• २० असोज २०८१, आइतबार

पाँचथर दुर्घटनाले ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ शोकमा

blog

जिप दुर्घटनामा निधन हुनुभएका जितेन्द्रमणिविक्र वनेम।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ९ गते। मेची राजमार्गको पाँचथर सडक खण्डमा मङ्गलबार भएको बोलेरो जिप दुर्घटनामा परी ताप्लेजुङ ढुङ्गेसाँघुका एक व्यक्तिको मृत्यु भएपछि गाउँ शोकमय बनेको छ। झापाको बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४२ वर्षीय जिनेत्द्रमणिविक्रम वनेमको मृत्यु भएको खबरले गाउँ शोकमय बनेको हो। 

बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको जिप मङ्गलबार दिउँसो फिदिम नगरपालिका–२ सामदिनमा दुर्घटना भएको थियो। सो दुर्घटनामा परी घाइते एकजनाको पाँचथर अस्पतालमा उपचारको क्रममा निधन भएको खबर सञ्चारमाध्यमहरूमा आए पनि सुरुमा पहिचान खुल्न सकेको थिएन। 

पछाडि मृतकको पहिचान खुल्दा वनेमको निधन भएको थाहा हुन आएपछि ढुङ्गेसाँघु गाउँ शोकमय बनेको मैवाखोला गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो। वडाध्यक्ष तामाङका अनुसार वनेम पछिल्लो समय काठमाडौँमा बस्दै आउनुभएको र जिल्लास्थित आफ्नो गाउँ ढुङ्गेसाँघु फर्कने क्रममा जिप दुर्घटनामा परी उहाँको मृत्यु भएको हो। वनेमको मृत्युको खबरले उहाँका आफन्त, दाजुभाइ, छरछिमेक, इष्टमित्र स्तब्ध हुनुका सार्थ गाउँ नै शोकमय बनेको वडाध्यक्ष तामाङको भनाइ छ।

दुर्घटनामा परी निधन हुनुभएको वनेमको शव हाल पाँचथर जिल्ला अस्पतालमै राखिएको आफन्तले बताएका छन्। यता सो दुर्घटनामा परी ताप्लेजुङकै पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका बुद्धहाङ लिम्बू, मिक्वाखोला गाउँपालिका–५ पापुङका इसेटिमा शेर्पा, सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाका सरोज मादेन, फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमका अजय लिम्बू घाइते हुनुभएको छ।

ताप्लेजुङबाहेक चालक इलामका अर्जुन विकसहित पाँचथर र काठमाडौँका समेत गरी १३ जना यात्रु घाइते भएको पाँचथर प्रहरीले जनाएको छ। घाइतेमध्ये सविना विश्वकर्मासहित दुई जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालतर्फ रेफर गरिएको छ भने बाँकी घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ।