• २० असोज २०८१, आइतबार

अधिकांश विद्यालयका प्रधानाध्यापक अयोग्य

blog

फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १९ गते । ताप्लेजुङका अधिकांश विद्यालयमा अयोग्य प्रधानाध्यापक छन् । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार अयोग्य अर्थात् योग्यता र मापदण्ड नपुगेका प्रधानाध्यापक रहेका छन् । 

पुराना शिक्षक तथा कतिपय विद्यालयमा राजनीतिक पहुँचका कारण योग्यता र मापदण्ड नपुगेकाले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका छन् । जिल्लामा सबैभन्दा बढी माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु अयोग्य छन् । जिल्लाका ७० प्रतिशत बढी माध्यमिक विद्यालयमा योग्यता नपुगेका शिक्षकले प्रधानाध्यापकको भूमिका निर्वाह गर्दैआएका छन् । 

त्यस्तै आधारभूत तहअन्तर्गत कक्षा १–८ सञ्चालित विद्यालयमा पनि अयोग्य अर्थात मापदण्ड नपुगेका शिक्षकहरु प्रधानाध्यापकको जिम्मेवारीमा छन् । धेरै सङ्ख्यामै आधारभूत तह (कक्षा १–८) सञ्चालन हुँदैआएका विद्यालयमा पनि अयोग्य प्रधानाध्यापक रहेको पाइएको छ । त्यस्तै, केही कक्षा १–५ सम्म सञ्चालित आधारभूत विद्यालयमा पनि योग्यता र मापदण्ड नपुगेका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका अनुसार शिक्षा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम धेरै विद्यालयमा मापदण्ड नपुगेका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारीमा रहेर विद्यालय प्रशासन सञ्चालन गरिरहेका छन् । अधिकांश माध्यमिक विद्यालयहरुमा प्राथमिक र निम्नमाध्यमिक तह दरबन्दीका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी बहन गरिरहेका एकाइले जनाएको छ ।

सञ्चालन अनुमति प्राप्तगरी प्रस्तावित विद्यालयका रुपमा धेरै माध्यमिक विद्यालयहरु सञ्चालन हुँदैआएका कारण पनि योग्यता अर्थात् मापदण्ड नपुगेका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी बहन गरिरहेका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख योगेश्वर भट्टराईले बताउनुभयो । 

लामो समयदेखि प्रस्तावित रुपमा विद्यालय सञ्चालन भइरहेका र सम्बन्धित विद्यालयको तहअनुसार दरबन्दी नहुँदा योग्यता नभएका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारीमा रहनुपर्ने बाध्यात्मक अवस्था रहेको पनि एकाइ प्रमुख भट्टराईको भनाइ छ ।

कतिपय विद्यालयमा भने योग्यता पुग्ने दरबन्दीका शिक्षक कार्यरत रहे पनि अयोग्य अर्थात मापदण्ड नपुग्ने शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन् । राजनीतिक पहुँचका आधारमा विद्यालय व्यवस्थापन समिति चयन हुने र सोहीअनुसार समितिले ऐन तथा नियमविपरीत आफ्नो अनुकूलतामा प्रधानाध्यापकको जिम्मेवारी तोक्नेगरेको पाइएको छ । केही विद्यालयमा भने मापदण्डभित्र रहेका शिक्षक आफैँले प्रधानाध्यापकको जिम्मेवारी इन्कार गर्नेगरेका छन् ।

यसरी माध्यमिक विद्यालयमा प्राथमिक र निम्नमाध्यमिक तह दरबन्दी तथा केही अस्थायी वा करार दरबन्दीका शिक्षकहरु प्रधानाध्यापक रहँदा विद्यालय प्रशासनमा असर पुग्नेगरेको बताइन्छ । आधारभूत तह (कक्षा १–८) मा पनि प्राथमिक दरबन्दी र केहीमा राहत तथा करार दरबन्दीका शिक्षक प्रधानाध्यापकको जिम्मेवारीमा रहँदा विद्यालय प्रशासनमा असर पुग्नुका साथै योग्यतावाला शिक्षकले असहज महशुस गर्नेछन् । 

ऐन तथा नियमावलीमा भने विद्यालयको तहअनुसार सोही तहको स्थायी दरबन्दीमा कार्यरत शिक्षकमध्ये अग्रज शिक्षक प्रधानाध्यापक हुने व्यवस्था रहेको छ । एक नगर र आठ गाउँपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङ जिल्लामा दुई धार्मिक र १५ निजीसमेत ३४२ वटा विद्यालय छन् । 

उक्त सङ्ख्यामध्ये ५९ वटा माध्यमिक विद्यालयमा कक्षा १–१२ सञ्चालित ३० र कक्षा १–१० सञ्चालित ३६ वटा विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक सञ्जु राईले जानकारी दिनुभयो । उहाँकाअनुसार आधारभूत तहअन्तर्गत कक्षा १–८ सञ्चालित ६७ र कक्षा १–५ सञ्चालन हुँदैआएका २०९ वटा विद्यालय छन् ।