गोविन्द शर्मा
बाँके, साउन १६ गते । बाँकेमा पर्याप्त मात्रामा वर्षा नभएपछि धाने रोपाइँ हुने खेत यतिबेला गाईबस्तु चरनक्षेत्रको रूपमा प्रयोग भएका छन् । जिल्लाको खजुरा र जानकी लगायतका क्षेत्रमा सुख्खाको बढी प्रभाव परेको छ ।
खजुरा गाउँपालिका-४ ई गाउँका देवराम बिसीले सुरुदेखि नै पर्याप्त बर्सात नभएका कारण किसानहरू मारमा परेको बताउनुभयो । बिसीले भन्नुभयो, “खोलानालाबाट पम्पसेट तथा घरमै मोटर तथा खानेपानीको धारा प्रयोग गरेर रोपाइँ गरिएको खेतमा समेत रोपेको धान सुक्न थालेको छ ।”
वर्षा नभएपछि धानखेत हुने बारीमा झारपात पलाएको र त्यहाँ गाईबस्तुलाई चराउने काम हुने गरेको बिसीले बताउनुभयो । नजिकैं सिक्टा सिँचाइ आयोजनाको शाखा नहर भए पनि पूर्णरुपमा निर्माण सम्पन्न नभएका कारण किसानले पर्याप्त लाभ लिन नसकेको बिसीले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जीवनकुमार केसीका अनुसार सिँचाइको सुविधा भएका राप्ती–सोनारी गाउँपालिका, नेपालगन्ज उप–महानगरपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिकामा बढी धानखेती भएको छ । अन्य स्थानमा पनि किसानले वर्षात्का पानीसँगै अन्य विकल्प प्रयोग गरेर धान रोपे पनि सम्पूर्ण रोपाइँ हुन सकेको छैन ।
यस्तै, नरैनापुर, जानकी र खजुरा गाउँपालिकामा कम रोपाइँ भएको छ । बाँकेमा हालसम्म करिब ७० प्रतिशत खेत धान रोपाइँ भएको छ । अब वर्षात् भए पनि बढी दिनको बीउ भइसकेकाले उपयोगी नहुने कृषि प्राविधिकको भनाइ छ । कतिपय किसानले पछि बीउ राखेकाले धान रोपाइँका लागि पर्खिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बाँकेमा जिल्लाभर ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।