अमरराज नहर्की
तनहुँ, पुस ९ गते । तनहुँको सदरमुकाम दमौलीस्थित प्रादेशिक अस्पताल दमौलीको व्यवस्थापन समिति अध्यक्षमा व्यास नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बसेको बैठकले वाग्लेलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले प्रदेशभर रहेका ११ वटै प्रादेशिक अस्पतालमा एकैपटक नयाँ व्यवस्थापन समिति गठन गर्ने क्रममा दमौली अस्पतालको नेतृत्व वाग्लेलाई सुम्पिएको हो । जिल्लाको प्रमुख स्वास्थ्य उपचार केन्द्रका रूपमा रहेको दमौली अस्पतालमा तनहुँ मात्र नभई आसपासका जिल्लाबाट समेत ठुलो सङ्ख्यामा सेवाग्राही आउने गरेका छन् ।
हाल अस्पताल १५ बेड क्षमतामा सञ्चालनमा रहेको छ भने दैनिक करिब पाँस सय जनासम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन् । बिरामीको अत्यधिक चापले गर्दा सेवा प्रवाहमा चुनौती बढ्दै गए पनि जग्गा अभावका कारण अस्पतालको भौतिक संरचना विस्तार तथा स्तरोन्नति लामो समयदेखि अवरुद्ध अवस्थामा छ । गण्डकी प्रदेश सरकारले अस्पताललाई ५० बेड क्षमतामा विस्तार गर्ने योजना अघि सारे पनि आवश्यक जग्गा प्राप्त हुन नसक्दा निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।
नवनियुक्त अध्यक्ष वाग्लेले अस्पतालको दीर्घकालीन विकासका लागि जग्गा व्यवस्थापन नै सबैभन्दा ठुलो चुनौती रहेको उल्लेख गर्दै यस विषयलाई आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हालै पदबहालीको क्रममा उहाँले आवश्यक समन्वय र पहलमार्फत जग्गा प्राप्त गरी अस्पतालको स्तरोन्नति, अधूरा पूर्वाधार योजनाहरूलाई गति दिने र सेवाग्राहीमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्न आफू दृढतापूर्वक लाग्ने बताउनुभयो ।