• १४ जेठ २०८१, सोमबार

कैलालीको भजनीमा हजारभन्दा बढी परिवार विस्थापित

blog

भजनीको ढुसीमा भएको डुबान । तस्बिर सौजन्य: खेम पाण्डेय

अविनाश चौधरी

धनगढी, साउन २४ गते । कैलालीमा बाढी, डुबानका कारण हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । 

हिजोदेखि डुबान बढ्दै गएपछि भजनी नगरपालिकाकामा मात्रै करिब हजारभन्दा बढी परिवार विस्थापित भएका हुन् । सो नगरपालिका भएर बग्ने मोहना, कान्द्रा, काँढा, पथरैया सबै नदीमा ठुलो बाढी आएको छ । हिजोभन्दा ठुलो र सबै नदीमा बाढी आएकाले विस्थापित हुनेको सङ्ख्या बढेको भजनीवासी एवम् प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले बताउनुभयो । “हजारौँ परिवार विस्थापित भइसकेका छन्”, उहाँले भन्नुभयो,“बाढी बढ्दै गएकाले यो सङ्ख्या अझै बढ्दै जान सक्छ ।” उहाँका अनुसार विस्थापितहरू हुलाकी राजमार्ग, सुरक्षित भवन र विद्यालयमा बसिरहेका छन् । हिजैदेखि उद्धार कार्यमा जुट्नुभएका उहाँले आज पनि उद्धारका लागि आफू खटेको जानकारी दिनुभयो । चौधरीले हुलाकी राजमार्गसमेत फुट्ने अवस्थामा रहेको बताउनुभयो । 

भजनी नगरपालिकाको नौ वटै वडामा डुबान भए पनि वडा नम्बर २, ३, ५, ७ र ८ पुरै जलमग्न रहेको जनाइएको छ । हिजो मोहना नदीमा बाढी कम भएका कारण ५ र ७ वडाका बासिन्दा कम प्रभावित थिए । तर आज मोहनासहित सबै नदीमा बाढी झन् बढेकाले विस्थापित हुनेको सङ्ख्या बढ्दै गएको छ । 

नगर क्षेत्र पुरै जलमग्न भएको भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिनुभयो । “आज पूरै बर्बाद भएको छ”, उहाँले भन्नुभयो,“हामी उद्धार कार्यमा जुटेका छौं ।” उहाँले बाढी प्रभावितहरूको उद्धारका लागि आह्वान गर्दै तत्कालका लागि आवश्यक खाद्यसामग्री र पानी वितरणको तयारी पनि गरिरहेको जानकारी दिनुभयो ।