नौरते नेपाली
सिँजा (जुम्ला), जेठ १ गते । सुर्खेत कर्णाली राजमार्गको दैलेखको रामाघाट–साईगाउँ खण्डमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द गरिएको छ । उक्त सडक खण्डको निर्माणको काम भइरहेकाले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो ।
कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोक मार्गको सात्तला भएर साईगाउँ निस्कने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
रामाघाट–साईगाउँ खण्डको दूरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साई निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दूरी पार गर्नुपर्ने छ । कालोपत्रे सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनीबगर र साईगाउँ क्षेत्रमा निकै सास्ती भएपछि सडक निर्माणको काम थालिएको हो ।
सडक डिभिजन कार्यालयले खड्का केएसके शिशिर वसन्त जेभीसँग २०८१ चैतमा सम्झौता गरेर निर्माणको काम थालेको थियो । सडक निर्माणको क्रममा सवारी चापले काम गर्न समस्या भएपछि असार अघिसम्म काम सक्नेगरी वैकल्पिक रुट दिनु परेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुम भण्डारीले जानकारी दिनुभयो । दैनिक आवत जावत हुने उच्च सवारी चापले निर्माणमा अवरोध छ । निर्माणले अपेक्षाकृत गति लिन नसकेको र दुर्घटनाको जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनलाई सुरक्षा मिलाइदिन पत्राचार गरिएको हो ।
राजमार्ग जेठ ११ गतेसम्म दैनिक बिहान ८ देखि १२ र दिउँसो २ देखि साँझ ६ बजेसम्म बन्द हुने छ । लामो समयसम्म सवारी रोक्नुभन्दा वैकल्पिक सडकबाट सवारी आवागमन मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । नागरिकलाई दुःख दिनेभन्दा पनि वर्षात अगावै साईगाउँ–सिस्ने खण्डको सडक सुधार गरेर सहज आवागन गराउने लक्ष्य रहेको भण्डारीले बताउनुभयो ।
२०८३ असारमा काम सम्पन्न गर्ने गरी खड्का केएसके शिशिर वसन्त जेभीले पाली–रामाघाट १२ र सिस्ने–साईगाउँ १२ गरी २४ किलोमिटर सडक निर्माण सम्झौता गरेको छ । कर्णाली राजमार्ग र सुर्खेत–दैलेख सडक खण्डको आठ किलोमिटर सडकसहित जेभीसँग २४ करोडमा सम्झौता गरिएको भण्डारीले जानकारी दिनुभयो । बिग्रिएको सडक सुधार, नाला निर्माण र असारसम्म बेस बिछ्याएर भदौसम्ममा सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।