अविनाश चौधरी
धनगढी, जेठ १ गते । कैलालीको धनगढीमा सडक कुकुर राख्नका लागि आश्रय स्थल सञ्चालनमा ल्याइएको छ । धनगढी उपमहानगरपालिका –५ का वडाध्यक्ष गजेन्द्र शाहीले आफ्नो वडामा सडक कुकुरका लागि आश्रय स्थल सञ्चालमा ल्याउनुभएको हो ।
उहाँले आफ्नो विहेको खर्च कटाएर सडक कुकुरका लागि आश्रय स्थल निर्माण गरेको बताउनुभयो । “कुकुरलाई पनि बाँच्न पाउने अधिकार छ” शाहीले भन्नुभयो, “हामीले कुकुरलाई माया गरेमा, राम्रो स्याहार गरेमा कहिल्यै बौलाउने छैनन् ।”
वडाध्यक्ष शाहीले आश्रयस्थलमा रहेको कुकुरलाई मानिसहरूले आफ्नो जन्मदिन वा अन्य शुभ अवसरको बेला खाना दिन सक्ने बताउनुभयो । कुकुरलाई खाना र पानी राख्नका लागि पनि व्यवस्था गरिएको छ ।
मनकारी व्यक्तिको रूपमा परिचित शाहीले कोरोना महामारीको क्रममा भारतबाट फर्केकाहरूलाई निःशुल्क खाना खुवाउने अभियान चलाउनु भएको थियो । यसैगरी, उहाँले धनगढीमा कपडा बैँकसमेत सञ्चालन गर्नुभएको थियो ।