• २० असोज २०८१, आइतबार

मेडिकल र डेन्टल सञ्चालकलाई जरिवाना

blog

जरिवाना गरिएको इलामको दुर्गा मेडिकलमा अनुगमन गरिँदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, साउन १४ गते । बिक्री गर्न र प्रयोग गर्न नपाइने निषेधित औषधि बिक्री तथा प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले इलामका एक मेडिकल सञ्चालक र एक डेन्टल सञ्चालकलाई जरिवाना गरेको छ । 

केही दिनअघि गरेको अनुगमनका क्रममा त्यस्ता औषधि प्रयोग गरेको पाइएपछि आइतबार प्रशासनले सदरमुकाममा रहेको दुर्गा मेडिकल र माइपोखरी डेन्टललाई दुई–दुई लाख रुपियाँ जरिवाना गरेको हो । 

अनुगमनका क्रममा मेडिकल र डेन्टल दुवैमा ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको र बजार मूल्य नलेखिएको औषधि फेला परेको थियो । यी दुवै औषधि बिक्री गर्न कानुनले नदिने हुँदा उपभोक्ता हित संरक्षण ऐनअनुसार उनीहरुलाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोइरालाले बताउनुभयो । 

कोइरालाका अनुसार प्रशासनले जरिवाना गराएको र बाँकी अनुसन्धान कारबाही स्वास्थ्य विभागले गर्नेछ । यसअघिको अनुगमनमा दुर्गा मेडिकलमा आधा लिटरका चार बोतल र माइपोखरीमा पाँच बोतल औषधि फेला परेको थियो ।