गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १ गते । कवि सूर्यप्रसाद लाकोजूका कविताहरूको गहन विश्लेषण समेटिएको समालोचनात्मक कृति ‘सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण’ को लोकार्पण भएको छ ।
समालोचक श्रीहरि फुयाँलद्वारा लिखित कृतिको लोकार्पणमा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. कुमार कोइराला, डा. तुलसी भट्टराई, प्रा.डा. शैलेन्दु प्रकाश नेपाल, डा. तुलसी गौतमलगायतको उपस्थिति रहेको थियो ।
प्रा.डा. भट्टराईले लाकोजूको कवि व्यक्त्विको लोकप्रियतालाई उल्लेख गर्दै कृतिको प्रकाशनलाई सान्दर्भिक भएको बताउनुभयो । साहित्यकार युवराज मैनालीले फुयाँललाई बहुमुखी प्रतिभाका धनी तथा सफल समालोचकको रूपमा चित्रण गर्नुभएको थियो ।
लेखक फुयाँलले लाकोजूका कविताहरूको उच्चकोटीका र स्तरीय भएकै कारण यस पुस्तकको निर्माण भएको बताउनुभयो ।