• १८ चैत २०८२, बुधबार

झोलुङ्गे पुलले छोट्यायो दुरी

blog

गौमूल–३ को माझपाली र धौलकाँडाको बिचमा बनेको झोलुङ्गे पुल ।

बाजुरा समाचारदाता

बाजुरा, चैत १८ गते । बाजुराको गौमूल गाउँपालिका–३, अजयखोलाको झोलुङ्गे पुलले यहाँका दुई बस्तीको दुरीलाई छोट्याएको छ । माझपाली र धौलकाँडा बस्तीको बिच खोलामा बनेको पुलले दुरी कम गरेसँगै स्थानीयलाई आउजाउमा सहज पनि बनाएको छ ।

पुल नहुँदा बस्तीका स्थानीयलाई एक बस्तीबाट अर्कोमा जान झन्डै एक घण्टाको पैदल दुरी लाग्थ्यो । त्यति मात्र होइन अर्को बस्तीमा रहेको विद्यालयमा जान पनि विद्यार्थीलाई समय लाग्थ्यो । “पुल निर्माण भएसँगै सबै खुसी छौँ,” गौमूल गाउँपालिका–३ का थुम्थला आधारभूत विद्यालयमा कक्षा ६ का अध्ययनरत मनमती रोकायाले भन्नुभयो, “पहिला पुल नहुँदा गाउँदेखि विद्यालयसम्म जान झन्डै एक घण्टा लाग्ने गरेको थियो, अहिले सहज भएको छ ।” उहाँले माझपाली र धौलकाँडालाई जोडेर झोलुङ्गे पुल निर्माण भएसँगै बढीमा चार मिनेटमा विद्यालयमा जान सकिने बताउनुभयो । पुल नहुँदा खोला तर्न समस्या हुने गरेको थियो । अहिले पुल बनेपछि सबै समस्याको अन्त्य भएको रोकायाले बताउनुभयो ।

सङ्घीय सरकारको योजना अन्तर्गत पुल बनेको बताउँदै गौमूल गाउँपालिका–३ का वडाध्यक्ष गोरखबहादुर रोकाया भन्नुहुन्छ, “पुलले बालबालिकालाई मात्र नभएर यहाँका माझपाली, धौलकाँडा, गर्जे, पातेका स्थानीयलाई समेत आउजाउमा निकै सहज भएको छ ।” उहाँले भन्नुभयो, “जिल्लाभरिका पुलभन्दा यो धेरै लामो भएकाले अहिले यो पुल हेर्नेका लागि यहाँका स्थानीयको लर्को लाग्ने गरेको छ ।” यस पुलबाट यहाँका झन्डै २६३ घरघुरी लाभान्वित भएको वडाध्यक्ष रोकायाले बताउनुभयो ।