• १९ असार २०८१, बुधबार

फैलियो आँखा पाक्ने रोग अस्पतालमा बिरामीको चाप

blog

रजनी योगी

सुर्खेत, साउन २० गते । सुर्खेतका बालबालिकामा आँखा पाक्ने रोग फैलिएको छ। विद्यार्थीमा यो रोगको सङ्क्रमण बढी देखिएको छ। अमरज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाका अनुसार विद्यार्थीमा सङ्क्रमण बढ्न थालेपछि विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको छ। विद्यार्थी, शिक्षक र कर्मचारीसमेत आँखा पाक्ने रोगबाट सङ्क्रमित हुँदा विद्यालय सञ्चालनमा समस्या आएको छ। 

उहाँका अनुसार रोगको लक्षण देखिने बित्तिकै बालबालिकालाई घर पठाउने गरिएको छ। दैनिक लक्षण देखिएका ५०/६० बालबालिका घर फर्कन्छन्। श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामका विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेको छ। प्रधानाध्यापक लोकबहादुर खत्रीले आँखा पाक्ने रोगबाट विद्यार्थी र शिक्षकसमेत सङ्क्रमित भएकाले पठनपाठनमा असहज भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक करिब ७० जना बालबालिका अनुपस्थित हुने गरेका छन्। लक्षण देखिएका ५०/६० जनाको हाराहारीमा विद्यार्थी विद्यालयबाट घर फर्किने गरेका छन्। विद्यार्थीमा आँखाबाट आँसु बग्ने, आँखा रातो हुने जस्ता लक्षण देखिने गरेको छ। विद्यालयमा विद्यार्थीको सङ्ख्या पातलिँदै गएको छ।

एनप्याब्सन वीरेन्द्रनगर नगरपालिकाका अध्यक्ष ध्रुवसिंह ठकुरीले विद्यालयमा आँखा पाक्ने रोग प्रकोपका रूपमा फैलिँदा पठनपाठनमा समस्या भइरहेको बताउनुभयो। उहाँका अनुसार विद्यालयलाई सावधानी अपनाउन आग्रह गरिएको। सङ्क्रमित बालबालिकालाई घरमै आराम गर्न लगाउने, साबुनपानीले हात धुने, चस्माको प्रयोग गर्नेलगायतका सावधानी अपनाएर पठनपाठन गरिएको छ। आँखा पाक्ने रोग छिटै नियन्त्रणमा नआएको अवस्थामा विद्यालय बन्द गर्नुपर्ने अवस्था आउने छ। उहाँले भन्नुभयो, “विद्यालयमा दैनिक एक सय विद्यार्थी अनुपस्थित हुने गरेका छन्। कतिपय विद्यालयले केही दिन पठनपाठन रोक्न पनि माग गरेका छन्। त्यस विषयमा नगरपालिकासँग छलफल गर्छौं।”

प्याब्सन वीरेन्द्रनगरका अध्यक्ष होमलाल भट्टराईले सङ्क्रमण धेरै फैलिएकाले विद्यालय बन्द गर्नुपर्ने विषयमा नगरपालिकासँग छलफल भइरहेको बताउनुभयो। विद्यार्थी र शिक्षक यो रोगबाट सङ्क्रमित हुने क्रम बढेकाले सावधानी अपनाएर पठनपाठन सञ्चालन गर्न विद्यालयलाई भनिएको छ।  

आँखा अस्पतालमा बिरामीको चाप

अस्पतालमा आँखा पाकेका बिरामीको भिड बढेको छ। सुर्खेत आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या पछिल्लो समय अत्यधिक रहेको छ। एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित पाइएका छन्। अस्पतालकी नेत्र रोग विशेषज्ञ डा. मञ्जु पन्तले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताउनुभयो। अस्पताल आएका बिरामीमध्ये ८० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको छ। डा. पन्तले एक व्यक्तिबाट धेरैमा यो रोग सर्ने गरेको जानकारी दिनुभयो।

सङ्क्रमणको सुरुवातमा आँखा बिझाउने र चिलाउने समस्या देखा पर्छ। उहाँका अनुसार “सिजनल भाइरल इन्फेक्सन भाइरल कन्जङ्क्टिभाइटिसका कारण आँखामा कचेरा आउने, आँसु बगिरहने, घाममा हेर्न गाह्रो हुने जस्ता लक्षण देखा परेका छन्।”