• २५ जेठ २०८२, आइतबार

अनुदानमा प्राङ्गारिक मल वितरण

blog

कृषि विकास कार्यालय जुम्ला । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), जेठ २५ गते । जुम्लाका किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण सुरु भएको छ । ५० प्रतिशत अनुदानमा मल वितरण सुरु भएका कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । रासायनिक विषादी मलको प्रयोगलाई रोक्न तथा रैथाने उत्पादनमा वृद्धि गर्न जैविक प्राङ्गारिक मल वितरण सुरु भएको छ । जुम्लामा ३९६ बोरा ५० केजीको जैविक मल आएकोमा हालसम्म २३५ बोरा बिक्री भइसकेको छ । माग अत्यधिक भएकाले पु¥याउन सकिने अवस्था नरहेको उहाँको भनाइ छ । 

मल लिनका लागि किसानले नागरिकताको फोटोकपी र निवेदन दिएका छन् । फार्मको नाममा दर्ता प्रमाणपत्र र निवेदन प्राप्त भएको छ । समूह, सहकारी र फार्मले निर्णय र निवेदन दिएको तर उनीहरूको माग अनुसारको मल दिन सकिने अवस्था नरहेको अधिकारीले जानकारी गराउनुभयो । प्रतिकिसानलाई ५० किलोदेखि पाँच क्विन्टलसम्म मल दिने योजना रहे पनि पुराउन मुस्किल परेको छ ।

 प्रतिबोरा दुई हजार पाँच सय रुपियाँ मूल्य परे पनि किसानलाई एक हजार २५० रुपियाँमै वितरण गरिएको अधिकारीले बताउनुभयो । बाँकी ५० प्रतिशत रकम कार्यालयले बेहोर्ने भएको छ । जैविक प्राङ्गारिक मल वितरण कार्यक्रमका लागि चालु आवमा छ लाख ८० हजार रुपियाँ विनियोजन भएको छ । अर्गानिक जिल्ला घोषणा भइसकेकाले जिल्लामा विषादी प्रयोग हुनु दुःखद पक्ष भएको उहाँले अवगत गराउनुभयो । 

उत्पादनलाई पूर्ण रूपमा अर्गानिक र स्वादिष्ट बनाउन मलजल बिउबिजनदेखि नै ध्यान दिनुपर्ने उहाँको सुझाव छ । जुम्लालाई २०६४ सालमा १४ औँ जिल्ला परिषद्बाट अर्गानिक जिल्ला घोषणा गरिएको छ । त्यसयता जुम्लामा कुनै पनि बहानामा वा लुकीछिपी रासायनिक विषादी ब्युटाक्लोर प्रयोग गर्न प्रतिबन्ध छ । अन्नबालीमा हुने विषादीको प्रयोगलाई रोक्न तथा अर्गानिक जिल्लाको पहिचान कायम राख्न किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण गर्न थालिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।