• १ जेठ २०८२, बिहिबार

पर्यटक लोभ्याउँदै रुप्से झरना

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना । तस्बिरः प्रदीप पन्त

प्रदीप पन्त

बागलुङ, जेठ १ गते । म्याग्दीको रुप्से झरना पर्यटकीय गन्तव्य बनेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको झरना अवलोकनका लागि देश विदेशबाट पर्यटकहरू दैनिक सयौंको सङ्ख्यामा झर्नाको अवलोकनका लागि पुग्ने गरेका छन् ।

शान्त मनोरम वातावरणसहित धौलागिरि र निलगिरि हिमाल समेत अवलोकन गर्न सकिने भएपछि पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् । मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने क्रममा म्याग्दीको रुप्से झरनाले आर्कषित गरेको सुभाष शर्माले बताउनुभयो ।

“पहाडबाट खसेको झरना हेर्दा लोभलाग्दो छ, शर्माले भन्नुभयो, “झरनाबाट निस्केको पानीको बाफले थप आनन्दित बनाउने गर्छ ।” सडक सुविधा र पूर्वाधार निर्माणसँगै रुप्से झरना पर्यटकको रोजाइमा पर्छ । 

झरनालाई नजिकबाट अवलोकन गर्न र तस्बिर खिच्ने बाह्य तथा आन्तरिक पर्यटकहरू दिनहुँ पुग्ने गरेका छन् । झरना बेनी–जोमसोम–कोरला सडक खण्डको नजिकै रहेको छ । मुस्ताङ जाने पर्यटकहरू झरनाको अवलोकन गर्न गाडी रोकेर निकै समय बिताउने गरेको छ । 

युवायुवती लगायत सबैको रोजाइको केन्द्र झरना हुन पुगेपछि गाउँपालिकाले झरनाको संरक्षण र प्रवर्धनका लागि विशेष योजना अगाडि सारेको छ । ७५ मिटर अग्लो छाँगाबाट खस्ने झरना कालीगण्डकीमा मिसिएको छ । विश्वको सबैभन्दा गहिरो स्थान रहेको अन्धगल्छी रुप्से झरना नजिक पर्ने भएपछि पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ ।