सन्तोष राउत
सोलुखुम्बु, फागुन १६ गते । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका उम्मेदवारले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । एउटा क्षेत्र मात्र रहेको सोलुखुम्बुमा १२ दलले उम्मेदवारी दिएका छन् । ती दलमध्ये प्रमुख दलका बिचमा प्रतिस्पर्धा हुने देखिएको छ । अधिकांश उम्मेदवार नयाँ हुनुहुन्छ । नेपाली कांग्रेसले प्रकाशसिंह कार्कीलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । २०४८ सालदेखि लगातार बलबहादुर केसी मात्र उम्मेदवार बनिरहनुभएको यस क्षेत्रमा यस पटक कांग्रेसले नयाँ अनुहारलाई चुनावी मैदानमा पठाइएको छ । उद्योग वाणिज्य महासङ्घमा केन्द्रीय सदस्य भइसक्नुभएका कार्की समाजसेवीका रूपमा परिचित हुनुहुन्छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कार्की २०७४ सालको प्रदेश सभा सदस्यमा पराजित हुनुभएको थियो ।
यसअघि कांग्रेसमा हुने चरम गुटबन्दीका कारण कांग्रेसले हार बेहोर्ने गरेको थियो । यस पटक कांग्रेस सोलुमा कुनै गुट नदेखिएकाले र स्वच्छ छविका समाजसेवी प्रतिस्पर्धामा भएकाले जित्ने दाबी गरेको छ । अघिल्लो चुनाव जितेका नेकपा (एमाले)ले पूर्वनगर उपप्रमुख युवा कल्पना राईलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट आउनुभएका राई २०७४ सालको स्थानीय निर्वाचनमा सोलु दुधकुण्ड नगरपालिकामा उपप्रमुख बन्नुभएको थियो । अधिवक्तासमेत रहेकी राई पनि प्रतिनिधि सभा सदस्यका लागि पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको हो ।
नेपाली कम्युनिस्ट पार्टीले बहालवाला गाउँपालिका अध्यक्ष असिम राईलाई उम्मेदवार बनाएको छ । उहाँ थुलुङ दुधकोशी गाउँपालिकामा अध्यक्षका रूपमा दुई पटक विजय हुनुभएको थियो । उहाँ पनि पहिलो चोटि प्रतिनिधि सभा सदस्यमा चुनाव लड्दै हुनुहुन्छ । सङ्गठनात्मक रूपमा तेस्रो भए पनि व्यक्तिगत प्रभाव र सव्रिmयताका आधारमा उहाँले पनि जितको दाबी गर्नुभएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ऋषिधन राईलाई चुनावी मैदानमा उतारेर प्रचारमा जुटेको छ । नेपाल प्रहरीको जागिर छाडेर गैरसरकारी संस्थामा काम गरेका राई पढेलेखेको युवामा पर्नुहुन्छ । रास्वपाले कमजोर सङ्गठन भए पनि मत बढाउने गरी चुनावी अभियान अगाडि बढाएको छ । यसै गरी श्रम संस्कृति पार्टीले बियस राईलाई उम्मेदवार बनाएको छ । यस्तै जनता समाजवादी पार्टी नेपालबाट लाक्पा शेर्पा, आमजनता पार्टीबाट गुणराज एफ भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट कमलबहादुर मगर, मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङ, उज्यालो नेपाल पार्टीबाट पेम्बाछिरी शेर्पा, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट मनकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र बस्नेतले उम्मेदवारी दिएर प्रचारप्रसारलाई तीव्रता दिनुभएको छ ।
२०४८ देखि अधिकांश चुनाव कांग्रेस, एमाले र माओवादीले नै जित्दै आएका छन् । २०४८, २०५१, २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेस, २०६४ सालमा माओवादी, २०७० मा नेपाली कांग्रेस र २०७४ सालमा नेकपाको गठबन्धन र २०७९ मा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका थिए ।