• १६ फागुन २०८२, शनिबार

मुगुका २१ मतदान केन्द्रका लागि निर्वाचन सामग्री वितरण

blog

खत्याड गाउँपालिका–९ स्थित श्री शिव आधारभूत माध्यमिक विद्यालयका मतदान अधिकृत विनोदकुमार बानियाँ निर्वाचन सामग्री बुझ्दै। तस्बिरः हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, फागुन १६ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुगुका २१ मतदान केन्द्रमा प्रयोग हुने ४९ प्रकारका निर्वाचन सामग्री मतदान अधिकृतहरूले बुझेका छन्।

जिल्लाको मुगुमकार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाका मतदान केन्द्रका लागि आवश्यक सामग्री जिल्ला निर्वाचन कार्यालयले वितरण गरेको हो। निर्वाचन आयोगको कार्यविधिअनुसार हिमाली तथा दुर्गम बस्तीका मतदान केन्द्रमा समयमै पुग्न मतदान टोली शनिबारदेखि नै केन्द्रतर्फ प्रस्थान गरेको छ।

जिल्ला निर्वाचन कार्यालय मुगुका प्रमुख कमलप्रसाद उपाध्यायका अनुसार मतदान केन्द्र सञ्चालनका लागि सियो, धागो र सुतलीजस्ता सामान्य सामग्रीदेखि मतपत्र र मतपेटिकाजस्ता महत्त्वपूर्ण सामग्रीसम्म आवश्यक पर्ने हुन्छ।

उहाँका अनुसार निर्वाचन आयोगबाट १२ प्रकारका सामग्री प्राप्त भएका छन् भने जिल्ला निर्वाचन कार्यालयले स्थानीय व्यापारीबाट ३७ प्रकारका सामग्री खरिद गरी व्यवस्थापन गरेको छ।

मतदान केन्द्रमा मतपत्र, मतपेटिका, स्वस्तिक छाप, रङ्गीन तथा सादा मतदाता नामावली, सुरक्षा सिल, स्थायी मार्कर, सियो, धागो, सलाई, मैनबत्ती, लाह, स्ट्याम्प, स्टिकर, पिन, फोटोकपी कागज, नेपाली कागज, छेकाबार, रबर म्याट, सुतलीलगायत सामग्री प्रयोग गरिनेछ।

त्यस्तै सेतो कपडाको बोरा, ‘भित्र–बाहिर’ तथा ‘महिला–पुरुष’ जनाउने संकेत कार्ड, कर्मचारी परिचयपत्र, उम्मेदवार प्रतिनिधि परिचयपत्र, उम्मेदवार तथा स्वयंसेवक परिचयपत्र र विभिन्न अनुसूची फारामसहित कुल ४९ प्रकारका सामग्री वितरण गरिएको प्रमुख उपाध्यायले जानकारी दिनुभयो।

मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार निर्वाचन टोलीलाई आवतजावतमा सहज बनाउन जिल्लाका सरकारी तथा निजी यातायात साधन प्रयोग गरिनेछ।