• १ जेठ २०८२, बिहिबार

तस्बिर प्रदर्शनीमा गोरखाको उत्तरी भेग बारपाक

blog

फोटो प्रदर्शनीको अवलोकन गर्नुहुँदै नेपाली काग्रेसका महामन्त्री गगन थापा । तस्बिर: केशब गुरुङ ।

काठमाडौँ, जेठ १ गते । विसं. २०७२ को भूकम्पको क्षतिबाट पुनर्निर्माण गरिएको गोरखाको उत्तरी भेग बारपाकको फोटो प्रदर्शनी आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा उक्त प्रदर्शनी बिहीबारबाट सुरु भएको छ ।

फोटो पत्रकार प्रकाशचन्द्र तिमल्सेनाले खिचेको बारपाकको फोटो प्रदर्शनी आयोजना गरिएको हो । गोरखा भूकम्पको १० वर्षपछिको स्मृति दिवसका अवसरमा फोटो प्रदर्शनी गरेको फोटो पत्रकार तिमल्सेनाले जानकारी दिनुभयो । यो प्रदर्शनीले बारपाकको पुनर्निर्माण र पुनर्जीवनको यात्रालाई प्रभावशाली फोटोहरूको माध्यमबाट चित्रण गर्ने आशा गरिएको छ । साथै प्रदर्शनीले बारपाकलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न मद्दत गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ ।

दस वर्षअघि, ७.६ रेक्टर स्केलको भूकम्पले नेपाललाई तहसनहस बनाएको थियो । करिब नौ हजार नेपालीले ज्यान गुमाए भने २२ हजारभन्दा बढी घाइते भए ।  धेरै नेपाली विस्थापित हुनुका साथै भौतिक संरचना, विकास परियोजनाहरू र सडकहरू ध्वस्त भएको थियो ।

उक्त भूकम्पमा परी गोेरखाको बारपाकमा ७२ जनाले ज्यान गुमानुका साथै संरचना पूर्णरुपमा ध्वस्त भएको थियो । हाल पुनर्निर्माण पूरा भए पनि, निर्माण भएका घर ढुङ्गाबाट बनेका छैन, जुन ढुङ्गाबाट बनेका घर बारपाकको मौलिक पहिचान पनि रहेको थिए । नयाँ बनेका घर सिमेन्ट तथा जस्तापाताबाटनिर्माण गरिएको छ ।

प्रदर्शनीमा फोटो पत्रकार तिमल्सेनाले खिचेको ६० तस्बिर राखिएको छ । बिहीबारदेखि सुरु भएको प्रदर्शनी जेठ ३ गतेसम्म चल्ने छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।