क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ । त्यही अनिश्चितताभित्र नेपालले सुनिश्चितता खोजिरहेको छ । त्यसकै प्रयासमा विश्वकप एकदिवसीय क्रिकेट प्रतियोगिता छनोटमा सिधै छानिएको नेपाल सुपर सिक्समा पुग्न भने सकेन । सुपर सिक्समा पुगेको भए शीर्ष दुईमा रहेर भारतमा यसैपालि हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्ने थियो ।
जिम्बाब्वेमा भएको विश्वकप छनोटको कठिन समूहमा परेको नेपाल समूह चरणबाटै बाहिरियो । १० टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छनोट प्रतियोगितामा नेपालको समूहमा जिम्बाब्वे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका थिए ।
नेपाल अमेरिकालाई हराउन सफल भयो भने बाँकी तीन टिमसँग पराजित भयो । टेस्ट खेल खेल्ने वेस्टइन्डिज र जिम्बाब्वेविरुद्ध पहिलो पटक खेलेको नेपालले अनुभव बटुल्ने काम ग-यो भने एसोसिएट टिममा नेदरल्यान्ड्स अब्बल ठहरियो । दोस्रो समूहमा श्रीलङ्का, स्कटल्यान्ड, ओमान, आयरल्यान्ड र युएई रहेका थिए ।
नेपालले समूह चरणबाट बाहिरिँदा सातौँ स्थानको प्लेअफ खेल्ने अवसर पाएको छ । जुन प्लेअफ सेमिफाइनलमा नेपालले युएईलाई हरायो भने प्लेअफ फाइनलमा आयरल्यान्डद्वारा पराजित भयो ।
नेपालले पहिलो पटक सिधै विश्वकप छनोट खेल्ने अवसर पाएको थियो । विश्वकप लिग–२ मा तेस्रो स्थान ओगट्दै नेपालले विश्वकप छनोटमा खेल्न मात्र पाएन आफ्नो एकदिवसीय मान्यतालाई जोगायो भने एसिया कपमा छनोट हुनसमेत सफल भएको थियो ।
यसपालि सुपर सिक्सको शीर्ष दुई स्थानमा रहेर श्रीलङ्का र नेदरल्यान्ड्स विश्वकपमा छानिएका छन् । नेदरल्यान्ड्सले १२ वर्षपछि पुनः विश्वकपमा प्रवेश पायो तर आयोजक जिम्बाब्वे र वेस्टइन्डिज भने असफल भए ।
विश्वकप एकदिवसीय प्रतियोगिताको इतिहासमा पहिलो पटक वेस्टइन्डिज विश्वकपमा देखिने छैन । एकदिवसीय विश्वकपको सुरुका दुई उपाधि सन् १९७५ र १९७९ मा वेस्टइन्डिजले नै जितेको थियो । सन् १९८३ को विश्वकपको फाइनलमा पनि पुगेर वेस्टइन्डिजले उपाधि जितमा ह्याट्रिक गर्ने सम्भावना थियो तर भारतले फाइनल खेलमा बाजी मा¥यो । त्यसपछि ओरालो लाग्दै गएको वेस्टइन्डिज एक पटक मात्र सेमिफाइनलमा पुगेको थियो । विश्वकप टी–२० मा वेस्टइन्डिज सन् २०१२ र सन् २०१६ को च्याम्पियन हो तर पछिल्ला केही वर्षदेखि वेस्टइन्डिजको खेल खस्किँदै गएको छ ।
त्यस्तै जिम्बाब्वेले घरेलु मैदानको फाइदा उठाउन सकेन । सन् १९८३ देखि निरन्तर विश्वकपमा स्थान बनाएको जिम्बाब्वेले पछिल्ला दुई संस्करणमा स्थान बनाउन सकेन । यसपालिको छनोटको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग पराजित हुँदा जिम्बाब्वेले भारत जाने टिकट पाउन सकेन । त्यसो त अहिलेसम्मका विश्वकपमा पनि सुपर सिक्ससम्मको यात्रा मात्रै तय गरेको जिम्बाब्वे आयोजकका हिसाबले सन् २०२७ को विश्वकपमा भने छानिएको छ ।
एसोसिएट टिम नेदरल्यान्ड्स विश्वकपमा छनोट हुँदा नेपालले सन् २०२७ मा दक्षिण अफ्रिका-जिम्बाब्वेमा आयोजना गरिने विश्वकपमा खेल्न पाउने ढोका खुलै छ ।
नेपालले यसपालि अनुभव भने राम्रै बटुल्यो । विशेष गरी टेस्ट मान्यता प्राप्त टिमहरू वेस्टइन्डिज, जिम्बाब्वे र आयरल्यान्डविरुद्ध खेल्यो ।
फुटबलमा निराश नेपाल
नेपाली खेलकुदको बाह्रमासे खेल कुनै हो भने त्यो हो फुटबल । सबैभन्दा बढी लगानी भएको कुनै खेल हो भने त्यो पनि हो फुटबल तर नतिजाका हिसाबले सन्तोषजनक अवस्था फुटबलमा छैन ।
व्यावसायिकताको रटान दिन थालेको वर्षौं भएको छ तर यसपालि ‘ए’ डिभिजन लिग फुटबल फत्ते गर्न नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कठिन भयो । त्यति मात्र होइन साफ च्याम्पियनसिप फुटबलका लागि क्लबहरूले खेलाडी समयमा उपलब्ध नगराइदिँदा तयारी राम्रो हुन पाएन । जसका कारण नेपालले फेरि एक पटक साफ च्याम्पियनसिप फुटबलमा निराशाजनक प्रदर्शन गरेको छ ।
गत असार ६ देखि १९ गतेसम्म भारतको बेङ्गलोरमा भएको प्रतियोगिताको १४ औँ संस्करणको उपाधि भारतले जितेको छ । फाइनल खेलमा कुवेतलाई भारतले पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गरेको थियो । त्यसअघि समूह चरणको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
यसपालि साफ च्याम्पियनसिपमा कुवेत र लेबनानलाई आमन्त्रित टिमका रूपमा सहभागी गराइएको थियो । सेमिफाइनलमा कुवेतले बङ्गलादेशलाई १–० ले तथा भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेका थिए ।
नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरियो । नेपाल समूह चरणमा कुवेतद्वारा ३–१ ले पराजित भएको थियो । त्यसपछि भारतले २–० गोलअन्तरले नेपाललाई हरायो । समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानलाई नेपालले १–० ले पराजित गरेको थियो ।
यस नजितापछि सिङ्गो टिमको संरचना र एन्फाले खेलेको भूमिकामाथि प्रश्न उठेको छ । किनकि व्यावसायिक असुरक्षाका कारण सुरक्षित भविष्य खोज्दै केही सिनियर खेलाडी विदेश पलायन भएका छन् । जसका कारण प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले टिम संरचना सशक्त बनाउन सकेनन् ।
प्रतियोगितामा ३८ गोल भए तर नेपालले मात्र दुई गोल गर्न सक्यो । समूह चरणबाटै बाहिरिए पनि नेपालले फेयर प्ले उपाधि भने जितेको छ ।
साफको इतिहासमा नेपालको प्रदर्शन भने सन्तोषजनक छैन । ३० वर्षअघि अर्थात् सन् १९९३ देखि नेपालबाटै सुरु भएको साफ च्याम्पियनसिपमा भारतले सबैभन्दा बढी नौ पटक उपाधि जितेको छ । माल्दिभ्सले २ तथा बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्काले १–१ पटक उपाधि जितेका छन् ।
नेपाल, पाकिस्तान र भुटानले भने अहिलेसम्म उपाधि जितेका छैनन् । जबकि सबै संस्करणमा सहभागिता जनाउने नेपाल र भारत मात्रै हुन् । भारत चार पटकको उपविजेता हो । माल्दिभ्स ३, बङ्गलादेश र अफगानिस्तान २–२ तथा श्रीलङ्का र नेपाल १–१ पटकका उपविजेता हुन् । नेपाल एक पटक तेस्रो भएको छ भने दुई पटक चौथो भएको छ ।