ज्ञानु पंगेनी
मध्यविन्दु, जेठ १ गते । नवलपरासी पूर्व (नवलपुरको) मध्यविन्दु नगरपालिकाले गणित तथा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ । मध्यविन्दु नगरपालिकाको पुरानो भवनको माथिल्लो तलामा पालिका आफैँले गणित तथा विज्ञान प्रयोगशाला स्थापना गरेको हो ।
हाम्रो खुसी पाठ्यक्रम लागु गरी शिक्षा क्षेत्रको सुधारका लागि परेको मध्यविन्दु नगरपालिकाले विद्यार्थीको सिकाइ उपलब्धिलाई अब्बल बनाउन गणित तथा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिनुभयो ।
नगर प्रमुख अधिकारीले प्रयोगशाला स्थापनाले विद्यार्थीका लागि ज्ञान र सीप अभिवृद्धि गर्नुका साथै विद्यार्थीमा नयाँ ऊर्जा, जिज्ञासा र सिर्जनशीलताको विकास गर्नुमा समेत टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।
‘विद्यार्थीका लागि गणित र विज्ञान विषय धेरै गाह्रो छ भन्ने भाष्य निर्माण गरिएको छ, सिकाइ राम्रोसँग गर्न सके यी दुई विषय धेरै सजिलो विषय हो भन्ने कुरा बुझाउन जरुरी छ । अझै पनि धेरै विद्यार्थी गणित र विज्ञान विषय घोकेकै भरमा पास हुने गरेका छन्’ अधिकारीले थप्नुभयो, ‘गणित र विज्ञान विषयमा गरिने प्रयोगहरू अभ्यासका रूपमा कम हुनेगरेको छ, जसका कारण यी विषय बोझिलो बन्नेगरेको छ । त्यसैलाई सरलीकृत गर्न हामीले प्रयोगशाला निर्माण गरेका हौँ ।’
प्रयोगशालामा गणित तथा विज्ञान विषयसँग सम्बन्धित विभिन्न यन्त्र उपकरणसहित फर्मुलाका बारेमा जानकारीमूलक सामग्री राखिएका छन् । यो प्रयोगशाला गणित तथा विज्ञान विषय पढाउने शिक्षकका लागि समेत अध्ययन, अनुसन्धान र पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पालिकाले स्थापना गरेको नमुना गणित तथा विज्ञान प्रयोगशालामा यहाँ रहेका विद्यालयबाट समय समयमा विद्यार्थी सहभागी भएर अध्ययन गर्ने, अभ्यास गर्नेगरी व्यवस्थापन मिलाउने मध्यविन्द शिक्षा शाखा प्रमुख देवीराम अर्यालले जानकारी दिनुभयो ।