काठमाडौँ, चैत १८ गते। गृहमन्त्री सुधन गुरुङले विपदमा परेका नागरिकको तत्काल उद्धारका लागि दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ।
मङ्गलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उहाँले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरूले ज्यानको पर्वाह नगरी नागरिक उद्धारमा खटिएकोमा धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले आम नागरिकको जिउज्यानभन्दा ठूलो कुनै पनि कुरा नभएको उल्लेख गर्दै आपत्–विपदमा परेका नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल सरकार, गृहमन्त्रालय तथा सुरक्षाकर्मीहरू सधैं तयारी अवस्थामा रहन निर्देशन दिनुभयो।
गृहमन्त्री गुरुङले विगतमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएको स्मरण गर्दै कोभिड–१९ महामारी तथा सीमा क्षेत्रमा नेपाली झन्डा स्थापनाजस्ता कार्यमा सशस्त्र प्रहरीसँग नजिक भएर काम गरिसकेको अनुभव सुनाउनुभयो। त्यसैले सुरक्षाकर्मीको काम, कर्तव्य, अधिकार र दुःखबारे आफू जानकार रहेको उहाँले बताउनुभयो।

उहाँले विपद् सुरु हुनुअघि नै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै अब जनशक्ति ब्यारेकमा होइन, फिल्डमा केन्द्रित हुनुपर्ने बताउनुभयो। विपद् व्यवस्थापनका लागि भरपुर मेहनत गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
ड्युटीका क्रममा जुनसुकै ठाउँमा परिचालन हुँदा नागरिक र सुरक्षाकर्मी एउटै हुन् भन्ने भावना राखी नम्र व्यवहार गर्नुपर्ने उल्लेख गर्दै उद्धारमा खटिने सुरक्षाकर्मीको आफ्नै सुरक्षालाई समेत प्राथमिकता दिनुपर्ने व्यवस्था ल्याउन मन्त्रालयले काम गरिरहेको उहाँले जानकारी दिनुभयो।
सीमा क्षेत्रमा कडाइ
गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी रोक्न मन्त्रालय कठोर रूपमा अघि बढ्ने बताउनुभयो। त्यस्ता गतिविधिमा कुनै पनि सशस्त्र प्रहरी कर्मचारी संलग्न नरहन उहाँले आग्रह गर्नुभयो।
उहाँले सीमा क्षेत्रमा राखिएको नेपाली झन्डालाई कपडामात्र नभई देशको अस्तित्व र पहिचानका रूपमा लिनुपर्ने बताउँदै बोर्डर क्षेत्रमा फहराइएको झन्डा च्यातिएको अवस्थामा देखिए तत्काल सम्बन्धित कर्मचारीलाई आफूले नै प्रतिक्रिया दिने चेतावनी दिनुभयो।
संगठन सुधारमा मन्त्रालय सकारात्मक
गृहमन्त्री गुरुङले कार्यक्षेत्रमा परिचालन हुँदा आउने समस्या समाधानका लागि सशस्त्र प्रहरी बल नेपालमा कानुनी व्यवस्था थप स्पष्ट बनाउन मन्त्रालय सकारात्मक रहेको बताउनुभयो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीहरू सँगसँगै बसेर काम गरिरहेको सन्दर्भमा सशस्त्र प्रहरी कर्मचारीहरूको समस्या समाधान गर्न आफू हरदम तयार रहेको उहाँले बताउनुभयो।
उहाँले घरपरिवार चलाउनसमेत कठिनाइ भोगिरहेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको सेवा–सुविधामा सुधार गर्न नेपाल सरकार र गृहमन्त्रालय सकारात्मक रहेको स्पष्ट गर्नुभयो।
१३–१४ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता अन्त्य गर्न मन्त्रालय अघि बढ्ने बताउँदै संगठन सुधार तथा कार्यक्षेत्रमा देखिएका समस्याबारे आवश्यक नीति र कानुनी व्यवस्था लिखित रूपमा मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभयो।
गृहमन्त्री गुरुङले देशवासी नागरिक र सुरक्षाकर्मीका लागि केही गर्ने आशा र भरोसासहित आफू मन्त्रालय आएको बताउँदै सरुवा, बढुवा र सेवा–सुविधामा समय आएपछि सबैलाई पारदर्शी अवसर दिइने बताउनुभयो।
सो अवसरमा उहाँले सशस्त्र प्रहरी बल नेपालका गतिविधिबारे जानकारी लिनुका साथै केन्द्रीय परिचालन कक्ष, अनुगमन तथा गुनासो व्यवस्थापन इकाइ र विपद् उद्धार सामग्रीको अवलोकन गर्नुभएको थियो।
महानिरीक्षकको धारणा
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहमन्त्रीबाट प्राप्त नीति तथा निर्देशनले संगठनमा कार्यरत कर्मचारीहरूको मनोबल उच्च बनाउने बताउनुभयो। कार्यक्षेत्रमा अनुशासित र परिणाममुखी रूपमा काम गर्न थप प्रेरणा र हौसला मिलेको उहाँको भनाइ थियो।
उहाँले अधिकारविनाको खटाइले परिणाम दिन नसक्ने बताउँदै सशस्त्र प्रहरी बल नेपालको कार्यक्षमता अभिवृद्धि तथा समयानुकूल सुदृढीकरणका लागि २०५८ सालको विशेष नियमावली परिमार्जन गरी संगठनलाई सक्षम, प्रभावकारी र व्यावसायिक बनाउने प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो।
विशेष गरी तल्लो तहका कर्मचारीलाई तलब–सुविधाले जीविका चलाउन कठिन भइरहेको उल्लेख गर्दै उनीहरूका परिवार, बालबच्चाको शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सके जागिर छोडेर विदेश जाने प्रवृत्ति कम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।
पेन्सन पकाएर घर जाँदासम्म तल्लो दर्जाका कर्मचारी पनि जुनियर अधिकृतसम्म पुग्ने व्यवस्था भए मनोबल उच्च रहने र ‘जागिर होइन, सेवा’ भन्ने भावनाले काम गर्ने वातावरण बन्ने उहाँले बताउनुभयो।

प्रस्तुतीकरण र सहभागिता
कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपालसँग सम्बन्धित विविध गतिविधिबारे प्रस्तुतीकरण गर्नुभएको थियो।
देशभरका इकाइमा लाइभ भिडियो स्ट्रिमिङ, इन्ट्रानेट तथा सशस्त्र प्रहरी सञ्चारमार्फत प्रत्यक्ष प्रसारण हेर्ने–सुन्ने व्यवस्था मिलाइएको थियो।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडा मगर लगायत अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।