• ९ पुस २०८२, बुधबार

ललितपुर मेयर कप ब्याडमिन्टन यसै महिना

blog

काठमाडौँ, पुस ९ गते । ललितपुर ब्याडमिन्टन सङ्घ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस २२ गतेबाट हुने भएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगिता ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा हुनेछ । 

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, शीर्ष २० वरीयता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ वर्षमाथिको मास्टर युगल खुला गरी ६ विधामा करिब चार सय खेलाडीले प्रतिस्पर्धा गर्ने सङ्घ सचिव रदीप महर्जनले जानकारी दिनुभयो । 

प्रतियोगितामा पुरुष एकल, महिला एकल र पुरुष युगलतर्फ शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

यस्तै यु–१७ पुरुष तथा महिलातर्फ शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र पाँच हजार तथा मास्टर युगलतर्फ शीर्ष तीनमा रहनेले क्रमशः ३० हजार, १५ हजार र ७५ सय रुपियाँसहित पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ३२ लाख २० हजार पाँच सय रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।