माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), जेठ २५ गते । गण्डकी प्रदेशको ११ वटै जिल्लामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अभियान आइतबारदेखि सुरु भएको छ । अभियानको सुरुवात पोखरामा आयोजित एक समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो ।
“जिम्मेवार चालक म, जिम्मेवार यात्री हामी, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी” भन्ने नारासाथ सप्ताहव्यापी अभियान सुुरु गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले पोखरामा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सडक पूर्वाधारको स्तरवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
“यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन, सर्वसाधारण नागरिकलाई सरल, सहज सेवा दिन प्रदेश सरकारले यातायात सेवालाई विस्तार र व्यवस्थित गर्दैआएको छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा अनलाइन प्रणालीको विकासलाई हामीले निरन्तरता दिएका छौँ” देशभर चर्चा भएको राइड सेयरिङलाई व्यवस्थित गर्नेगरी गण्डकी प्रदेश सरकारले कानुन निर्माण गरेको छ ।”
“सरल, सहज सेवा लिने आम नागरिकको चाहना र अपेक्षाका साथै प्रदेश सरकारले राजस्व सङ्कलनको एउटा क्षेत्रको रुपमा लिएको छ” उहाँले भन्नुभयो, “राइड सेयरिङ व्यवहारमा लागु गर्न सबै यातायात व्यवसायी, आमनागरिक सबैमा अपिल गर्दछु ।”
ट्राफिक सचेतना कार्यक्रम साप्ताहिक कार्यक्रम मात्र नभएको बताउँदै हाम्रो जीवन र समाजलाई सुरक्षित, मर्यादित र अनुशासित बनाउने अभियान भएको उहाँले बताउनुभयो । “सवारी चालक र यात्रुलाई नियममा बाँध्न, दुर्घटना न्यूनीकरण गर्न, नैतिक शिक्षा प्रदान गर्न यस्ता अभियान आफैँमा महत्त्वपूर्ण छ”, उहाँले भन्नुभये, “ट्राफिक नियम उलङ्घन र लापरबाहीले दैनिकजसो दुर्घटना बढेकाले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरण सहयोग पुग्ने छ ।”
सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्न गण्डकी प्रदेश सरकारले ट्राफिक प्रहरीलाई जाँचको सामग्री सहयोग गर्ने, सिसिटिभीहरू जडान गर्ने, सचेतनामुलक अभियानहरू सञ्चालन गर्न सहयोग गर्दैआएको उहाँको भनाइ छ ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ट्राफिक सचेतना कार्यक्रम विद्यालय तहमा लैजानुपर्ने र पोखरा महानगरपालिकाले पनि यसलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले औसत रूपमा गण्डकी प्रदेशमा सडक दुर्घटनाबाट दुई दिनमा १ जनाको मृत्यु हुने र वार्षिक रूपमा १ सय ७७ जनाको ज्यान जाने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सडक दुर्घटनामा मृत्यु हुने उमेर समूह १५ देखि ३० वर्ष भित्रको रहेको छ ।
थापाले सात दिनसम्म प्रदेश भित्रका सबै जिल्लामा गरिने कार्यक्रमका बारेमा पनि जानकारी दिनुभयो । सडक सुरक्षा तथा ट्राफिक सचेतना प्रवर्धन गर्दै सवारी दुर्घटना न्यूनीकरण गरी धनजनको क्षति कम गर्न अभियान गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेशकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी संयोजक केदार पौडेल, गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले मानवीय लापरबाहीले सडक दुर्घटना बढेको बताउँदै सबै सचेत हुनुपर्ने बताउनुभयो ।
उद्घाटन समारोह अघि पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको प्रभातफेरी पोखरा सभागृहमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा ट्राफिक सचेतनासम्बन्धि लघु नाटक प्रदर्शन गरिएको थियो ।