सुर्खेत समाचारदाता
सुर्खेत, जेठ २५ गते । छिटो निको हुने आशामा एन्टिबायोटिकको प्रयोग बढ्दै जाँदा यसले स्वास्थ्यमा गम्भीर सङ्कट निम्त्याउने हुँदा प्रयोगमा सचेत रहन आग्रह गरिएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा एन्टिबायोटिक औषधीको प्रयोग बढ्दै जाँदा स्वास्थ्यमा गम्भीर सङ्कट आउने भन्दै चिन्ता व्यक्त गरिएको हो ।
एन्टिबायोटिकको अत्यधिक प्रयोगले रोग प्रतिरोध क्षमतामा समेत गिरावट आउने र त्यसले गर्दा औषधीले काम नगर्ने अवस्था सिर्जना हुन सक्ने सरोकारवालाको भनाइ छ । चिकित्सकका अनुसार अहिले कर्णालीमा समेत एन्टिबायोटिक औषधीको प्रयोग बढ्दै गएको छ । जसका कारण स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने तथ्य निकालिएको हो ।
विश्व स्वास्थ्य सङ्गठनका कर्णाली प्रतिनिधि प्रदीप अधिकारीले नेपालमा एन्टिमाइक्रोबियल प्रतिरोधको उच्च रूपले प्रभावित रहेको बताउनुभयो । उहाँले सन् २०१९ मा गरिएको एक अध्ययन प्रस्तुत गर्दै एन्टिमाइक्रोबियल औषधीको प्रयोगका कारण प्रत्यक्ष रूपमा छ हजार चार सय र अप्रत्यक्ष रूपमा २३ हजार दुई सयभन्दा बढी मानिसको मृत्यु भएको जनाउनुभयो । उहाँले मानिस, जनावर र बोटबिरुवामा एन्टिबायोटिक्सको अत्यधिक प्रयोगले प्रतिजैविक प्रतिरोधी रोगको वृद्धि भएको बताउनुभयो ।
कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले अहिले एन्टिबायोटिक रेसिस्टेन्स लिने बढ्दै गएको बताउनुभयो । उहाँले सामान्य रोगका लागि पनि एन्टिबायोटिक औषधीको प्रयोग हुने गरेको भन्दै प्रयोगमा न्यूनीकरण गर्नुपर्ने सुझाव दिनुभयो । औषधी पसलमा समेत चिकित्सकको सिफारिसबिना रोगको पहिचान नै नगरी एन्टिबायोटिक बेच्ने र प्रयोग गर्ने गरिएको जानकारी दिँदै उहाँले रोगको पहिचानबिना त्यस्ता औषधी प्रयोग गर्न नहुने सुझाव दिनुभयो ।
यस्तै डा. सोजन सापकोटाले एन्टिबायोटिक जथाभाबी प्रयोग गर्नु हुँदैन भने पनि यसको प्रयोग बढ्दै गएको भन्दै नियमन आवश्यक रहेको औँल्याउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले खाद्य वस्तुमा समेत एन्टिबायोटिकको बढी प्रयोग भएकाले त्यसको असर मानव स्वास्थ्यमा परिरहेको भन्दै यससम्बन्धी जनचेतना आवश्यक भएको सुझाव दिनुभयो । उहाँले कुखुराको मासुमा अत्यधिक मात्रामा एन्टिबायोटिक्स हुने गरेको भन्दै दुग्धजन्य पदार्थमा पनि हुने भएकाले सचेत हुन आग्रह गर्नुभयो । कर्णालीमा कुन खाद्य वस्तुको अवस्था के छ भनेर परीक्षण गर्ने माइक्राे ल्याब नभएकोले परीक्षण गर्न नसकिएको उहाँको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाका पशुशाखा प्रमुख यज्ञ पाण्डेले पशुमा प्रयोग हुने औषधीकै कारण मानिसले पनि सचेत बन्ने बेला आएको बताउनुभयो । गाईभैँसी बिरामी भएको खण्डमा किसानले छिट्टै निको हुने औषधीको प्रयोग गर्ने भनेपछि एन्टिबायोटिक दिइने र त्यसबाट उत्पादित मासु, दुधलगायतका वस्तु मानिसले प्रयोग गर्दा त्यसको असर मानिसमा पनि पर्ने उहाँको भनाइ छ ।
नेपाल औषधी व्यवसायी सङ्घ सुर्खेतका महासचिव मङ्गलप्रसाद शर्माले जथाभाबी एन्टिबायोटिकको प्रयोग गर्न नहुने भनेर आमव्यवसायीलाई सचेत गराइएको बताउनुभयो । उहाँले केही व्यवसायी र बिरामी आफैँले पनि जथाभाबी औषधीको प्रयोग गर्ने गरेको उल्लेख गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले प्रतिजैविक औषधीको जथाभाबी प्रयोग बढ्न नदिने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले जथाभाबी एन्टिबायोटिकको प्रयोग नगर्न आग्रह गर्दै आफ्नो स्वास्थ्यप्रति पनि सचेत रहन सुझाव दिनुभयो ।