• ३१ वैशाख २०८२, बुधबार

नेपालमै कोरियन प्रविधिमा पशु औषधी उत्पादन गरिने

blog

काठमाडौँ, वैशाख ३१ गते । नेपालमै कोरियन प्रविधिमा पशु औषधी उत्पादन गरिने भएको छ । बुधबार आयोजित कार्यक्रममा नेपालको अग्रणी पशु औषधी उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी केबीएन पी कोरियाबिच नेपालमा पशु औषधी उत्पादनका लागि प्राविधिक सम्झौता भएको हो ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल र पशु सेवा विभागका स– सचिव डा.सलिना मानन्धरको उपस्थितिमा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका तर्फबाट अध्यक्ष हेमराज बडाल तथा केबिएनपीका तर्फबाट हानी स्वङगबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झौतासँगै कान्तिपुर फर्मास्युटिकल्सले केबीएनपी कोरियाको अत्याधुनिक प्रविधि र विशेषज्ञता प्रयोग गरी नेपालमै उच्च गुणस्तरको पशु औषधी उत्पादन गर्नेछ ।

यो सहकार्यले नेपाली पशुपालन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने, मुख्यतया आयात प्रतिस्थापन गर्ने र नेपाली किसानलाई सुलभ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

ल्याबका अध्यक्ष हेमराज बडालले केबीएनपी कोरिया जस्तो बहुराष्ट्रिय कम्पनीसँगको सहकार्य गौरवको विषय उल्लेख गर्नुहुँदै नेपालमै अन्तर्राष्ट्रिय स्तरको पशु औषधी उत्पाद गर्ने क्षमतालाई अभिवृद्धि गर्ने बताउनुभयो ।

यो सहकार्यले नेपाली पशुपालन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने, मुख्यतया आयात प्रतिस्थापन गर्ने र नेपाली किसानलाई सुलभ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने अपेक्षा गरिएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “यो प्राविधिक सहकार्यले नेपालको पशु औषधी उत्पादन क्षेत्रमा नयाँ आयाम थप्ने र देशलाई यस क्षेत्रमा आत्मनिर्भर गराई निर्यात तर्फ उन्मुख गराउन मद्दत पुग्ने विश्वास लिइएका छौँ ।”