काठमाडौँ, कात्तिक ३० गते । नेपालले सोमबारदेखि बङ्गलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप खेल्ने भएको छ ।
विश्वकपमा सहभागिता जनाउन नेपाली टोली बङ्गलादेश प्रस्थान गरिसकेको छ । नेपाली टोलीलाई शनिबार केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले ट्रयाकसुटलगायत खेल सामाग्रीसमेत प्रदान गरेको थियो ।
नोभेम्बर २५ तारिखसम्म सञ्चालन हुने विश्वकपमा आयोजक बङ्गलादेशसँगै साविक विजेता भारत र नेपाल, इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले प्रतिस्पर्धा गर्दै छन् । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले पहिलो खेल नोभेम्बर १७ तारिख खेल्ने छ ।
नेपाली कबड्डी टिमका पदाधिकारीले विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले उत्कृष्ट प्रदर्शनसहित विश्वकप पदक हासिल गर्ने घर फर्कने विश्वास व्यक्त गरेका छन् ।
मानमती विष्टको कप्तानीमा रहेको नेपाली टोलीमा जयन्ती बडु उपकप्तान हुनुहुन्छ । अन्य खेलाडीमा गङ्गा घिमिरे, रविना चौधरी, मेनुका राजवंशी, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मीना नेपाली, बिनिता क्षेत्री, आस्मा यादव, सृजना थारू र उरुसा शाक्य रहनुभएको छ ।
टोलीको प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रमेशचन्द्र ओझा हुनुहुन्छ ।