• ७ जेठ २०८१, सोमबार

राजधानीमै सवारी भाडामा व्यवसायीको मनोमानी

blog

फाइल तस्बिर

काठमाडौं,साउन १७ गते । बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर घटे पनि काठमाडौं उपत्यकामा भने भाडादर घटेको छैन ।  

नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको स्वचालित मूल्य प्रणालीमा गएपछि बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडादर घटाएको थियो ।

स्वचालित मूल्य प्रणाली अनुसार पाँच प्रतिशत इन्धनको मूल्यमा थपघट हुने बित्तिकै भाडादर सोही अनुसार थपघट हुने व्यवस्था छ । 

साउन ११ गते मन्त्रालयले भाडादर घटाए पनि उपत्यकाका यातायात व्यावसायीले भाडादर घटाएका छैनन् । 

सुन्धारामा भेटिनुभएका कीर्तिपुर बस्ने विकास खड्काले यातायात व्यावसायीले भाडादर नघटाउँदा विद्यार्थीलाई दैनिक सवारी चढ्दा बढी भाडा तिरिरहनुपरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “कीर्तिपुर बस्छु पढ्नका लागि कीर्तिपुरदेखि बानेश्वर जाँदा दुई वटा गाडी फेर्नुपर्छ । पुरानै भाडादर अनुसार नै भाडा तिर्दै हिँड्नुपरेको छ । पहिले घटेको भाडादर पनि लागु नहुँदा मजस्ता धेरै विद्यार्थीलाई समस्या भएको छ । ”

सवारी सहचालकले घटेको भाडादर अनुसार भाडा उठाउनु त परको कुरा पहिले रहेको भाडाभन्दा पनि बढी भाडा उठाउँदै आएका छन् । 

सर्वसाधारणले कीर्तिपुरदेखि  सुन्धारासम्म सार्वजनिक सवारी चढ्दा घटेको भाडा अनुसार २६ रुपियाँ तिर्नुपर्ने हो तर सहचालकले ३० रुपियाँ नै उठाउँदै आएका छन् । चानचुन पैसा छैन भन्दै उनीहरुले भाडादर तोकिएको भन्दा बढी नै उठाउँदै आएका छन् । 

नयाँ घटेको भाडादर अनुसार विद्यार्थीले आफ्नो परिचयपत्र देखाएपछि छुटसहित १६ रुपियाँ तिरे पुग्छ  । तर सहचालकले विद्यार्थीहरुबाट २० रुपियाँ नै उठाउने गरेका छन् ।

यात्रु खड्काले भन्नुभयो, “दैनिक सार्वजनिक सवारीमा आवतजावत गर्नुपर्छ । कीर्तिपुरदेखि बानेश्वर आउँजाउँ गर्दा दैनिक १४ रुपियाँ ठगिँदै आएको छु ।” 

सुन्धारादेखि बानेश्वरको भाडादर विद्यार्थीका लागि १२ रुपियाँ हो ।तर सहचालकले १५ रुपियाँ  लिँदै आएको उहाँ बताउनुहुन्छ । यसरी दुवैलाई जोड्दा १४ रुपियाँ दैनिक रुपमा ठगिएको उहाँको दुःखेसो छ । 

उहाँ दैनिक १४ रुपियाँ ठगिँदा मासिक ४२० रुपियाँ ठगिनुपरेको छ । 

उहाँले भन्नुभयो, “विद्यार्थी जीवनमा पैसाको बचत गर्दै आफ्ना आवश्यकता परिपूर्ति गर्नुपर्ने  हुन्छ । मासिक रुपमा चार सय बढी भएको अनावश्यक खर्च बचाउन सके तरकारी खर्च पुग्ने थियो ।” 

सरकारले घटाएको भाडादर  कार्यान्वयन नगर्ने सवारीलाई कारबाही गर्नुपर्ने उहाँको माग छ । 

काठमाडौ उपत्यकामा दैनिक सार्वजनिक यातायात चढ्नेको सङ्ख्या हजारौँ छ । यसरी सर्वसाधारण ठगिँदै जाँदा सरकारले घटाएको भाडादर आम सर्वसाधारणले महसुस गर्न पाएका छैनन् । 

'अनुगमन गर्छौँ' 

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले घटेको भाडादर कार्यान्वयन गर्नका लागि पुनः पत्र काट्ने जनाएको छ । मन्त्रालयका सचिव तीर्राथज भट्टराई राजपत्रमा सूचना प्रकाशित भएपछि नै घटेको भाडादर लागू हुने भएकाले यसको कार्यान्वयन हुनुपर्ने बताउनुहुन्छ ।उहाँका अनुसार आवश्यक अनुगमन र आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाउने बताउनुभयो। 

उहाँले भन्नुभयो, “नयाँ भाडादर कार्यान्वयन भए नभएको विषयमा छड्के अनुगमनका लागि ट्राफिक प्रहरी कार्यालयलाई पत्र काट्ने तयारी छ । अनुगमनका क्रममा यहीँ पालना नभएको पाइए कानुन अनुसार कारबाही गर्छौ ।” 

यता यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरप्रसाद पनेरुका अनुसार प्रदेशभित्रको भाडादरको कुरामा विभागले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो । नेपालको संविधानले नै प्रदेशको भाडादर समायोजनको अधिकार प्रदेशलाई दिएकाले विभागको यसमा कुनै हात हुँदैन । 

उहाँले भन्नुभयो, “संविधान अनुसार प्रदेशभित्रको भाडादर कायम गर्ने अधिकार प्रदेश सरकारलाई नै रहेकाले हामीले यस बारेमा अनुगमन कारबाही गर्न मिल्दैन ।  समन्वयका लागि आग्रह आउँछ भने समन्वय गर्छौँ ।”

भाडादर वैज्ञानिक भएन 

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासँघका अध्यक्ष विजयकुमार स्वाँरका अनुसार प्रदेशले तय गरेको भाडा वैज्ञानिक नभएकाले यसको कार्यान्वयन गर्न सकिने अवस्था छैन ।उहाँले भन्नुभयो, “प्रदेशले लागू गरेको भाडादर वैज्ञानिक नहुँदा कार्यान्वयन गर्न समस्या भएको हो । घटेको भाडा नघटाउने भन्ने हाम्रो उद्देश्य होइन ।”

प्रदेशले खुद्रा मूल्यमा नै भाडादर कायम गर्ने गरेकाले धेरै मान्छेसँग खुद्रा पैसा लिएर हिँड्ने बानी नहुँदा समस्या भएको उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “भाडादर कायम गर्दा पाँच रुपियाँको रेन्ज राखेर कायम गर्नुपर्छ । २० रुपियाँबाट १९ रुपियाँ बनाउँदा के आधारमा भाडा घटाउने । खुद्रा पैसा नै हुँदैन ।त्यसकारण यो लागू गर्न सक्दैनौँ ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।