• १२ असार २०८१, बुधबार

रोल्पा बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

blog

रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा परेको बस ।

लीलाधर वली

घोराही, साउन २३ गते । रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा तीन जना पुरुष र एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले जानकारी दिनुभएको छ । उहाँका अनुसार दुर्घटनामा १९ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका-४ निवासी ५० वर्षीय हस्ता डाँगी, सोही वडा निवासी ५१ वर्षीय गोर्खे डाँगी, माडी गाउँपालिका-२ निवासी २२ वर्षीय प्रकाश बाठामगर र परिवर्तन गाउँपालिका निवासी ४६ वर्षीय भक्तबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक सारू मगरले जानकारी दिनुभएको छ । उहाँका अनुसार चारै जनाको घट्नास्थलमै मृत्यु भएको थियो । 

घाइते भएका १९ जनामध्ये रोल्पा नगरपालिका-६ दार्बोट निवासी २५ वर्षीय कमानसिंह घर्ती, माडी गाउँपालिका-२ निवासी २० वर्षीय जितेश बाँठा र त्रिवेणी गाउँपालिका–२ निवासी १७ वर्षीया पूर्णिमा बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी नायव उपरीक्षक सारू मगरका अनुसार दुर्घटनामा रोल्पा माडी गाउँपालिका-६ निवासी १४ वर्षीय नवीन बुढा, त्रिवेणी गाउँपालिका–७ निवासी ६२ वर्षीय कमानसिंह सुनार, माडी गाउँपालिका–४ निवासी ९ वर्षीय मिलन डाँगी, माडी गाउँपालिका-६ निवासी १५ वर्षीय मुकेश पुन, माडी गाउँपालिका-२ निवासी २३ वर्षीय हिमानी घर्ती, उहाँका छोरा ११ महिनाका ओल्सन घर्ती, माडी गाउँपालिका-४ निवासी २२ वर्षीय कविता खड्का, पाँच वर्षीय छोरा युस खड्का, सोही ठाउँ निवासी २६ वर्षीय मिना डाँगी, माडी गाउँपालिका-२ निवासी २८ वर्षीय तिरपना बाठामगर छन् । 

त्यसैगरी, रोल्पा परिवर्तन गाउँपालिका-३ निवासी २४ वर्षीय खुम्बु बुढा, त्रिवेणी गाउँपालिका-२ निवासी १३ वर्षीय सुस्मिता बुढा, माडी गाउँपालिका–२ निवासी ४० वर्षीय सिर्जना घर्ती, सोही ठाउँ निवासी २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका–६ दारबोट निवासी २४ वर्षीय इन्दकुमार घर्ती र घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी २४ वर्षीय हुमराज बस्नेत छन् । 

घाइतेहरूको टाउको, हात, खुट्टालगायतका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रमुख सारू मगरले भन्नुभयो, “दुर्घटनामा गम्भीर घाइतेहरूलाई थप उपचारकालागि घोराही पठाएका छौँ । अन्यको रोल्पाको रेउघास्थीत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।”

पानी परेर चिप्लो भएको सडकमा बस अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । बस शहीदमार्गअन्तर्गत रिचीको घुम्तीबाट करिब सय मिटर तह खसेको थियो । 

यो पनि पढ्नुहोस

रोल्पा बस दुर्घटना अपडेट : चार जनाको मृत्यु, १५ घाइते