गर्ने सोभियत सङ्घ प्रथम राष्ट्र थियो । उसले  महेन्द्र राजमार्गको १०९ किलोमिटर लामो ढल्केबर–पथलैया खण्ड निर्माण ग-यो । सोभियत सङ्घको संलग्नताको लगत्तै भारतलगायत अन्य देश पनि साथ दिन तम्सिए । सोभियतहरूको सहयोग विकास निर्माणमा मात्र सीमित छैन । सन् १९५८ मा उसले कान्ति बाल अस्पताल, जुन मुलुकको पहिलो बाल अस्पताल हो, स्थापनामा हात बढायो । सोभियतकालको उत्तराद्र्धमा रुसले नेपाल रोजिन एन्ड टर्पेन्टाइन लिमिटेड स्थापनाका लागि आर्थिक तथा प्राविधिक सहयोग ग¥यो । सन् १९८७ मा स्थापित यो कारखानाले देशमा प्रचुर मात्रामा पाइने सल्ला वनस्पतिको सदुपयोग भयो र यसबाट सुदूरपश्चिम लाभान्वित भयो ।

रुसले नेपालका लागि गरेका योगदानको विस्तृत विवरण यो छोटो लेखमा सम्भव छैन र त्यसका लागि छुट्टै पुस्तक आवश्यक छ । यति भन्न सकिन्छ कि अन्य प्रायः देशले गर्ने सहयोगको प्राथमितामा ‘औद्योगिक विकास’ विरलै पर्दछ । हाम्रो कृषिप्रधान देशको कृषि क्षेत्रको औद्योगिकीकरणमा निःस्वार्थ सहयोग गर्ने देश सोभियत सङ्घ थियो । सोभियत कूटनीतिले दिन र बाँड्न मात्र जान्यो, लिन जानेन । सायद यो पनि सोभियत सङ्घ विखण्डनको कारकमध्ये एक हुनसक्छ ।

विश्व बजारीकरण र अर्थतन्त्रको उदारीकरणसँगै सोभियत जनताको मायाको प्रतीकका रूपमा स्थापित मुख्य उद्योग बन्द हुनु दुःखद कुरा हो । अब ती इतिहासमा मात्रै रहे । त्यतिखेरको मिडियाले यसलाई रुसको उपहारको अपमान भनी उल्लेख गरेको थियो । सोभियत सङ्घको विघटनपछि क्रेमलिनले नेपाललाई दिने विकास सहायता करिब सुक्दै गयो । यद्यपि अहिले रुसमा बसोबास गर्ने नेपाली उद्यमीहरूले देशको जलविद्युत्, बैङ्क आदिमा लगानीको हात बढाइरहेका छन् ।

पछिल्ला दशकमा रुसी पर्यटकको आगमन दिनप्रतिदिन बढ्दै गएको छ, तथापि कोभिड र युद्धपछि त्यसमा सुस्तता छाएको छ । लुम्बिनी र हिमालय रुसी बौद्ध धर्मावलम्बीहरूको प्रमुख आकर्षणको केन्द्र बनेको छ । रुसको बौद्ध सङ्घ र पब्लिक चेम्बर अफ रिपब्लिक अफ बु-याटियाको पहलमा तथा रुस नेपाल मैत्री तथा सहयोग समाजको समन्वयमा लुम्बिनीमा रुसी बौद्ध मन्दिर निर्माण भइरहेको छ । हालको रुसले नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेे परम्परा निरन्तर नै राखेको छ ।

कोभिड–१९ को सङ्कटका बेला नेपालले ‘रुसी प्रत्यक्ष लगानी कोष’ले प्रस्ताव गरेको ‘स्पुतनिक भी भ्याक्सिन’ को फाइदा लिन सकेन । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको हालैको रुसको भ्रमणपछि रुसी दूतावासले वैशाख २१ गते नेपाललाई पत्र पठाएर १४ वटा विभिन्न आयोजनाको विस्तृत प्रस्ताव माग गरेको थियो; जसमा पोखरा–पर्वत–रिडी सडक निर्माण, बाल क्यान्सर अस्पताल, पूर्व–पश्चिम रेलवे, अध्ययन छात्रवृत्ति कोटा वृद्धि आदि पर्छन् । साथै रुसका उपप्रधानमन्त्रीले रासायनिक मल र गहुँ जिटुजीमार्फत निर्यात गर्ने र पेट्रोलियम, हेलिकोप्टर र नेपालमा सिधा हवाई उडानलगायतका विषयमा चासो देखाएका थिए । 

रासससँगको सङ्क्षिप्त अन्तर्वार्तामा रुसको सूचना तथा प्रेस विभागका उपनिर्देशक सर्गेई नालोबिनले “खाद्य, मल वा इन्धन आदि जेमा होस्, हामी सहयोगको हात बढाउन तयार छौँ” भन्ने धारणा व्यक्त गरे । “... तर हामीले अहिलेसम्म तपाईंको सरकारबाट कुनै औपचारिक अनुरोध प्राप्त गरेका छैनौँ ...” उनले भने । अध्यक्ष तिमिल्सिना पनि रुसी महासङ्घसँगको प्रस्तावप्रति नेपाल सरकारको रबैया र बेवास्ताप्रति खुसी छैनन् र मिडियाहरूमा रुसले नेपाललाई गर्न चाहेको विकास सहयोगलाई सरकारले रोकेकोमा कतै हामी संलग्नतातर्फ ढल्कियौँ कि भन्ने धारणा छताछुल्ल गर्छन् ।

शीतयुद्धकालमा नेपालले असंलग्नता र तटस्थताको सिद्धान्तलाई आफ्नो परराष्ट्र नीति बनायो र महाशक्तिबिचको प्रतिस्पर्धाबाट धेरै लाभ पनि लियो । यो नेपालको कूटनीतिको अब्बल पक्ष थियो । त्यतिखेर र अहिले पनि नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई रुसले सम्मान गरेको छ । हाम्रो पूर्वीय दर्शनले ‘वैगुनीलाई गुणले मार्नु पर्छ’ भन्छ । यस परिप्रेक्ष्यमा त्यो युग जुन बेला मुलुकलाई अशिक्षा, रोग, भोकले गाँजेको थियो र हाम्रानिम्ति शिक्षा, स्वास्थ्य र उद्योग अपरिहार्य थियो, हामीलाई सहयोग गर्ने सोभियत जनताको सहयोगलाई कसरी बिर्सन सक्छौँ ?

सोभियत सङ्घ इतिहासमा सीमित भयो । अझै पनि रुसी महासङ्घ विश्वमानचित्रमा महादेश जस्तै हो । त्यहाँ सुदुरपूर्वको भ्लादिभास्तोकमा सूर्य उदाउँदा सेन्टपिटस्वर्गमा साँझ पर्छ । अनन्त प्राकृतिक सम्पदा, साधन, खनिज, विज्ञान र प्रविधिका अजस्र स्रोतले भरिपूर्ण त्यो मुलुकको सदासयताबाट नेपालले धेरै लिन सक्नु पर्छ, त्यो हाम्रो परराष्ट्र नीतिको सफलता हुने छ । अप्ठेरो दुई ढुङ्गाबिचको तरुल जस्तो हाम्रो मुलुकले युक्रेनलगायतका विश्व घटनाबाट पाठ सिक्नु पर्छ । हामी हाम्रो देशलाई निःस्वार्थ सहयोगका लागि सोभियत र रुसी जनताप्रति आभारी छौँ । नेपाल र रुसको मित्रता अमर रहोस् ।

  

Author

ई. रामविन्दु श्रेष्ठ