विश्वमा विज्ञान र प्रविधिको विकाससँगसँगै प्राविधिक विकास र सामाजिक आवश्यकता अनुरूप शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तन भएका छन् । परम्परागत दूर शिक्षा, जुन कुनै बेला हुलाक सेवा, रेडियो, टेलिभिजन, चिठीपत्र वा अन्य कुनै छापिएका अध्ययन सामग्रीमा पूर्ण रूपमा निर्भर थियो । अध्ययन सामग्री प्राप्त गर्न महिनौँ कुर्नु पर्दथ्यो । त्यो स्थिति आज छैन । डिजिटल रूपान्तरणले शिक्षाको क्षेत्रमा गहिरो प्रभाव पार्नुका साथै शिक्षण सिकाइका तरिकामा क्रान्ति ल्याएको छ । आजको डिजिटल युगमा विश्वमा परम्परागत दूर शिक्षाबाट मोबाइल शिक्षासम्मको यात्रामा शिक्षाको क्षेत्रमा युगान्तकारी परिवर्तन भएका छन् । मोबाइल शिक्षा, जसलाई एम लर्निङ, अनलाइन लर्निङ, डिजिटल लर्निङ वा इलर्निङ पनि भन्ने गरिन्छ । हाल यसले शिक्षण सिकाइको आयामलाई नै बदलिदिएको छ । गुरुकुल शिक्षण सिकाइबाट सुरु भएको हाम्रो शिक्षा आज विद्यार्थीले मोबाइल उपकरण, उच्च गति इन्टरनेटको सहयोगमा आफूले चाहेको स्थानबाट आफ्ना गुरु वा शिक्षण सिकाइका सहपाठीसँग साक्षात्कार गर्न सक्छन् । उनीहरूका बिच अन्तर्क्रियात्मक शिक्षण शैली, समूहगत छलफल, प्रस्तुतीकरण, वा अन्य कुनै विधि आफूखुसी तय गर्न सक्छन् ।
प्रविधिको विकास हुँदै जाँदा शिक्षाको परिदृश्य पनि परिवर्तन हुँदै गएका छन् । विद्यालय वा शैक्षिक संस्थाले डिजिटल उपकरणको एकीकरणलाई प्राथमिकता दिनु पर्छ, नवप्रवर्तनको संस्कृतिलाई बढावा दिनु पर्छ र शिक्षक, कर्मचारीको व्यावसायिक सिप विकास र वृद्धि विकासमा ध्यान दिनु पर्छ । राज्यले डिजिटल ग्यापलाई पूरा गर्दै सबै वर्ग र समुदायका विद्यार्थीलाई शिक्षा सुनिश्चित गर्न प्रविधिमा समान पहुँच सुनिश्चित गर्नु पर्छ । तब मात्र राज्यले वर्गविहीन समाजवादको परिकल्पना गर्न सक्छ । शिक्षाको भविष्यलाई थप उज्ज्वल बनाउन डिजिटल रूपान्तरणको महìवपूर्ण भूमिका छ । मोबाइल शिक्षामा सिकाइका अपार सम्भाव्यता रहेको भए पनि, डिजिटल पूवार्धार विकास, डिजिटल डिभाइड, शिक्षक तालिम, शिक्षण सामग्रीको उत्पादन तथा व्यवस्थापन र डाटा सुरक्षा जस्ता चुनौतीलाई पूर्ण रूपमा सम्बोधन गर्न सकिएको छैन । सर्वसाधारण नागरिकलाई मोबाइल शिक्षाको पहुँचसम्म ल्याउन, र उनीहरूको सामाजिक र आर्थिक विकासलाई बढवा दिनका लागि पनि मोबाइल शिक्षाको महत्वलाई राज्यले बुझेर यसको विस्तारमा ध्यान दिनु जरुरी छ ।
मोबाइल शिक्षाको आवश्यकता र औचित्य
भौतिक कक्षाकोठा र निश्चित समय तालिकाको सिमाना तोड्दै विद्यार्थीले आफ्नो मोबाइल डिभाइसमार्फत शैक्षिक सामग्री, पाठ्यक्रम र सिकाइ सामग्री र शिक्षकसँग पहुँच राख्न सक्छ । मोबाइल शिक्षाले विभिन्न भौगोलिक पृष्ठभूमि, दुर्गम क्षेत्र, स्वदेश वा विदेशमा रहेका विद्यार्थीलाई बिनाबाधा व्यवधान सिकाइ कार्यमा संलग्न हुन सहयोग प्रदान गर्छ । यसले जाति, धर्म, वर्ण, लिङ्ग, धनी, गरिबबिच विभेद गर्दैन । केही सिक्नका लागि इच्छाशक्ति हुने जो कोहीलाई डिजिटल उपकरण र इन्टरनेट भएमा मोबाइल शिक्षाको ढोका खोल्छ । मोबाइल शिक्षाले भिडियो कन्फरेन्समार्फत विद्यार्थी र शिक्षकबिच निर्बाध रूपमा अन्तर्क्रिया गर्न, आफूले नजानेका विषय वस्तु शिक्षक र साथीबिच राख्न, अरूसँग भएका शिक्षण सामग्री प्राप्त गर्न सहजता प्राप्त हुन्छ । भर्चुअल कक्षा सञ्चालन गर्न र सामाजिक समूहहरू जस्तै स्काउट, रेडक्रस, इन्जिनियरिङ सेवा समूह, स्वयम् सेवक दलमार्फत, विद्यार्थीले सक्रिय रूपमा भाग लिन, सहकार्य गर्न, साथीहरू र प्रशिक्षकसँग ज्ञान र सिप आदानप्रदान गर्न सक्छन् । यसले सामूहिक कार्यलाई बढाउँछ । सिकारुलाई सिक्ने वातावरण प्रदान गर्छ । यसमा धेरै भौतिक पूर्वाधार विकासको आवश्यकता पर्दैन । घरघरमा मोबाइल शिक्षा दिन सकेमा राज्यकोषको पनि बचत हुन्छ । विद्यार्थीले बिहान साँझ कक्षा लिएर दिनमा जागिर वा स्वरोजगार हुन सक्छन् । यसबाट विद्यार्थीले आफ्नो खर्चको जोहो गर्न सक्षम हुन्छन् ।
यति मात्र होइन यसले कक्षालाई थप रोचक, आकर्षक र अन्तर्क्रियात्मक बनाउँछ । मोबाइल शिक्षाले मल्टिमिडिया, भिडियाहरू, एनिमेसन, व्यक्तिगत सिकाइ शैलीमार्फत आकर्षक शैक्षिक सामग्री प्रदान गर्छ । शैक्षिक एप्स र मोबाइल लर्निङ प्लेटफर्मको सहयोगमा विद्यार्थीले आफ्नो रुचि र सिकाइका प्राथमिकता अनुसार आफ्नो सिकाइलाई अगाडि बढाउन सक्छ । यसका लागि विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि र स्थानीय सरोकारवालाबिच सामूहिक सहकार्यको आवश्यकता पर्छ ।
मोबाइल शिक्षाको सम्भावना र चुनौती
विश्वमै मोबाइल शिक्षाको प्रचुर सम्भावना रहेको भए पनि डिजिटल डिभाइडलाई हटाउनु त्यति सजिलो भने छैन । समावेशी शिक्षालाई सुनिश्चित गर्न इन्टरनेट नपुगेकोका गाउँ बस्तीहरूमा इन्टरनेट जडान गर्न, मोबाइल नेटवर्क कभरेज नभएका स्थानमा डाटाको उपलब्धता छैन । नेपालमा भौगोलिक, आर्थिक र शैक्षिक विभिदता कायमै छ । चाहेर पनि राज्यले सबै स्थानमा तुरुन्त सेवा सञ्चालन गर्न सम्भव छैन तर पनि किफायत रूपमा डिजिटल उपकरण उपलब्ध गराउँदै निम्न आर्थिक स्तर भएका नागरिकलाई शिक्षाको मूलधारमा ल्याउनु राज्यको दायित्व हो । यसका लागि सरकार र सरोकारवाला सङ्गठनले प्राविधिक पूर्वाधार विकार र स्थानीय स्रोत सामग्री उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्नु पर्छ । मोबाइल शिक्षामा शिक्षक, प्राविधिक कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षण सिकाइलाई प्रभाकारी रूपमा अगाडि बढाउनका लागि शिक्षक, कर्मचारीले निरन्तर रूपमा व्यावसायिक सिप विकास र मोबाइल प्रविधिलाई प्रभावकारी रूपमा प्रयोग गर्ने तालिम प्राप्त लिनु पर्छ । तालिमले शिक्षकका लागि डिजिटल क्षेत्रमा अन्वेषण भएका नयाँ प्रविधिका बारेमा ज्ञान लिनुका साथै ती प्रविधिलाई प्रयोग गर्नमा आत्मबल प्राप्त हुन्छ । कहिलेकाहीँ नयाँ उपकरण चलाउँदा नजान्ने र बिग्रने डर हुन्छ त कहिले गलत रूपमा प्रयोग हुने भय हुन्छ ।
मोबाइल शिक्षाको पूर्ण क्षमताको उपयोग गर्न शिक्षण सिकाइमा निरन्तर अनुसन्धान र नवीनता आवश्यक छ । मोबाइल सिकाइको प्रभावको अध्ययन गर्न, सिकाइको मूल्याङ्कन गर्न, शिक्षण अभ्यास पहिचान गर्न र उदीयमान प्रविधिको अन्वेषणले शिक्षामा निरन्तर सुधार ल्याउन मद्दत गर्छ । विद्यालय तह र कलेज तहका विद्यार्थीका लागि मात्र भनएर अनुसन्धान तहमा रहेर काम गर्ने शोधकर्ताका लागि पनि यसले घरमै बसीबसी स्रोत सामग्री उपलब्ध गराई सहयोग गर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सीमा पारीबाट रिपोर्ट र थेसिस बोकेर ल्याउनु पर्ने वा विश्वविद्यालयका पुस्तकालयमा गएर घण्टौँ बिताउनुपर्ने समय बचत गरिदिन्छ । डिजिटल रूपान्तरण एक निरन्तर प्रक्रिया हो । शिक्षामा टेक्नोलोजी प्रयोगका नयाँ नयाँ आयामले पारेका प्रभावका बारेमा खोज अनुसन्धान अहिले पनि त्यत्तिकै जरुरी छ ।
मोबाइल शिक्षाले औपचारिक शिक्षाको ढोकाभन्दा बाहिर रहेका लाखौँ युवा र उद्यमशील बन्न चाहने जो कोहीलाई व्यावसायिक सिप विकास र स्वरोजगार बन्न मोबाइल शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । मोबाइल लर्निङ एप्लिकेसनको सहायताले व्यावसायिक तालिम, अपस्किलिङ र पुनः सिप र ज्ञान लिनका लागि यसले उद्यमीलाई भविष्यमा स्वदेश वा विदेशमा रोजगारीका अवसरका पहिल्याउन मद्दत गर्छ । मोबाइलमा भिडियो हेरी हेरी कतिले कौसी खेती गरेका छन् भने कतिले भान्साका परिकार बनाएका छन् ।
अबको बाटो
हामीले यो बिर्सनु हुँदैन कि मोबाइल शिक्षाका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै यसको पूर्ण क्षमताको उपयोग गर्नु नै अगाडिको बाटो हो । नीतिनिर्माताले राष्ट्रिय शिक्षा नीतिमा मोबाइल शिक्षालाई समावेश गर्नु पर्छ र यसको कार्यान्वयन पक्षलाई पनि ध्यान दिनु पर्छ । सरकार, शैक्षिक संस्था, प्रविधि सेवा प्रदायकबिचको सहकार्यबाट डिजिटल विभाजनलाई कम गर्दै र मोबाइल शिक्षामा नागरिको समान पहुँच प्रदान गर्न सम्भव छ । मोबाइल शिक्षाको प्रभावकारिता सुनिश्चित गर्न गुणस्तरीय शिक्षण सिकाइका परिणामको मूल्याङ्कन गरी राख्नु पर्छ । मोबाइल शिक्षाका उपयोगितालाई सुनिश्चित गर्न केन्द्र, प्रदेश र स्थानीय तहसम्म यसको विस्तार गर्नु पर्छ । सिप विकास र व्यावसायिक तालिमका लागि मोबाइल शिक्षालाई सदुपयोग गर्न सकेमा तालिमका माध्यमबाट श्रमबजारको रोजगारीको मागलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । थोरै जनशक्ति र कम आर्थिक व्ययभारबाट देशैभर सञ्चालन गर्न सकिने मोबाइल शिक्षा डिजिटल डिभाइड कम गर्ने एक मात्र उपाय हो ।
अन्त्यमा, मोबाइल शिक्षाले पाठ्यपुस्तक र गुरुको परनिर्भरता हटाउँदै सिक्ने तरिकामा क्रान्तिकारी परिवर्तन गरेको छ । शिक्षण सिकाइमा रहेका कैयौँ चुनौती समाना गर्दै शिक्षामा समान पहुँचलाई केही हदसम्म खुला बनाएको छ भलै राज्यले गर्न धरै बाँकी छ । यसको पूर्ण क्षमतालाई उपयोग गर्न, भौतिक र प्राविधिक पूर्वाधारको विकास, डिजिटल विभाजन, शिक्षक, कर्मचारी प्रशिक्षण, खुला विद्युतीय सिकाइ केन्द्रको स्थापना र सञ्चालन र डाटा सुरक्षा जस्ता चुनौतीलाई सम्बोधन गर्न राज्यले ठोस प्रयासहरू चाल्नु आवश्यक छ । हो, मोबाइल शिक्षाले डिजिटल युगमा सिकाइलाई रूपान्तरण गर्न विद्यार्थी र समुदायलाई समान रूपमा सशक्तीकरण गर्ने क्षमता राख्छ तर त्यो पर्याप्त छैन ।
मोबाइल शिक्षाको विकास र विस्तारलाई आमनागरिकको पहुँचमा ल्याउन यसको सम्भाव्यतालाई अधिकतम उपयोग गर्न यसका सरोकारवालासँग सहकार्य गरेर काम गर्नु पर्छ । यस कार्यमा सरकार निजी सङ्घसंस्थाले शिक्षामा समावेशिता सुनिश्चित गर्न प्राविधिक पूर्वाधार, भौतिक पूर्वाधार र सर्वसुलभ रूपमा मोबाइल उपकरण उपलब्ध गराई दिनु पर्छ । शैक्षिक अभ्यासमा मोबाइल प्रविधिको एकीकरणलाई प्रोत्साहित गर्दै नीतिनिर्माताले शिक्षक प्रशिक्षणका लागि अनुकूल वातावरण सिर्जना गर्नु पर्छ । शिक्षण संस्था र सेवा प्रदायकले बलियो डेटा सुरक्षा उपायहरू अपनाउनु पर्छ र विद्यार्थी र अभिभावकबिच विश्वास निर्माण गर्न डेटा सुरक्षा नियमको पालना गर्नु पर्छ । स्थानीय समुदायसँग साझेदारी र अभिभावकको संलग्नताले मोबाइल शिक्षा पहलको प्रभाव र दिगोपनलाई अझ बढाउन सक्छ भन्ने कुरा भुल्नु हुँदैन । शैक्षिक सामग्री उत्पादन, वितरण र व्यवस्थापनमा शैक्षिक संस्थाले ध्यान दिनु पर्छ । स्थानीय ज्ञान र सिपलाई जर्गेना गर्नु पर्छ । यसका लागि हरेक गाउँ टोलमा विद्युतीय पुस्तकालयको अनिवार्य स्थापना गरिनु पर्छ । अनि मात्र ज्ञानमा आधारित समाज निर्माणको कल्पना गर्न सकिन्छ ।
लेखक ई–गभर्नेन्स र सूचना प्रविधिविज्ञ हुनुहुन्छ ।