• ११ मंसिर २०८१, मङ्गलबार

तीन स्रष्टा अभिनन्दित

blog

काठमाडौँ, साउन १६ गते । साहित्यिक पत्रकार सङ्घले तीन जना स्रष्टालाई विशेष सम्मान गरेको छ । सङ्घ स्थापनाको स्वर्ण महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सङ्घले संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीता केशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।  

कार्यक्रममा प्रमुख अतिथि सुवासचन्द्र नेम्वाङले लेखक साहित्यकारले देशमा सधैँ गाईजात्रा भइरहेको छ भनेर गुनासो गर्नुभन्दा त्यस्ता गाईजात्रा गर्नेहरूसम्म आफ्ना विचार पु-याउने र उनीहरूलाई ठिक बाटोमा ल्याउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले साहित्यिक पत्रकार सङ्घका गतिविधिसँग आफू लामो समयदेखि जोडिएको बताउँदै यस्ता कार्यक्रमबाट समाजलाई अगाडि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा बढ्दो विकृति र विसङ्गतिविरुद्ध स्रष्टाहरू जागरुक हुनुपर्ने बताउनुभयो । पूर्वमन्त्री नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले यो देशको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई कसैले पनि नकार्न नसक्ने बताउनुभयो । 

कार्यक्रममा समालोचक प्रमोद प्रधानले सम्मानित व्यक्तित्वको योगदानमाथि प्रकाश पार्नुभएको थियो । सङ्घका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घले ५० वर्षदेखि साहित्यिक पत्रकारिता, साहित्य, कला र संस्कृतिका क्षेत्रमा गर्दै आएको योगदानको स्मरण गर्नुभयो । उहाँले साहित्यिक पत्रकारको हकहितको सुरक्षा र सहयोगका लागि छुट्टै निकायको आवश्यकतामा जोड दिनुभयो । उहाँले समाजसेवी शोभित उप्रेतीसँगको सहकार्यमा दोलखाको शैलुङमा ‘स्रष्टा गृह’ को सञ्चालन गरिने पनि बताउनुभयो ।