• १४ फागुन २०८०, सोमबार

नस्ल सुधारले मासु, अन्डा र दुधमा आत्मनिर्भर

blog

काठमाडौँ, साउन १३ गते । सरकारले पशुपन्छीमा नस्ल सुधार गर्न थालेपछि दुध, मासु र अन्डामा देश आत्मनिर्भरको अवस्थामा पुगेको छ । नेपालमा पशुपन्छीको उत्पादकत्व अपेक्षाकृत कम रहेको र पशुपन्छीजन्य पदार्थको राष्ट्रिय आवश्यकता बढ्दै गएपछि सरकारले नस्ल सुधारका कार्यक्रम सुरु गरेको थियो ।

पशुपन्छीको उत्पादन क्षमता बढाउनका लागि नस्ल सुधार गर्न अपरिहार्य देखेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०६९ सालदेखि गाईभैँसीमा कृत्रिम गर्भाधान मिसन कार्यक्रम नै सञ्चालनमा ल्याउनुको साथै राष्ट्रिय पशुपन्छी प्रजनन नीति पनि लागु गरेको छ । कृषि मन्त्रालयले प्रजनन सेवा विकासका लागि पोखरा, नेपालगन्ज र लहानमा राष्ट्रिय पशु प्रजनन कार्यालय स्थापना गरी नस्ल सुधारको काम गरिरहेको छ । 

पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले नेपालका कुल घरपालुवा पशुपन्छीमध्ये नस्ल सुधार भई बढी उत्पादकत्व भएका गाईको सङ्ख्या करिब १५ प्रतिशत र भैँसीको सङ्ख्या करिब ३५ प्रतिशत मात्र भएको हुँदा ठुलो सङ्ख्यामा पशुपन्छीको नस्ल सुधार गर्न आवश्यक रहेको बताउनुभयो । देशमा ७४ लाख गाईमध्ये १५ प्रतिशत उन्नत जातका छन् । अन्य रैथाने (लोकल) जातका गाई छन् । एउटा रैथाने गाईले सरदर वार्षिक तीन सय लिटर दुध दिन्छ भने उन्नत जातका गाईले सरदर वार्षिक चार हजार लिटर दुध दिन्छ ।    

त्यही रैथाने जातको गाईलाई हामीले उन्नत जातको गाई बनाएर दुध उत्पादनमा वृद्धि गरेका छौँ, उहाँले भन्नुभयो, “अमेरिका, कोरियालगायतका देशबाट वीर्य ल्याई रैथाने गाईमा प्रयोग गरेर त्यसबाट निस्किने बाच्छीबाट दुध उत्पादन गर्न सकिन्छ ।” भैँसीमा पनि मुर्रा जातका राँगो ल्याएर दुध उत्पादनमा वृद्धि गरेको बताउनुभयो । उहाँले आफूहरूले कुनै पनि देशबाट गाई, बाख्रा ल्याएका छैनौँ, त्यहाँबाट साँढे, बोका वा वीर्य मात्र ल्याउने गरेको र त्यसलाई यहाँका स्थानीय गाईबस्तुमा प्रत्यारोपण गराएर उन्नत जातको बनाउने गरेको बताउनुभयो ।

राष्ट्रिय पशुपन्छी प्रजनन नीति अनुसार गाई, भैँसी, बाख्रामा नस्ल सुधारका लागि सञ्चालित कृत्रिम गर्भाधान कार्यक्रममा आवश्यक पर्ने जमेको वीर्य (फ्रोजन सिमेन) र बङ्गुरको तातो वीर्य (वार्म सिमेटन) देशभित्रै उत्पादन गर्ने गरिएको छ । उच्च प्रजननमान जर्सी तथा होलिस्टिन गाईका भ्रूण नेपाली गाईमा प्रत्यारोपण गरी उत्पादन भएका साँढे वीर्य उत्पादनका लागि प्रजननमा प्रयोग भएको नीतिमा उल्लेख छ ।

सरकारले बोयर जातका बोकाबाट प्रजनन गराई उत्पादकत्व बढाउने कार्य गरेको छ । जसले गर्दा खसीको मासुमा आत्मनिर्भर भएको प्रवक्ता ढकालले बताउनुभयो । बङ्गुरपालन व्यवसायमा कृत्रिम गर्भाधान विदेशी नस्लका बङ्गुरमा मात्र गर्ने गरिएको छ । कुखुराको मासुमा पनि आत्मनिर्भर छ । ग्रामीण कुखुराको उत्पादकत्व वृद्धिका लागि विगतदेखि नै न्यु हेम्पसायर र अस्ट्रालोर्प जातका कुखुराका चल्ला सरकारी फार्मले कृषकलाई उपलब्ध गराउने गरेका छन् । निजी क्षेत्रद्वारा सञ्चालित ब्रोइलर र लेयर्स कुखुरा उत्पादनका लागि प्रजननसम्बन्धी अनुसन्धानबाट विदेशमा विकास गरिएका जातका कुखुरा नै माउका रूपमा प्रयोग गर्ने गरिएको नीतिमा उल्लेख गरिएको छ । त्यस्तै माछा उत्पादन तथा माछामा प्रजनन कार्यका लागि भौगोलिक क्षेत्र तथा हावापानी सुहाउँदो विभिन्न उन्नत जातका माछामा प्रजनन गराई देशभरि नै माछाका भुरा उत्पादन तथा वितरण कार्य भइरहेको बताइएको छ ।