नेपाललाई पहिले फिजीकरण गर्ने र त्यसपछि सिक्किमीकरण गर्ने गुरुयोजना अनुसार काम भइरहेको छ– यस्तो आवाज केही वर्षयता सडक र सदन दुवैतिरबाट सुनिंँदै आएको हो । बोल्ने यतैका पात्र हुन्, सुनाउने यिनै वरिपरिका सञ्चारमाध्यम हुन् । राष्ट्रियता सबै नेपालीको सरोकारको विषय भयो । नागरिकता स्वतः जोडिएर आउने पक्ष हुने गरेको छ ।
सिक्किम त नेपालको पूर्वी सिमानापारिकै ‘संरक्षित अधिराज्य’ थियो, जसलाई भारतमा इन्दिरा गान्धीको शासनकाल छँदा सन् १९७५ मा त्यसै देशको अङ्ग बनाइयो । त्यसपछि नै हो, छिमेकका नेपाल र भुटान असुरक्षित हुन थालेका ।
तर यसबिचमा सुदूर परको प्रशान्त महासागर र त्यसमा अवस्थित फिजी किन चर्चामा आयो ? नेपालसँग कसरी सान्दर्भिक मानियोस मानिँदै छ ? यस जिज्ञासाले कुत्कुती लगायो, र फिजीको छिमेकमा रहेको अस्ट्रेलिया आएका बखत समानता–असमानता नियाल्ने कोसिस गरेको छु । यस मुन्तिरका पङ्क्तिमा तिनै कुरा आउने छन् । नेपालबाट ११ हजार किलोमिटरभन्दा टाढाको हवाईदूरीमा रहेको टापु–राष्ट्र फिजीसित नेपालको के छ साइनो र के के छन्
समानता ? के महेन्द्र चौधरी नामक व्यक्ति कुनै बखत फिजीको प्रधानमन्त्री निर्वाचित भएको प्रसङ्ग नै नेपालका बासिन्दाहरूलाई झस्काउने दह्रो कारण हुन सक्छ ?
मानचित्रमा खोज्नेहरूले प्रशान्त महासागर आँखा लगाउँदा त्यस भेगमा दर्जनौँ साना–ठुला टापु देख्न सक्छन् । सन् १९७१ मा सङ्गठित ‘प्यासिफिक आइल्यान्डस् फोरम’ नामक संस्थामा अस्ट्रेलिया र न्युजिल्यान्डसमेत १८ वटा सदस्य–देश छन् । यस भेगका कुनै भू–भागलाई ‘सह प्रदेश’ भनिएको छ । कोही कुनै देश विशेषका अभिन्न अङ्ग रहेछन् । कुनै कुनै भू–भाग अझै पनि पहिलेका औपनिवेशिक शक्तिका (मुख्यतः अमेरिका र फ्रान्स) अधीनमा छन् ।
दक्षिणी प्रशान्तमा पर्ने फिजी भने सन् १९७० मा बेलायतबाट स्वतन्त्र भएको मुलुक हो, जसको स्वामित्वमा ३३० मसिना टापु छन् । तीमध्ये ११० जतिमा मानिसको बसोबास छ । अस्ट्रेलिया, न्युजिल्यान्ड, भानुआटु, टोङ्गा र पपुआ न्यु गिनी आदि फिजी वरिपरिका देश हुन् । ठुलो आकारको टापु हो अस्ट्रेलिया देश, जसले सिङ्गो महादेश ओगटेको छ र यसले छेउछाउका देशउपर आफ्नो आकार अनुपातको प्रभाव पार्दै आएको छ । फिजीबाट अस्ट्रेलिया करिब दुई हजार किलोमिटर टाढा छ ।
भौगोलिक अवस्थिति
पृष्ठभूमिमा नियाल्दा फिजी र नेपालबिच धेरै समानता देखिँदैनन् । माथि नै लेखियो, फिजी हाम्रो छिमेकी भारत जस्तै सयकडौँ वर्ष बेलायतको उपनिवेश थियो । अर्थात् सूर्यास्त नहुने साम्राज्यको अङ्ग थियो । गोराहरूको हुकुम, शासन चल्थ्यो । सन् १९७० मा स्वतन्त्र भएपछि पनि फिजी यो राष्ट्रमण्डल (कमनवेल्थ) भनिने समूहको सदस्य रह्यो, जसको नेतृत्व साबिकमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले गर्थिन् भने हाल राजा चाल्र्स तृतीयले गर्छन् । राष्ट्रमण्डलमा भारत पनि सदस्य छ ।
नेपालको इतिहास बेग्लै किसिमको छ, जसको व्याख्या यहाँ आवश्यक परेन । छोटोमा, उपनिवेश र राष्ट्रमण्डलका प्रसङ्गसँग नेपालको सरोकार छैन, भएन । फिजी र नेपालबिच कूटनीतिक सम्बन्ध छ– अस्ट्रेलियामा रहेको नेपाली दूतावासले फिजीसँग सम्बन्धित विषय हेर्दछ भने नयाँ दिल्लीस्थित फिजीको कूटनीतिक नियोगले नेपालसँग सम्बन्ध राख्छ । यो सामान्य प्रचलनभित्रको अभ्यास हो । त्यसै गरी, नेपालले जस्तै फिजीले पनि राष्ट्रसङ्घीय शान्तिसेनाका लागि सैनिक उपलब्ध गराउने गरेको छ । यसलाई समानताको अर्को बुँदा मानिदिए भयो ।
असमान पक्ष टड्कारा छन् । नेपाल भूपरिवेष्टित छ– दुईतिर ठुलो भूगोल ओगट्ने मुलुक छन् तर फिजी तटीय देश हो, जसको चारैतर्फ समुद्र छ । जताततै जलमार्ग उपलब्ध छ । अर्को, फिजीको जनसङ्ख्या १० लाखभन्दा कम छ, नेपालको झन्डै तीन करोड मानिन्छ । ‘खुला’ भनेर अव्यवस्थित राखिँदै आएको दक्षिणी सिमानाको कारण आप्रवासी समस्या नेपालका लागि चुनौतीको मामिला रहँदै आएको छ । फिजीलाई यस्तो चुनौती छैन । यो बहसको छुट्टै सन्दर्भ बन्न सक्छ ।
सन् २०२३ को मध्यतिर फिजीको जनसङ्ख्या नौ लाख ५० हजारको हाराहारी भएको आँकडा राष्ट्रसङ्घीय निकायले देखाउँछन् । यसमा, झन्डै ५७ प्रतिशत ‘इतौकी’ मातृभाषा भएका फिजीका रैथाने छन् भने पुग–नपुग ३८ प्रतिशत ‘इन्डो–फिजियन’ भनेर चिनिने भारतीय मूलका बासिन्दाहरू पर्दछन् । तिनले बोल्ने भाषालाई हिन्दुस्थानी (हिन्दी) भनेको पाइन्छ । औपचारिक लेखापढीको भाषा भने भारतमा झैँ फिजीमा पनि अङ्ग्रेजी नै छ । बहुसङ्ख्यक रैथाने इसाई छन् भने बहुसङ्ख्यक आप्रवासी हिन्दु समुदायका छन् । मुस्लिमलगायत अन्य अल्पसङ्ख्यक समुदायहरूको पनि फिजीमा बसोबास छ ।
फिजीको राजनीतिमा ‘इण्डो फिजियन’ भनिने समुदायको सबल सहभागिता देखिन्छ र सन् १९८७ मा सैनिक विद्रोह ‘कु’ द्वारा तख्तापलट भएपछि मुख्य आप्रवासी भनिने समुदाय र रैथाने फिजीवासीबिच राजनीतिक तहमा असमझदारी बढेको हो । चुनावबाट विजयी भई प्रधानमन्त्री बनेका टिमोची बाभद्रालाई कर्णेल सिटिवेनी राबुकाको सैनिक जत्थाले अपदस्थ गरिदियो । त्यस बखत भारतका प्रधानमन्त्री राजीव गान्धीको सरकारले कडा शब्दमा विरोध जनाएको थियो । हजारौँ किलोमिटर टाढाको दिल्लीले कूटनीतिक अप्रसन्नता जनाउनुबाहेक अरूथोक के पो गर्न सक्थ्यो र ? सन् १९९० मा भारतका दूतावास र सांस्कृतिक केन्द्र बन्द भए । नौ वर्षपछि खुले । सन् १९९९ को चुनावले फिजी लेबर पार्टीका नेता महेन्द्र पाल चौधरीलाई विजयी गराई प्रधानमन्त्री बनायो तर एक महिनामै जर्ज स्पाइट भन्ने व्यापारीले राजनीतिमा पसेर सशस्त्र गिरोहको बलमा चौधरीलाई अपदस्थ गरिदियो । ५६ दिन थुनामा समेत राख्यो ।
सन् २००६ मा सेनाकै अर्को अफिसर फ्र्याङ्क बैनिमारामाले स्पाइटलाई धपाइदियो । पछि ऊ चुनावी राजनीतिमा प्रवेश ग-यो । घटनाक्रमले देखाउँछ, सत्ताको छिनाझप्टीका मामिलामा रैथाने कहलिने नै सामेल रहिआएका छन् । दोष अरूलाई दिने गरेको देखिन्छ । अब कालक्रममा फिजी फेरि लयमा फर्किंदै छ । समझदारी र सामञ्जस्य बढे अनुरूप राजनीतिक तहमा प्रतिस्पर्धा हुँदाहुँदै पनि मिलीजुली अघि बढ्ने संस्कृतिको विकास भएको छ । सात महिनाअघि (डिसेम्बर २०२२) चुनावी प्रक्रियाबाट उही सन् १९८७ मा ‘कु’ गर्ने व्यक्ति राबुकाको नेतृत्वमा तीन–दलीय गठबन्धन सरकार बनेको छ, जसमा प्रधानमन्त्री राबुका छन् भने प्रोफेसर बिमान प्रसाद उप–प्रधानमन्त्री छन्, जसले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । जनस्तरमा उस्तो तनाउ देखिँदैन ।
ऐतिहासिक स्थिति
नेपालमा ‘फिजीकरण’ को चर्चा चलाउनेले इतिहाससम्मत तथ्य बुझ्नु आवश्यक देख्दछु । अहिले नेपालमा एकथरी मानिसले फिजीको प्रसङ्गमा जसलाई ‘भारतीय मूलका’ भन्ने गर्छन् ती सन् १९४७ मा स्वतन्त्र भारत अस्तित्वमा आएपछि फिजी प्रवेश गरेका मानिस नै होइनन् । अङ्ग्रेजको उपनिवेशकालमा अङ्ग्रेज शासकहरूले फिजीमा उखुखेतमा काम गर्ने मजदुरको अभाव हटाउन आफ्नै अर्को उपनिवेशबाट ओसारिएका मानिस हुन् । सन् १८७९ देखि १९१६ सम्मको अवधिमा करिब ६० हजार मानिस (मुख्यतः पुरुष) फिजी पु¥याइयो । पाँच वर्षमा फर्किन पाउने आश्वासनका साथ करार गराई ल्याइएको थियो । यस क्रममा अङ्ग्रेजी लवज ‘एग्रमेन्ट’ अपभ्रंश भयो ‘गिरमिट’ मा र त्यसरी फिजी पुगेका मानिस ‘गिरमिटिया’ हुन गए । सन् १९२० मा गिरमिटको प्रचलन रोकियो तर यताका यतै परे, समय बित्दै गएपछि यतै घरजम गरी यतैका भए । तिनकै पुस्ता परिवर्तन हुँदै आजको अवस्थामा आएका हुन् । ती फिजीका नागरिक हुन् । तिनको तुलना भारत स्वतन्त्र भएपछि (वा सन् १९५० को सन्धिपछि) नेपाल प्रवेश गरेका र गराइएका भारतीयसँग गर्न पटक्कै मिल्दैन । अर्को शब्दमा, फिजीका ‘इन्डो–फिजियन’ पण्डित नेहरू वा उनीपछिका नरेन्द्र मोदीसम्मका प्रधानमन्त्रीको योजना वा प्रोत्साहनबाट फिजी आएर बसोबास गरेका होइनन् । यति कुरो प्रस्ट छ । ‘फिजीकरण’को शब्दावलीमा अभ्यस्त हुनेहरूले बुझ्नै पर्छ । महेन्द्र चौधरी गिरमिटियाकै सन्तति रहेछन्, जसको जन्म फिजीमै सन् १९४२ मा भएको रहेछ । अर्थात् उनी जन्मेको पाँच वर्षपछि ‘स्वतन्त्र भारत’ जन्मेको हो ।
हो, जो गिरमिटिया भएर फिजी आए तिनले आफ्नो संस्कार, भाषा, संस्कृति सँगसँगै ल्याए । त्यसको प्रभाव आजको फिजीको समाजमा देखापर्नु स्वाभाविक भयो । फिजीमा दीपावली (दिवाली) मनाइनु र त्यस प्रकारका पर्वमा सार्वजनिक बिदा दिइनु पनि तार्किक परिणति हुन् । राजधानी सुवाका सडक डबलीमा देखिएका झिलीमिलीका दृश्य र पड्केका पटाकाका आवाजको सम्झना साबिकका नेपाली राजदूत रुद्रकुमार नेपालसँग आज पनि ताजा छ । उहाँसँग अस्ट्रेलियामा आवासीय राजदूत छँदा (सन् २०१२–१६) फिजीका लागि गैर–आवासीय राजदूतको हैसियतमा ओहोदाको प्रमाणपत्र पेस गर्न जाँदाका अनेक अनुभव छन् । ‘मठ, मन्दिरहरू त यत्रतत्र भेटिने ।’
माटोको माया
फिजीमा नेपाली पनि छन् । यसबारे मैले पहिलो पटक विपिनदेव ढुङ्गेलको कुनै लेखमा पढेको थिएँ । बिसौँ वर्षअघिको कुरो हो, त्यस बखत इन्टरनेटमा आधारित आजभोलिको जस्तो सञ्चार सुविधा थिएन । सीमित जानकारीको आधारमा ‘फिजीमा नेपाली मूलका मानिस छन् पनि छन् अरे’ भन्नु परेको थियो । अहिले स्थितिमा सुधार छ तैपनि जानकारी घनीभूत छैन । विगत एक दशकयता फिजी गएर त्यहाँका बासिन्दामध्ये नेपाली चिनारीमा रम्ने, रमाउनेबारे थप जानकारी दिने काम भएको छ अस्ट्रेलियाबाट पटक–पटक फिजी भ्रमण गर्ने भीमसेन सापकोटा (योग प्रशिक्षक आचार्य राजन शर्मा) बाट । जस्तो : नेपालसँग सामीप्य राख्ने मानिसहरू प्रायः फिजीको ग्रामीण इलाकामा बसोबास गर्दछन् र तिनको सङ्ख्या १२/१३ हजार हुनु पर्छ । तिनलाई ‘नेपाल’ नाम नै अति प्यारो छ । सापकोटालाई ‘अर्को चोटि नेपालबाट आउँदा त्यहाँको अलिकति माटो ल्याइदिनोस न’ भन्नेहरू पनि छन् । समयको अन्तरालमा तिनीहरू ‘इन्डो–फिजियन’ समूहभन्दा खास भिन्न देखिन छोडेका छन् । त्यसो नहोस् पनि कसरी ? आखिर तिनीहरूको फिजी आगमन पनि गिरमिटियाको हुलमालमा परेर उसै बखत भएको थियो । गोरखपुरको नजिक पर्ने नेपालका पाल्पा, गुल्मी, अर्घाखाँची जस्ता जिल्लाका मानिस पनि पानीजहाजमा चढेर देश–देशावर हेर्दै केही समय फिजीको उखुखेतीमा सामेल भई घर फर्किने आकर्षणमा परेर यता लागेका थिए । लागेको लाग्यै भए, तिनका सन्तति स्वतः फिजीका बासिन्दा हुन पुगे ।
मुख्य कुरो
नेपालमा सिक्किमीकरणसँग मिसाएर प्रयोग गर्ने गरिएको शब्द ‘फिजीकरण’ पूरै असान्दर्भिक छ । निरर्थक छ, कुरा नबुझी बोल्नु र सुन्निएर मोटाउनु एकै हो भन्ने आहान चरितार्थ गर्नुसरह हुन जान्छ । तसर्थ यो काम नगरौँ । सिक्किमीकरण के हो त्यो त घामजस्तै छर्लङ्ग विषय छ । आफैँमा ज्वलन्त उदाहरण हो । जे कुरो प्रत्यक्ष छ, त्यसलाई के छुट्टै प्रमाण चाहिन्छ र ।
लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।