• १५ वैशाख २०८१, शनिबार

गोलभेँडाको मूल्य एक महिनामै १२ गुणा बढ्यो

blog

आफ्नो बारीमा अलिअलि भएको गोलभेँडा छान्दै रोशनी राई । तस्बिर: कविराज

हिले, साउन २४ गते । धनकुटा नगरपालिका वडा नम्बर नौ गुठिटारकी रोशनी राईलाई एक महिना अगाडिसम्म गोलभेँडा बेच्न निक्कै सकस थियो । टमाटर बिक्री नहुँदा उहाँले लगाएको धेरै टमाटर बारीमै नष्ट भयो । ७-८ रुपियाँमा बिक्री गर्न खोज्दा पनि क्रेता पाउन मुस्किल थियो । तर एक महिनाको अवधिमा एकाएक गोलभेँडाको मूल्य आकासिएको छ । अहिले थोक मूल्य नै एक सय रुपियाँ प्रतिकिलो पुगेको छ । तर मूल्य आकासिँदा राईको बारीमा एक गेडो पनि गोलभेँडा छैन । “गोलभेँडा हुँदा मूल्य पाइएन सबै खेर गयो अहिले मूल्य हुँदा गोलभेँडा नै छैन” राई गुनासो गर्नुहुन्छ । 

धनकुटा नगरपालिका ७ सिरवानीका मातृका राई अहिले १०१ रुपियाँ प्रतिकिलो टमाटर बिक्री हुन थालेको बताउनुहुन्छ । एक महिना अघिसम्म बिक्री नै हुन छाडेको थियो तर अहिले एक्कासि मूल्य बढ्यो उहाँ भन्नुहुन्छ । गतवर्ष यो सिजनमा ४० देखि ४५ रुपियाँमा मात्र गोलभेँडा खरिद बिक्री भएको राईको अनुभव छ । अघिल्लो सिजनमा गोलभेंडा धेरै भएपछि अहिले सकिँदै गएकोले मूल्य आकासियो राई थप्नुहुन्छ । 

अघिल्लो महिनासम्म भारतबाट समेत गोलभेँडा आएको तथा सबैतिर उत्पादन भइरहेकाले कृषकले मूल्य नपाएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । अहिले सबैतिर उत्पादन कम हुँदै गएको भारतबाट पनि आयात रोकिएको तथा उत्पादन कम भएका कारण मूल्य आकासिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर राना बताउनुहुन्छ । अहिले अगाडि पानी नपरेको कारण उत्पादनमा कमी भयो सबैतिरबाट आउने गोलभेँडा पनि रोकियो फल सुक्ने समस्याका कारण पनि उत्पादनमा कमी भएर मूल्य आकासिएको हो प्रमुख राना भन्नुहुन्छ । 

धनकुटामा एक हजार ४९८ हेक्टर क्षेत्रफलबाट करिब ५३ हजार सात सय ५५ मेट्रिक टनभन्दा बढी गोलभेँडा उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाका सूचना अधिकारी सुरज खनालले जानकारी दिनभयो । एक सय दश रुपियाँसम्म थोक मूल्यमा गोलभेँडा खरिदबिक्री हुन थालेको तथा खुद्रा  एक सय ७० रुपियाँसम्म खरिद बिक्री हुने थालेको उहाँले बताउनुभयो । धनकुटामा अहिले उत्पादन भएको गोलभेँडा तराका बजारसहित भारतीय सीमावर्ती बजारसम्म पुग्ने गरेको छ ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।