• ११ मंसिर २०८१, मङ्गलबार

गोरखापत्रकर्मी नेपाल पुरस्कृत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ११ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गोरखापत्र दैनिकका पत्रकार सुकृत नेपाललाई पुरस्कृत गरेको छ ।  ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा उत्कृष्ट समाचार लेखन गरेबापत उहाँलाई सम्मानसहित पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानले दी राइजिङ नेपालकी पत्रकार रेनुका ढकाललगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत अन्य तीन जनालाई पनि पुरस्कार प्रदान गरेको छ । 

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० कै अवसरमा आयोजित लेखन प्रतियोगितामा उत्कृष्ट लेखन गरेबापत दियालक्ष्मी जोशी (एमएफए, काठमाडौँ विश्वविद्यालय), प्रतिभा खड्का (बिएफए, ललितकला क्याम्पस, प्रतिभा तिवारी (बिएफए, ललितकला क्याम्पस) लाई पुरस्कर प्रदान गरेको छ । कार्यक्रममा बोल्दै कुलपति नारदमणि हार्तम्छालीले प्रतियोगिताको समीक्षालाई विशेषतः अङ्कको आधारमा भन्दा पनि ग्रेडका आधारमा मूल्याङ्कन गरिएको स्पष्ट पार्नुभयो । उहाँले सञ्चारमाध्यमले राष्ट्रिय ललितकला प्रदर्शनीलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । त्यस्तै उपकुलपति लालकाजी लामाले प्रदर्शनी सफल बनाउन सञ्चार माध्यमको प्रमुख भूमिका रहेको स्मरण गर्नुभयो ।