• १२ मंसिर २०८१, बुधबार

पार्टी निर्माणका आधार

blog

कारणका आधारमा परिणामको व्याख्या गर्ने कि परिणाम अघि सारेर कारणलाई पुष्टि गर्ने भन्ने विवाद पुस्तौनी हो । खास गरी अध्यात्मवादले कारणलाई प्राथमिकतामा राखेर परिणामको व्याख्या गर्न खोज्यो । कारणमा वैज्ञानिकताको अभावमा त्यसले फस्टाउनै पाएन । आरम्भमा नै त्यो शङ्काको घेरामा प-यो र सिद्धियो । भौतिकवादले भने परिणामका आधारमा कारणलाई पुष्टि गर्ने कोसिस ग-यो । कैयौँ वैज्ञानिक अनुसन्धान परिणामका आधारमा कारणलाई पुष्टि गर्ने प्रयत्न गरेका कारणले ती निष्कर्ष विश्वसनीय बन्न पुगे । त्यसैमध्येको एक हो माक्र्सवाद । समाज विज्ञानमा उत्कृष्ट विज्ञान ठहरिएको माक्र्सवादले आफैँलाई पुष्टि गर्न तथ्यहरूको र तर्कहरूको साहारा लियो । जो सही थिए । त्यसैले तिनीहरू आज पर्यन्त कालजयी छन् । विश्वमा सङ्कट आउँदा माक्र्सवादको खोजी हुन्छ । जब जब पश्चिमा मुलुक पुँजीवादमा आर्थिक सङ्कट आउँछ, तब तब माक्र्सवाद अध्ययन गर्छन् । माक्र्सवादको आफैँलाई पुष्टि गर्ने तरिका बोधगम्य र सरल छ । माक्र्सवाद यस्तो विज्ञान हो, जसले कारणलाई भन्दा परिणाम देखाएर माक्र्सवादको वैज्ञानिकता पुष्टि गर्ने कोसिस ग-यो । माक्र्सवादीको दाबा यस प्रकार छः

सामान्यतया पुँजीवादमा निहित दुई प्रमुख त्रुटि छन्, मालिकहरूले श्रमिकको शोषणको नेतृत्व गर्दछन् यसै गरी खुला बजारले अतिरिक्त श्रमको निकासी गर्ने र बजार प्रतिस्पर्धाको अराजक प्रवृत्तिको पराकाष्टमा पु-याउँछ । यिनै दुई कारणका आधारमा माक्र्सले भविष्यवाणी गरे कि पुँजीवादले अन्ततः आफैँलाई नष्ट गर्ने छ किनकि धेरै मानिस श्रमिक वर्गको स्थितिमा फर्कने छन्, असमानता बढ्ने छ र प्रतिस्पर्धाले मालिकको नाफामा बढोत्तरी ल्याउने छ । यसले समाजलाई अनिवार्यतः क्रान्तिको दिशामा डो-याउने छ, क्रान्तिको परिणामले सम्पूर्ण उत्पादनका साधनलाई नै मजदुर वर्गमा सुम्पिने छ ।

भर्खरै नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न ग-यो । उक्त बैठकको सार भनेकै नेपाली कांग्रेसलाई बिपीको कांग्रेस जस्तो कसरी बनाउने । अर्थात् नयाँ ढङ्गको पार्टी कसरी निर्माण गर्ने भन्ने नै मुख्य चिन्ताको विषय थियो । नेकपा एमाले अहिले निकै ठुलो तामझामका बावजुद पनि पार्टी सदस्यता नवीकरण ह्वात्तै घटेका कारण ऊ पनि आजको आवश्यकताको पार्टी निर्माण कसरी गर्ने भन्ने चिन्तामा छ । जारी माओवादीको केन्द्रीय समितिको बैठकको चिन्ता पनि त्योभन्दा भिन्न छैन । जनयुद्ध हाँक्दाको जस्तो फलामे अनुशासन भएको पार्टी कसरी निर्माण गर्ने । २०६४ को निर्वाचनको परिणाम हासिल गर्ने पार्टी कसरी निर्माण गर्ने भन्ने नै उसको चिन्ताको विषय बनेको छ । नयाँ आएका पार्टीहरूले चुनौती खडा गरिदिएका छन् । नयाँ ढङ्गको पार्टी निर्माणको बहसमा होमिन बाध्य छन् । 

संसद्वादी राजनीतिमा विश्वास गर्ने पार्टीहरूका लागि चुनाव जित्ने पार्टी भए पुगेको छ । त्यस्तै पार्टी पनि कसरी निर्माण गर्ने उनीहरूको चिन्ताको विषय हो । क्रान्तिकारी छवि बनाएको माओवादीका लागि चुनाव जित्ने, जनयुद्धको जस्तो फलामे अुनशासन पनि भएको र समाजवादी क्रान्ति गर्न सक्नेसमेत गरी तीनैथरी विशेषता भएको पार्टी कसरी निर्माण गर्ने भन्ने चिन्ता प्रमुख बन्न पुगेको छ । पार्टी निर्माणका परम्परागत आधार अब काम लाग्दैनन् भन्ने पुष्टि भइसकेको छ । समाज बदलिएको छ । बदलिएको नेपाली जनताको मनोविज्ञान बुझ्ने र सोको प्रतिनिधित्व गर्न सक्ने पार्टी निर्माण आजको आवश्यकता हो । 

जारी बैठकमा धेरैको चिन्ता पार्टी कस्तो बनाउने भन्ने आयो । मेरो चिन्ता पार्टी राम्रो बनाउने आधारको खोजी गरौँ भन्ने छ । पार्टी आजको दुनियाँको मनोविज्ञानको प्रतिनिधित्व गर्ने खालको बनाउने हो भने आजको दुनियाँको मनोविज्ञान बुझ्न जरुरी छ । आजको मनोविज्ञान बुझ्न आजको समाज बुझ्न जरुरी छ । आजको दुनियाँ सूचना र प्रविधिमा अभूतपूर्व विकास गरेको दुनियाँ हो । यसका साथै आर्टिफिसियल इन्टेलिजेन्ट, कृत्रिम बौद्धिकताको दुनियाँ पनि हो । अब मानिसले गर्ने काम रोवोटले र कृत्रिम बौद्धिकले गर्ने भएको छ ।

आजको बदलिएको दुनियाँ भनेको नेपाली धर्तीमा जनयुद्ध आरम्भ गरेको झन्डै २८ औँ वर्षमा छ, शान्तिप्रक्रिया आरम्भ गरेको १८ औँ वर्षमा छ । जनयुद्ध ऐतिहासिक परिघटना हो । त्यो न भुतो न भविष्यतिभन्दा पनि हुन्छ । त्यसैले त्यसप्रति गर्व गर्ने त्यसको सम्मान गर्ने त्यसका अनुभवलाई संश्लेषण गर्ने सबै गरौँ तर हिजो हामीले युद्ध लडेका थियौँ भन्ने कुरा आजको पुस्तालाई या त थाहा छैन या त थाहा भएर पनि सुन्न चाहन्न । त्यसैले अब त्यो भाष्य छोडौ भने पनि नभने पनि त्यो यथार्थ हो । म यो किन पनि भनिराखेको छु भने पार्टीभित्रको संरचना हेर्ने हो भने जनयुद्ध लडेकाहरू अल्पमतमा छन् । त्यसैले त्यो भाष्य पार्टीभित्रै अल्पमतमा परिसकेको कुरा हेक्का राखौँ । त्यही भाष्यले पार्टी निर्माण हुँदैन ।

जनयुद्ध लडेको कथा वाचन गर्न छाड्ने भनेको त्यसका उपलब्धिलाई बेवास्ता गर्ने भनेको होइन । बरु जनयुद्धका उपलब्धिलाई एक एक पहिचान गरौँ  तिनको चर्चा गरौँ । जनयुद्धको चर्चा गरेर उपलब्धिको समीक्षा होइन चर्चा गरेर यो उपलब्धि कसरी आयो भन्ने पृष्ठभूमिमा जनयुद्धको चर्चा गरौँ । अहिलेको अवस्थाको चर्चा गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशिता धर्मनिरपेक्षता वर्गीय जातीय लिङ्गीय क्षेत्रीय उत्पीडनको अन्त, भ्रष्टाचार, कुशासन र शोषण दमनको अन्तको अभियानको आधार भनेको जनयुद्ध थियो भनियो भने परिणामले आकर्षित गर्ने जनयुद्ध पाच्य हुने छ । अन्यथा जनयुद्ध भन्ने शब्दको आरम्भ गर्नासाथ नकारात्मक भाष्य सत्र हजार बनाउने कोसिस गरिएको छ । त्यही त्याग बलिदान र समर्पणका जगमा प्राप्त उपलब्धि न्यूनीकरण गर्ने प्रयास भइरहेको छ । त्यसतर्फ जनयुद्ध लड्नेहरूको मात्र होइन, जनयुद्धका उपलब्धि भोग गर्ने सबैको विशेष ध्यान जान जरुरी छ । 

यो उपलब्धिको पृष्ठभूमि के हो ? जनयुद्ध । जनयुद्धले के ल्यायो ? युद्धलाई शान्तिमा बदल्यो । आर्थिक सामाजिक रूपान्तरणसहितको राज्यको अग्रगामी पुनर्संरचना गर्ने कोसिस ग-यो । युद्धका कारणका रूपमा रहेका भ्रष्टाचार, कुशासन, असमानता विभेद अत्याचार र अव्यवस्थाका विरुद्ध विद्रोह गर्न सिकायो । वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय समस्याको समाधान गर्ने उद्देश्यका साथ संविधान सभाको चुनाव गरायो । संविधान सभामार्फत नयाँ संविधान बनायो । नयाँ संविधानले के ल्यायो ? भन्ने प्रश्नको जवाफमा राजतन्त्र फालेर गणतन्त्र, एकात्मकता फालेर सङ्घीयता, हिन्दु अधिराज्यका सट्टामा धर्म निरपेक्षता, एकल जातीय वर्चस्वका विरुद्धमा समानुपातिक समावेशी राज्यको स्थापना जस्ता महत्वपूर्ण उपलब्धिको चर्चा एकै श्वासमा गर्न सकिन्छ । 

यसरी प्राप्त भएको नयाँ संविधानले समाजवादी आधार तयार गर्ने अवसर दिएको छ । महिलालाई एक तिहाई प्रतिनिधित्वको अवसर छ । सबै वर्ग जाति क्षेत्र लिङ्गको समानुपातिक प्रतिनिधित्वको अवसर दिलाएको छ । ३१ वटा मौलिक हकको व्यवस्था गरेको छ, जसमा दलित, महिला, बालबालिका, ज्येष्ठ नागरिक र संवैधानिक उपचारको हकसमेत समावेश छन् । 

संवैधानिक आयोगहरू एक दर्जन बनेका छन् । महिला, दलित, समावेशी, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम गरी छ वटा आयोग त नयाँ आयोग थपिएका हुन् । एक दर्जन संवैधानिक आयोगमा प्रत्येकमा अध्यक्षसहित पाँच सदस्यका दरले ६० जना संवैधानिक पदाधिकारी नियुक्त हुने अवसर नयाँ संविधानले दियो । त्यो नयाँ संविधान जनयुद्धको उपहार थियो भन्न किन नसक्ने ?

राष्ट्रपति र उपराष्ट्रपति, सभामुख उपसभामुख, प्रमुख उपप्रमुखमा एक जना महिला, सङ्घीय संसद्मा एक तिहाई महिला, स्थानीय तहमा ४० प्रतिशत महिला सुनिश्चित गर्ने काम यही जनयुद्धको जगमा बनेको नयाँ संविधानले दिएको हो । 

पहिलो राष्ट्रपति, जसले राजालाई विस्थापन गरे । राष्ट्रपति चुनिएपछि बधाई दिन जाँदा उनले भने यो माओवादीका कारणले भयो । हरेक समानुपातिक सांसदलाई सोध्नुभयो भने यो माओवादीका कारणले सांसद हुन पाइयो नत्र हाम्रा पार्टीले हामीलाई के सांसद बनाउथ्यो भन्ने कुरा आज पनि सुन्न पाइन्छ । हरेक महिला, जनजाति र दलित मधेशी समुदायका मानिस भन्छन् । दोस्रो दर्जाको नागरिक भनिने महिला शासक भएका छन् । अछुत भन्दै मान्छेमा गणना गर्न नगरिने दलितको समुचित प्रतिनिधित्व भएको छ । यस खाले गर्वानुभूति  सबैमा भएको छ । यो परिणाम ल्याउने माध्यम जनयुद्ध थियो । त्यसको साधन माओवादी पार्टी थियो । यसो भन्न सक्दा पार्टी निर्माणको आधार स्वतः बन्ने देखिन्छ । 

माओवादीले गरेको गल्ती भनेको पहिलो संविधान सभाबाट बन्दै गरेको संविधान रद्दीको टोकरीमा मिल्काएर पार्टी विभाजन र संविधान सभा विघटनको आधार तयार पार्ने काम नै थियो । दोस्रो संविधान सभामा आफैँ खुम्चिएर आएपछि आफूले खोजे जस्तो संविधान बन्ने कुरा थिएन तर जे बन्यो त्यसको स्वामित्व लिन कन्जुस्याइँ ग-यो । त्यो अझै पनि कायम छ । त्यो गल्ती निरन्तर दोहो-याएको छ । त्यसलाई त्याग्न पर्छ । बनेको संविधानको स्वामित्व लिने र संविधान निर्माण गर्दाका वखत राखेको ५७ बुँदे भिन्न मतलाई पार्टी निर्माणको आधार बनाउने यति मात्रै गर्न सके पार्टी बन्छ । नयाँ संविधानले समाजवादी क्रान्तिको आधार दिएको छ । त्यसैको जगमा नयाँ समाजवादी क्रान्ति गर्न कसैलाई पनि संविधानले छेक्दैन । हिजोका गल्ती सच्याउने संविधानले निर्धारण गरेको समाजवादी क्रान्तिको नायक बन्ने सिद्धान्तवादी र आजको वास्तविकतालाई स्वीकार गरेर अघि बढ्ने व्यवहारवादी हुनु नै पार्टी निर्माणका आधार हुन् । 

  

Author

खिमलाल देवकोटा