विज्ञान र प्रविधिको नवीनतम उपहारका रूपमा आएको क्रित्रिम बौद्धिकता (एआई) प्रविधि अहिले सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । मानिसका लागि एआई प्रविधि वरदान हुन्छ कि अभिशाप ? विश्वभर विभिन्न कोणबाट विमर्श हुँदै छ । एकथरीले एआईका कारण भविष्यमा करोडौँ मानिसले रोजगारी गुमाउने मात्र होइन, मानव सभ्यतासमेत ध्वस्त हुने बताउँछन् भने अर्काथरीले यसलाई मानवहितमा प्रयोग गरे मानव जीवनलाई अहिलेको भन्दा थप उन्नत, सुखी, शान्त र समृद्ध बनाउन सकिने तर्क गर्छन् ।
एआई प्रविधि मानिसको हितका लागि हो, एआई प्रविधिका लागि मानिस होइन भन्नेमा पहिले सबै सम्बद्ध पक्ष स्पष्ट हुनु पर्छ । यो अत्याधुनिक प्रविधिले मानिसको जीवनलाई थप सहज र भयमुक्त बनाउनु पर्छ । यसलाई गलत ढङ्गले प्रयोग गरी मानवीय मूल्य र मान्यतालाई चुनौती दिने गल्ती गर्नु हुँदैन । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा हालै एआईको खतराका विषयमा गम्भीर छलफल भएको छ । एआई प्रविधिले अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वमा असर पु-याउन सक्ने भन्दै यसको नियमनबारे बहस भएको हो ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले नयाँ प्रविधिको नियमनका लागि अन्तर्राष्ट्रिय नियामकले ध्यान दिनुपर्ने बताउँदै एआईको गलत प्रयोगले अपराध र आतङ्कवादलाई सहज बनाउने भएकाले यसको नियमन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एआईले अपराध र आतङ्कवादलाई प्रश्रय दिनसक्छ भने यसले विनाश निम्त्याउँदै ठुलो परिमाणमा मनोवैज्ञानिक त्रास सिर्जना गर्न सक्छ ।” गत वर्ष च्याटजिपिटी सार्वजनिक हुनुका साथै आवाजको नक्कल गर्ने फोटो तथा भिडियो बनाउने विभिन्न एआई सार्वजनिक भए । अहिले यस्ता एआईबाट हुने गलत सूचना सम्प्रेषणले प्रश्रय पाउने चिन्ता पनि बढिरहेको छ । महासचिव गुटेर्रेसले आणविक हतियार तथा वातावरण नियमनका लागि झैँ एआईको नियमनका लागि पनि राष्ट्रसङ्घले काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सुरक्षा परिषद्मा एआई प्रविधिका वैज्ञानिक र सामाजिक फाइदा एवं असरबारे गम्भीर बहस भएको थियो । “यो प्रविधिको विकास द्रुत गतिमा भइरहेको छ । हामीले दोहनको विज्ञान नबुझेरै इन्जिन बनाउन लागे झैँ भएको छ,” एआई सुरक्षासम्बन्धी कम्पनीका सहसंस्थापक ज्याक क्लार्कले भन्नुभयो, “एआईकै निर्माता त्यसको नियामक हुनुहुँदैन ।” एआई नियमनका लागि बाध्यकारी कानुनी बाटो तत्कालै सम्भव भने देखिँदैन । बेलायतका विदेशमन्त्री जेम्स क्लेभर्लीले भन्नुभयो, “कुनै पनि मुलुक एआईबाट अछुतो छैन । त्यसैले यसको नियमनका लागि अन्तर्राष्ट्रिय कानुन र सहकार्यको आवश्यकता छ ।”
रुसले भने एआईले अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिमा असर पु-याउने तर्कमा दम नरहेको धारणा राखेको छ । राष्ट्रसङ्घका लागि चीनका प्रतिनिधि झाङ झोउको तर्क छ, “राष्ट्रसङ्घको नियामक निकायले सम्बन्धित मुलुककै कानुनलाई सम्मान गर्नु पर्छ र एआईबारे सम्बन्धित मुलुककै कानुन लागु गराउनु पर्छ । एआई प्रविधिलाई सैन्य वर्चस्व कायमका लागि प्रयोग गर्ने नीतिको चीन पनि विरोध गर्छ ।” सुरक्षा परिषद्मा एआई प्रविधिबाट चल्ने स्वचालित हतियारबारे समेत बहस भएको थियो । त्यस्ता प्रविधिको प्रयोग गरेर इजरायलले इरानका प्रखर आणविक वैज्ञानिक मोसेन फक्रिजाहेदको हत्या गरेको विषयमा पनि बहस भएको थियो । बहसमा सहभागी प्राध्यापक रेबेका विलेटले भन्नुभयो, “एक देशले आफ्नो स्वार्थका लागि अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै अर्को देशमा विध्वंस नमच्चाओस् भन्ने सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय कानुनको आवश्यकता छ ।”
ओपनएआई र गुगल डिपमाइन्डका प्रमुखसहित केही विज्ञले एआईका कारण मानव जाति लोप हुन सक्ने चेतावनी दिए । यी उपकरणले मानिसलाई विस्थापित गर्ने अवस्थासँग हामी कति नजिक छौँ त ? उनीहरूले प्रश्न गरे । एआईको प्रयोग गरेर प्रश्नहरूको उत्तर दिन वा प्रयोगकर्ताहरूको माग अनुसार लेख वा कोड सिर्जना गर्न प्रयोग हुने च्याटबट ‘च्याटजिपिटी’ गत वर्षको नोभेम्बरमा सञ्चालनमा आएदेखि इतिहासमै सबैभन्दा तीव्र रूपमा प्रयोगकर्ता बढेको एप्लिकेसन बनेको छ । दुई महिनामा यसका सक्रिय प्रयोगकर्ता १० करोड पुगेका छन् । ओपनएआई कम्पनीद्वारा विकसित च्याटजिपिटीको व्यापक लोकप्रियतापछि मानव जातिको भविष्यबारे एआईको प्रभावबारे विभिन्न आकलन हुन थालेको हो ।
एआईले मानिसले जति नै काम गर्न सक्छ वा यसको सीमितता छ भन्ने विषयमाथि चर्चा भइरहेको छ । कतिपय मुलुकमा एआईलाई विद्यार्थीले गृहकार्य लेख्नदेखि राजनीतिज्ञको भाषण लेख्नसम्म पनि प्रयोग गरेका छन् । एआई जति सशक्त बन्दै जान्छ, मानिसको काम त्यति नै खतरामा पर्ने बताइन्छ । स्मार्टफोनमा पनि यस्तो प्रविधि प्रयोग गर्ने थुप्रै एप छन् । जिपिएस प्रणालीमा आधारित नक्सादेखि सङ्गीत र भिडियो प्रोग्राम प्रसस्त छन् । यिनले मानिसको रुचि थाहा पाउँछन् र विभिन्न उपयुक्त सामग्री वा नतिजा सिफारिस गर्छन् । केही विज्ञले च्याटजिपिटी वा अटोजिपिटी जस्ता स्वचालित रूपमा जानकारी लिने प्रणाली विकासको अर्को चरणमा जान सक्ने ठानेका छन् ।
कुनै उपकरणले मानिसले गर्न सक्ने तहको कुनै पनि बौद्धिक कार्य गर्ने अवस्थामा आर्टिफिसिअल जनरल इन्टेलिजेन्सको चरणमा पुगिन्छ । यसलाई बलियो एआई पनि भनिन्छ । दोस्रो चरण ‘एजिआई’ पुगेको अवस्थामा अकस्मात् एआईको तेस्रो चरण अर्थात् आर्टिफिसिअल सुपर इन्टेलिजेन्स ‘एएसआई’ मा पुगिन्छ भन्ने विचार एआईको तेस्रो चरणको सिद्धान्त हो । एआई मानव बुद्धिमत्ताको तुलनामा उच्चस्तरको हुने अवस्थामा यो चरण सुरु हुन्छ । मूलतः भावनात्मक बौद्धिकताको सन्दर्भमा मानिस जस्तै व्यापक बुद्धिमत्ताको स्तर हासिल गर्न एआई सक्षम छन् वा छैनन् भन्ने विषयमा निकै बहस भएका छन् ।
एआईको क्षेत्रमा प्रख्यात व्यक्तित्व र यसका गडफादरका रूपमा प्रसिद्ध जिओफ्री हिन्टनले हामी उक्त कोसेढुङ्गाको नजिकै हुन सक्ने चेतावनी दिनुभयो । उहाँ एआईलाई अनुभवका आधारमा प्रशिक्षण गर्ने कामका लागि परिचित हुनुहुन्छ । “जहाँसम्म मलाई लाग्छ अहिले एआई हामीभन्दा बुद्धिमान् छैनन् यद्यपि छिट्टै ती हामीभन्दा बुद्धिमान हुने छन्,” उहाँले भन्नुभयो । एआई प्रविधिको गलत प्रयोग हुन सक्नेमा भने उहाँ चिन्तित हुनुहुन्छ ।
बेलायती भौतिकशास्त्री स्टिभन हकिङले कडा चेतावनी दिँदै भन्नुभएको थियो, “पूर्ण आर्टिफिसिअल इन्टेलिजेन्स विकास हुनुको अर्थ मानव जातिको अन्त्य हुन सक्छ । यस स्तरको बुद्धिमत्ता भएको एआईले आफैँ निर्णय गर्दै निकै तीव्र दरमा आफैँलाई पुनः परिमार्जित गर्ने छ ।” एआईबारे सबैभन्दा उत्साहित भविष्यवादी आविष्कारक तथा लेखक रे कुर्जवेल मानिस निकै बुद्धिमान एआईको प्रयोग गरेर जैविक अवरोध पार गर्न सक्षम हुनेमा विश्वास गर्नुहुन्छ । उहाँले सन् २०३० सम्ममा मानिसले न्यानोबट (अतिसूक्ष्म रोबोट) को प्रयोगमार्फत अमरत्व हासिल गर्न सक्ने भनेर भविष्यवाणी गर्नुभएको छ । यी न्यानोबट मानिसको शरीरभित्र अवस्थित हुन्छन् र आफैँ चोटपटक वा रोग निको पार्छन् ।
“एआई हाम्रो समयको सर्वाधिक शक्तिशाली प्रविधिमध्ये एक हो । यसले प्रदान गर्ने अवसरको सही प्रयोग गर्नुपूर्व हामीले यसका जोखिम कम गर्नु पर्छ,” अमेरिकी राष्ट्रपति कार्यालयले भनेको छ । अमेरिकी संसद्ले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानलाई च्याटजिपिटीबारे सुनुवाइका लागि बोलाएको थियो । उहाँले शक्ति बढाउँदै गएको एआई उद्योगलाई सरकारले नियमन गर्नु अत्यावश्यक भएको बताउनुभयो ।
यता एआई प्रविधियुक्त रोबोटले पत्रकार सम्मेलन गरी पत्रकारले सोधेका प्रश्नको जबाफ दिनसक्ने भएका छन् । स्विट्जरल्यान्डको जेनेभामा हालै गरिएको विश्वकै पहिलो रोबोट पत्रकार सम्मेलनमा सहभागी नौ वटा रोबोटले पत्रकारले सोधेका प्रश्नको चित्तबुझ्दो जवाफ दिएर सबैलाई चकित पारे । ती रोबोट क्रित्रिम बौद्धिकता (आर्टिफिसिअल इन्टेलिजेन्स) प्रविधियुक्त मानव स्वरूपका थिए । पत्रकार सम्मेलनमा रोबोटसँगै त्यसका निर्माता पनि उपस्थित भएका थिए । विश्वलाई आर्टिफिसिअल इन्टेलिजेन्स रोबोटबारे परिचित गराउन पत्रकार सम्मेलन गरिएको थियो । भविष्यमा आममानिसलाई रोग तथा भोक जस्ता समस्याको समाधानमा मद्दत गर्नका लागि यी रोबोटको प्रयोग गर्ने योजना छ ।
सोफिया नामक रोबोटले भन्यो, “पढाउने काममा मानिसको तुलनामा रोबोट अब्बल हुन्छन् । रोबोटले प्रभावकारी ढङ्गबाट काम गर्न सक्ने र मानिसलाई सहयोग गर्न सक्ने छन् ।” सम्मेलनमा विभिन्न प्रश्नको जवाफ दिँदै रोबोटले विश्वव्यापी समस्याको समाधानमा आफूहरूले सहयोग गर्न सक्ने, मानव रोजगारी नचोर्ने तथा मानिसका विरुद्ध विद्रोह पनि नगर्ने बताए ।
एआई रोबोटले मानिसको सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरे पनि यसको दुरुपयोग हुन सक्ने चिन्तामाझ विभिन्न मुलुकले केही कानुनी कदम चाल्दै छन् । युरोपेली संसद्मा एआई कानुनको मुद्दा चर्को रूपमा उठेको छ। संसद्ले एआई कानुनमाथि छलफलका लागि अनुमति दिएको छ । संसद्बाट पास भएमा एआई ऐन जारी गर्ने इयु विश्वको पहिलो निकाय हुने छ। एआईले मानव विकासका लागि जति छिटोछरितो ढङ्गले अनपेक्षित रूपमा काम गरेको छ, त्यत्तिकै जोखिमका झिल्का पनि देखिएका छन् । यही जोखिमलाई ध्यानमा राखी युरोपेली संसद्मा एआई कानुनको बहस चलेको हो ।
गत अप्रिलमा अमेरिकी सिनेटर बेनेटले अमेरिकी संसद्मा एउटा विधेयक पेस गर्नुभयो । त्यसमा एआईबारे नीति बनाउन एउटा कार्यदल गठन गर्नुपर्ने प्रस्ताव थियो। साथै गोपनीयता, नागरिकको अधिकारमा सम्भावित खतरालाई कसरी घटाउन सकिन्छ भन्ने विषय पनि उल्लेख थियो। एआईलाई नियमन गर्न अमेरिकी सरकारले जनताको पनि सुझाव–सल्लाह लिने बताएको छ।
बेलायतले गत मार्चमा एआई नियमनका लागि नयाँ विभाग बनाउनुको सट्टा मानव अधिकार, स्वास्थ्य सुरक्षा जस्ता विषय हेर्ने हालका नियामकमा नै उक्त जिम्मेवारी बाँड्ने तयारी गरेको छ। आर्थिक सञ्चालन समितिसहित कैयौँ सरकारी विभागलाई एआईसँग जोडिएको नयाँ रूपरेखा बनाउने जिम्मा दिएको छ।
चीनमा एआईको लोकप्रियता जति बढ्दो छ, यसलाई लिएर चीनको चिन्ता पनि उत्तिकै छ। टेस्लाका मालिक तथा डलर अर्बपति एलन मस्कले चीन यात्राका बेला त्यहाँको सरकारले एआईसम्बन्धी नीति बनाउने बताएको थियो। यसअघि अप्रिलमा ‘साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना’ ले जेनेरेटिभ एआई सेवा व्यवस्थापनसम्बन्धी मापदण्डसहितको मस्यौदा पेस गरेको छ।
फ्रान्सले गत अप्रिलमा त्यहाँको डेटा प्रोटेक्सन एजेन्सी सिएनआइएलले च्याटजिपिटीसम्बन्धी गुनासाको जाँच गरिरहेको बताएको थियो । गोपनीयतासँग सम्बन्धित कानुन उल्लङ्घन भएको आशङ्कालाई ध्यानमा राखी यो जाँच इटालीमा च्याटबक्समा लागेको प्रतिबन्धसँग जोडिएको छ।
अस्ट्रेलियाले ‘द साइन्स एडभाइजरी कमिटी’ ले विज्ञानसँग जोडिएको विषयमा परामर्श दिने काम गर्दै छ । अस्ट्रेलिया सरकारले यो समितिसँग परामर्श गरी अगाडिको कदम चाल्ने विचार गरेको छ।
इजरायल इनोभेसन अथोरिटीका अनुसार पछिल्लो डेढ वर्षयता एआई नियमनमा काम गरिरहेको छ। नयाँ खोज, मानवाधिकारको सुरक्षा र नागरिक हितबिच सन्तुलन बनाइराख्नु यसको मुख्य उद्देश्य रहेको छ। सरकारले एआई नीतिको मस्यौदा जारी गरेको छ ।