चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ३१ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित पाटीडाँडा माध्यमिक विद्यालयको हराएको आठ वटा ल्यापटप कम्प्युटर बोरामा पोको पारेर ओडारमा राखिएको अवस्थामा फेला परेको छ। विद्यालयबाट हराएको अर्थात् चोरी भएको १६ महिनापछि ल्यापटपहरु जङ्गलबिच ओडारमा राखिएको अवस्थामा फेला परेको हो।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार फाकुम्बाकै पित्तोलुङ भन्ने स्थानमा ल्यापटपहरु फेला पारिएको हो। प्रहरी, विद्यालयका प्रधानाध्यापक र वडाध्यक्षसहितका टोलीले प्लाष्टिकको बोरामा पोको पारेर ओडारमा राखिएको अवस्थामा हराएका आठवटा ल्यापटप फेला पारेको अध्यक्ष वनेमले जानकारी दिनुभयो।
उहाँका अनुसार २०८० साल पुस २२ गते राति विद्यालयबाट ११ वटा ल्यापटप चोरी भएका थिए। त्यसबेला विद्यालयको ढोका फोरेर ल्यापटप चोरी भएपछि तत्काल खोजी कार्य तीब्र पारिएको थियो। विद्यालयकी शिक्षक शान्ता आङ्बुहाङका अनुसार खोजीकै क्रममा करिव तीन महिनापछि हराएका ११ मध्ये तीनवटा ल्यापटप फाकुम्बाकै घोडेचौर भन्ने स्थानमा झ्यासमा फालिएको अवस्थामा भेटिएको थियो।
बाँकी आठवटा ल्यापटप भने निरन्तर खोजी भइरहे पनि फेला पर्न सकेको थिएन। खोजी गर्ने क्रममै झण्डै डेढ वर्षपछि मङ्गलबार गाउँ नजिक जङ्गलको एक ओडारमा बोरामा पोका पारेर राखिएको अवस्थामा फेला परेको शिक्षक आङ्बुहाङले जानकारी दिनुभयो। विद्यालयका प्रधानाध्यापक गोपाल ठाकुरलाई उक्त ओडारमा ल्यापटप भएको एक सूचना भएपछि तत्काल प्रहरी, वडाका जनप्रतिनिधि र प्रअ ठाकुरसहितको टोली सो स्थानतर्फ गएको थियो।
ल्यापटप खोजी गर्न गएको टोलीले खाद्यान्न लगाउने प्लाष्टिकको बोरामा पोका पारेर राखिएको अवस्थामा ल्यापटपहरु भेटेको विद्यालयले जनाएको छ। ल्यापटपहरु दुरुस्त अवस्थाका रहेपनि प्रयोगमा ल्याउन मिल्ने वा नमिल्नेबारे थाहा नभएको विद्यालयकी शिक्षक आङ्बुहाङले बताउनुभयो। उहाँका अनुसार फेला परेको ल्यापटपहरु प्रहरीको जिम्मामा रहेको छ।
यसअघि फेला परेका तीनवटा ल्यापटप पनि प्रहरीकै जिम्ममा रहेको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार करिव तीन महिनापछि फेला परेको ल्यापटप घटनाबारे अनुसन्धान गर्न फरेन्सिक टेष्ट गर्नुपर्ने भन्दै प्रहरीले लगेको थियो। त्यसबेला प्रहरीले लगेको ल्यापटपको अहिलसम्म फरेन्सिक टेष्टको कुनै नतिजा नआएको र ल्यापटप पनि फिर्ता नभएको विद्यालयले जनाएको छ।
यता त्यसबेला फेला परेको तीनवटा ल्यापटप जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा रहेको प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढइँले जानकारी दिनुभयो। ल्यापटप हराएको वा चोरी भएको सम्बन्धी कुनै मुद्दा पनि दर्ता नभएको र विद्यालयले बुझ्न पनि नमानेपछि ल्यापटप प्रहरी कार्यालयमै रहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो। उहाँका अनुसार मुद्दा दर्ता नभएका कारण ल्यापटपहरु फरेन्सिक टेष्ट गर्न नपठाइएको हो। मङ्गलबार भेटिएका ल्यापटप पनि प्रहरी चौकी साँघुमा रहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो।
शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत ह्युमन प्राक्टिस फाउण्डेसन (एचपिएफ) ले उक्त विद्यालयमा आइसिटी कक्षा सञ्चालनका लागि ल्यापटपहरु उपलब्ध गराएको थियो। विद्यालयलाई उपलब्ध गराएको केही समयपछि ल्यापटप चोरी भएको थियो। विद्यालयका अनुसार ल्यापटप मात्र नभई त्यसअघि पनि विद्यालयका झ्यालढोका तोडफोड गरेर विभिन्न सामग्रीहरु चोरीका घटना भएका थिए।
हराएको ल्यापटप रहस्यमय गरी भेटिएपछि घटनाबारे गहिरो अनुसन्धान गरी संलग्नलाई पत्ता लगाई सार्वजनिक र कानुनी कारबाही गर्न गाउँपालिका अध्यक्ष वनेमले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गर्नुभएको छ। उहाँले एक पवित्रस्थल विद्यालयमा चोरी वा आपराधिक क्रियाकलाप गर्नेलाई कसैबाट संरक्षण हुनु नहुने पनि बताउनुभएको छ। उता ल्यापटप चोरी भएपछि विद्यालयमा आइसिटी सेवा प्रभावित भएको बताइएको छ।