गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २० गते । अधिकांश सवारी दुर्घटना चालकको लापर्बाहीले हुने गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रतिवेदनले सबैभन्दा धेरै दुर्घटना चालकको लापर्बाहीका कारण हुने गरेको देखाएको छ । तीव्र गति, मादक पदार्थ सेवन, ट्राफिक नियम उल्लङ्घन, क्षमताभन्दा बढी यात्रु र सवारीको नियमित मर्मतसम्भारमा लापर्बाही हुँदा दुर्घटना हुने गरेको निष्कर्ष ट्राफिक प्रहरीको छ ।
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा शुक्रबार आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रममा ट्राफिक प्रहरीले उक्त तथ्य जानकारी गराएको हो । प्रहरीका अनुसार चालु आर्थिक वर्षको हालसम्म दुई हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ ।
आव २०७९/८० मा १० हजार ६७५, आव २०८०/८१ मा आठ हजार ८८१ र आव २०८१/८२ मा सात हजार १६९ दुर्घटना भएको प्रहरीले जनाएको छ । सडक दुर्घटनाको सङ्ख्या घटेको देखिए पनि मृत्युदर भने ७.३४ प्रतिशत बढेको छ ।
कार्यव्रmममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले भएका स्रोतसाधनको सही उपयोग गरेर प्रभावकारी काम गर्न आग्रह गर्नुभयो । ट्राफिक लाइट जडान गर्ने, सडकलाई सुरक्षित बनाउने र भएको स्रोतसाधनको उपयोग गर्न उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गर्नु पर्छ । ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनु पर्छ ।”
ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले बढी दुर्घटना हुनेमा दुईपाङ्ग्रे सवारीसाधन रहेको जानकारी दिनुभयो । रात्रिकालीन समयमा दुर्घटना बढेकाले काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा तीव्र गति न्यूनीकरणमा लागिएको उहाँको भनाइ छ ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा सवारी दुर्घटनाबाट छ जनाको मृत्यु भएको छ । मोरङ, सप्तरी, रुपन्देही, सिराहा, उदयपुर र बैतडीमा सवारी दुर्घटना भएका थिए । २४ घण्टाका छ वटा दुर्घटनामा चार वटा दुर्घटना मोटरसाइकलका छन् । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीलगायत यातायात व्यवसायी र प्रहरी अधिकृतको सहभागिता थियो ।