• १२ मंसिर २०८१, बुधबार

साहित्यमा विश्वेश्वर, राजनीतिमा बिपी

blog

विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४) यो धर्तीमा आएको पनि १०८ वर्ष पुगिसकेको छ। आफ्नो ६८ वर्षको आयु नेपाल र नेपालीका लागि सुम्पेर २०३९ साल साउन ५ गते यो धराबाट बिदा लिनुभएका बिपीबारे अनगिन्ती लेखिए। उहाँको बहुआयामिक व्यक्तित्व र साहित्यिक पाटो तथा राजनीतिको यात्राबारे गहन अध्ययन अनुसन्धान भएका छन्। भइरहेका छन्। बिपीको व्यक्तित्व र कृतित्वको अनेक आयाममा १९ जना विद्वान्ले विद्यावारिधि गरिसकेका छन् भने स्नातकोत्तर तह र दर्शनाचार्य तहमा गरेर करिब पाँच सय जना अनुसन्धाताले शोध गरिसकेका छन्। 

झट्ट हेर्दा अब उहाँका बारेमा लेख्नुपर्ने धेरै छैनन्, तथापि अझै धेरै रहस्य, चिन्तन र मननको विषय बिपीको समग्र व्यक्तित्वमा रहेको देखिन्छ। उहाँका बारे मान्छेको आकर्षण र सम्मोहनले ज्यादा देखाउँछ। उहाँको जादुयी व्यक्तित्वबारे नलट्ठिने राजनीतिज्ञ नेपालमा छैनन्।

बिपी कोइराला कम्युनिस्ट पार्टीसँग चर्को मतभेद राख्थे, जब कि कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायतविरुद्ध लडौँ भन्ने पुष्पलालको अनुरोधलाई बिपीले उपेक्षा गर्नुभएको थियो। तथापि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले बिपीको उच्च प्रशंशा गर्दै २०४८ सालतिर एक अन्तर्वार्तामा “मलाई मन पर्ने राजनेता बिपी कोइराला हुन्। उनी जस्तो रचनात्मक सोच र शैलीको राजनेता दक्षिण एसियामा मैले नदेखेको” अभिव्यक्ति दिनुभएको थियो। 

 सुन्दरीजलस्थित बिपी बन्दीगृहमा पुगेर प्रचण्डले बिपीले प्रयोग गर्ने सामान छोएर भावुक भएर उहाँको प्रशंसा गरेको पनि धेरै भएको छैन। बिपी बाँचेका भए नेकपा एमाले बनिसक्थे भनेर ओलीले अवमूल्यन गरेको पनि हिजोअस्ति नै हो। बिपी केन्द्रमा हुनु र उहाँका विरोधीसमेतमा उहाँको आकर्षण देखिनुको कारण उहाँको बौद्धिक र सैद्धान्तिक क्षमता उदाहरणीय भएर नै हो।

बिपी विशेष समयले जन्माएका विशेष उपलब्धि र विशेष सम्पदा हुनुहुन्छ। तसर्थ उहाँको राजनीतिक यात्रा मन नपराउनेहरू साहित्यिक यात्राको फिदा छन्। साहित्यमा उहाँलाई अराजक भन्नेहरू राजनीतिमा दुरदर्शी राजनीतिज्ञको उपाधि दिन्छन्। उहाँको व्यक्तित्वको अनेक पाटा र सन्दर्भ छन्। यसर्थ उहाँको व्यक्तित्वलाई कतै न कतैबाट मन पराउने सचेत जमात उल्लेख्य भएको उहाँका बारे हुने गरेका र भएका शोध सामग्रीले स्पष्ट पार्छ। 

राजनीतिमा बिपी 

भारतीय स्वतन्त्रता आन्दोलनको क्रममा बिपी सन् १०३० मा भारतीय समाजवादी पार्टीको सदस्य र सक्रिय कार्यकर्ताका रूपमा पहिलो पहिलो पटक जेल पर्नुभएको थियो। दोस्रो पटक सन् १९४२ मा जेल पर्नुभएका बिपी भारतीय स्वतन्त्रता सङ्ग्रामको प्रभावले नेपालमा राणा शासन अन्त्यका लागि नेपाली कांग्रेस २००३ कात्तिक १२, १३ मा कलकत्तामा नेपालीको सम्मेलन गरेर नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी जेलमा रहेका टङ्कप्रसाद आचार्य सभापति र कार्यवाहक सभापति बिपी बन्दै पूर्णकालीन राजनीतिमा होमिएर नेपालमा प्रजातन्त्र स्थापनार्थ काम सुरु गर्नुभयो। २००४ मा विराटनगर जुट मिल कारखानाको हडतालमा नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्व बिपीले गर्नुभएको थियो। उहाँ त्यहीँबाट नेपालमा पहिलोपल्ट पक्राउ पर्नुभयो र बन्दीका रूपमा काठमाडौँ ल्याइनुभयो। २००६ चैत २७ गते विभिन्न नामबाट राजनीति गरिरहेका अरू सङ्गठन र नेपाली राष्ट्रिय कांग्रेसबिच एकता हुन्छ र त्यहाँ पार्टी एकता र जनक्रान्तिका लागि बिपीले पार्टीको केन्द्रीय नेता मात्रै रहेर नेतृत्वको दाबी छोड्छन् र विधिवत् रूपमा नेपाली कांग्रेसको जन्म हुन्छ। 

नेपाली कांग्रेसले २००७ सालमा प्रजातन्त्रका लागि सङ्घर्ष अघि बढायो, पार्टी अध्यक्ष घोषित कमान्डर भए पनि क्रान्तिको नेतृत्व बिपीबाट भएको थियो र क्रान्तिको लगाम बिपीले आफ्नो हातमा राखेका कारण बिपीको निर्णय र आदेश कार्यान्वयन हुन्थ्यो भन्ने इतिहासका अध्येताहरूको भनाइ छ। २००७ फागुन ७ मा नेपालमा प्रजातन्त्र आयो, राणा शासन ढल्यो। नेपाली जनताले प्रजातन्त्र पाए त्यसको नेतृत्वकर्ताको हिसाबले बिपीको योगदान उल्लेखनीय छ। प्रजातन्त्र प्राप्तिपछि राणा–कांग्रेस संयुक्त सरकारको गृहमन्त्री भएर बिपीले केही समय काम गर्नुभयो।

राजनीतिबाट प्रजातन्त्रको चाहना राख्ने कोइराला कानुनीराज र सामाजिक न्यायमा विश्वास गर्नुहुन्थ्यो। २०१६ जेठ १३ गते नेपाली कांग्रेसले दुईतिहाइ बहुमतसहित आफ्ना पार्टीका संसदीय दलका नेता बिपीलाई नेपालको २२ औँ र पहिलो जननिर्वाचित प्रधानमन्त्रीको जिम्मेवारी दियो। १८ महिना मात्रै सरकार चलाउन पाउनुभएका बिपीले भूमिसुधार र विर्ता उन्मूलनमा काम गर्दै हुनुहुन्थ्यो। जसको जोत उसको पोत भन्ने कांग्रेसले अवलम्बन गरेको नीति लागु हुँदै थियो।

उल्लेख्य पक्ष बिपीको मन्त्रीपरिषद् समावेशी र प्रतिनिधित्वको सवालमा अब्बल थियो। झन् तत्कालीन विश्व परिस्थितिमा नेपाली नारी र तिनको मर्यादा माथि उठाउन नारीको सहअस्तित्व स्वीकार गर्दै बिपीले २०१५ सालको चुनावमा निर्वाचन क्षेत्र नम्बर ६६ डोटी, डडेलधुराबाट द्वारिकादेवी चन्द ठकुरानी उठाएर चुनाव मात्रै जिताउनु भएन, स्वास्थ्य र स्वायत्त प्रबन्ध उपमन्त्री बनाएर विश्वभर हलचल मच्चाउन सफल भएका थिए। जब कि सन् १९७१ मा मात्रै स्विट्जरल्यान्डमा महिलालाई मताधिकार प्रयोग गर्न दिइयो। जुन नेपालको पहिलो संसदीय चुनाव २०१५ भन्दा १२ वर्षपछिको घटना हो।

नेता र सर्वसाधारणको जीवनस्तरमा आर्थिक विषमताको भयङ्कर ठुलो खाडल छ। व्यवस्था बदलेपछि अवस्था पनि बदल्नुपर्ने बिपीको समाजवादी नीति थियो। त्यसैले सबै नेपालीको शिक्षा, स्वास्थ्य र आर्थिक हैसियत बिपी आफ्नो जत्तिकै बनाउन चाहनुहुन्थ्यो। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद बिपीका मन्त्र र प्रयोग थिए। दुर्भाग्य राजा महेन्द्रलाई आफैँ सरकार चलाउने भूत चढ्यो। जनताले चुनेको सरकार चलिरहेको बेला राजा महेन्द्रले २०१७ पुस १ गते बिपीको सरकार अपदस्थ गरेर उहाँलगायत अरू महत्वपूर्ण नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, दिवानसिंह राई, भद्रकाली मिश्रलाई आठ वर्षसम्म सुन्दरीजलमा बन्दी बनाएर राखे। २०२५ कात्तिक १४ गते रिहा हुनुभएका बिपी त्यसपछि आठ वर्ष नै भारत निर्वासनमा बस्नुभयो। 

बिपीले निरङ्कुश राजतन्त्रको जहिल्यै बर्खिलापमा आफूलाई उभ्याउनुभयो भने संवैधानिक राजतन्त्रलाई प्रतिकूल अवस्थामा पनि छाँद हालिरहनुभयो। बिपीले तत्कालीन राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको आकलन गरेर नै नेपालमा संवैधानिक राजतन्त्रको मोह नछाडेको, राजतन्त्र अपरिहार्य सम्झेको बुझ्न आज पनि कतिपय सन्दर्भमा कम्युनिस्ट पार्टीका नेताहरूको वाणी र राजतन्त्रको अन्त्य कतै हतारमा गरियो कि भन्ने धेरै विशिष्ट राजनीतिज्ञको विचारले व्यक्त गर्छ। 

प्रचण्ड, ओली, बाबुराम, वैद्य, विप्लव र बिजुक्छेसम्मले वैधानिक सेरोमोनियल, आलङ्कारिक, सांस्कृतिक या त्यस्तै गणतन्त्रमा समेत अट्ने राजतन्त्रको परोक्ष स्वीकार गर्नुभएको छ। कांग्रेसभित्र झन् बग्रेल्ती राजावादी छन्। राजतन्त्रको नेपालमा सान्दर्भिकता सधैँ छ भनेर नै बिपीले २०३३ साल पुस १६ मा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्दै राजासँग राष्ट्रियताको मामलामा मेरो गर्धन जोडिएको छ भन्ने वक्तव्यसहित उहाँ नेपाल आउनुभयो। 

सिक्किम १९७५ मा भारतको पन्जामा जब पुग्यो, तब नेपालको राष्ट्रियतामाथि पनि खतरा रहेको निष्कर्ष निकाल्दै बिपी स्वदेश फिर्ता हुनुभयो। निर्वासन त्याग्नुभयो। आफ्नै माटोमा मर्न चाहन्छु भन्नुभयो। बिपीको यो कदमको आलोचना र प्रशंसा उत्तिकै भएको छ। बिपीको राष्ट्रिय मेलमिलाप दिवस प्रत्येक पुस १६ मा कांग्रेसले विशेष औपचारिक भएर मनाउने गरेको छ। तैपनि कांग्रेस बिपी मार्गमा छैन। हुन त अहिलेको गठबन्धन बिपीको मेलमिलाप नीति अनुकूल नै राष्ट्र बचाउन र प्रजातन्त्र जोगाउन भएको कांग्रेसजनको तर्क सुनिएको छ। 

बिपीले राजाले गराएको जनमत सङ्ग्रहमा धाँधली हुँदा र पञ्चायतको निर्दलले विजय प्राप्त गर्दा सहजै स्वीकार गरेर आफ्नो प्रजातान्त्रिक छविलाई झन् उज्यालो पार्नुभयो। उहाँको कथन थियो, “खेलमा सहभागी भएपछि निर्णय मान्नु खेलाडीको धर्म हो। पञ्चायतले कम्तीमा एउटा प्रजातान्त्रिक अभ्यासलाई मान्यता दियो। अब देश प्रजातन्त्रको लिकमा छिटै प्रवेश गर्ने छ।” बिपी उद्गारको १० वर्षपछि देश बहुदलीय प्रजातन्त्र अवलम्बन गर्न बाध्य भयो भने राजा वीरेन्द्र संवैधानिक राजा बन्न राजी भए। २०४७ सालमा नयाँ संविधान बन्यो र राजा संविधानभित्र बसे। यद्यपि यही संविधान नाघेर राजा ज्ञानेन्द्रले संवैधानिक कु ०१७ साल भाग दुई मन्चन गरे; जसको परिणाम नेपालको राजतन्त्र नै बिदा हुन पुग्यो। नेपाल सङ्घीय गणतान्त्रिक मुलुकमा रूपान्तरित भयो । संवैधानिक राजतन्त्रका हिमायती बिपी गणतान्त्रिक पद्धतिमा पनि स्मरणीय हुनुहुन्छ। 

साहित्यमा विश्वेश्वरप्रसाद

राजनीतिमा बिपी भनेर परिचित कोइराला साहित्यमा विश्वेश्वरप्रसादका नामले सुविख्यात हुनुहुन्छ। यो तथ्य आधुनिक अनुसन्धानदाता र विद्यार्थीले जान्नु आवश्यक छ। तसर्थ यहाँ उहाँको साहित्यिक प्रसङ्गमा उहाँलाई विश्वेश्वरप्रसाद नै लेख्ने प्रयत्न गरेको छु। भारतमा नै विश्वेश्वरको अध्ययन, बाल्यकाल र युवाकाल बितेका कारण उहाँ भारतीय स्रष्टाहरूका समीपमा हुनुहुन्थ्यो। 

आफूलाई साहित्यमा रुचि जगाउने व्यक्तिका रूपमा विश्वेश्वरका मित्र शान्तिप्रिय द्विवेदीको नाम लिनुभएको छ। द्विवेदीले कोइरालालाई भारतीय मूर्धन्य साहित्यकारको जमघटमा लगेर परिचय गराउनुहुन्थ्यो। त्यस भेटघाटमा जयशङ्कर प्रसाद, मैथालिशरण गुप्ता, मुन्सी अजमेरी, विनोदशङ्कर व्यास जस्ता प्रख्यात भारतीय साहित्यिक हस्ती सहभागी बन्थे। यिनीहरूको प्रभाव र सङ्गतले विश्वेश्वरमा साहित्यको रुचि र उत्प्रेरणा बढ्यो। जसका कारण उहाँले पनि हिन्दीमा आफ्ना रचना लेख्न थाल्नुभयो। 

विश्वेश्वरप्रसादले लेखेको ‘वहा’ नामको लघुकथा ‘हंस’ नामक प्रेम चन्दद्वारा सम्पादित पत्रिकामा १९८७ मा प्रकाशित भएको थियो। साहित्य रचनाको सिलसिलामा कोइरालाका कथा, निबन्ध र विविध रचना हिन्दीमा छापिन थाले। हिन्दी साहित्यमा टैगोर, प्रेमचन्द आदिका अलावा हिन्दीका अनुदित गोर्की, टल्सटय, मोपसा, चेखव आदिका कथा, उपन्यास र साहित्यका अनेक विधा विश्वेश्वर पढ्न लाग्नुभयो र साहित्यका अनुरागी बन्न थाल्नुभयो।

विश्वेश्वरले आफ्नो राजनीतिको अत्यन्त प्रतिकूल अवस्थामा सुन्दरीजलमा आठ वर्ष राजबन्दी बस्दा पनि नेपाली साहित्यको श्रीवृद्धिमा आफूलाई तल्लीन गराउनुभयो। विश्वेश्वरका उपन्यासलाई विषयगत वर्गीकरण गर्दै प्राडा हरिप्रसाद शर्माले बिपीका उपन्यासमा लेख्नुभएको छ, – उहाँका उपन्यास सामाजिक, सांस्कृतिक र पौराणिक तीन प्रकारका रहेका छन्। सामाजिक उपन्यासमा तीन घुम्तीलाई नारी समस्या केन्द्रित अनि नरेन्द्र दाइ र बाबु, आमा र छोरालाई मानवनियति भनेर उल्लेख गरेका छन्। सांस्कृतिक उपन्यास भनेर सुम्निमाको नाम लेख्दै समन्वयवादी सांस्कृतिक विचार भनेर अथ्र्याएका छन्। त्यसै गरी पौराणिक गीता दर्शनमा आधारित उपन्यासमा मोदीआइनलाई चित्रित गर्दै राष्ट्रिय सन्दर्भमा जोडेका छन् अनि अन्तर्राष्ट्रिय सन्दर्भमा हिटलर र यहुदीलाई चिनाएको पाइन्छ। 

‘आफ्नो कथा’ (आत्मजीवनी) आत्मवृत्तान्त जेल जर्नल (२०५५) फेरि सुन्दरीजल जेलको दिन पन्जी आदि पाइएका छन्; बिपीका भाषण र अन्तर्वार्ताहरू पनि किताबका रूपमा विभिन्न व्यक्तिले सङ्कलन गरेर प्रकाशन गरेको पाइन्छ।  बिपीका रचनाहरू अङ्ग्रेजी, हिन्दी, मैथली जस्ता अन्य भाषामा समेत प्रकाशित छन्। कलालाई सुरक्षा होइन स्वतन्त्रता चाहिन्छ भन्ने विश्वेश्वर साहित्यमा सम्राट् पनि नाङ्गो हुन्छ भन्नुहुन्थ्यो। बिपीलाई राजनीतिमा भन्दा साहित्यमा सफल मान्नेको जमात पनि धेरै छ। 

बिपी विशेष समयले जन्माएका विशेष उपलब्धि र विशेष सम्पदा हुनुहुन्छ। राजनीति र साहित्यका विलक्षण प्रतिभा बिपीलाई उहाँको १०८ औँ जन्मजयन्तीमा हार्दिक श्रद्धा सुमन!    

Author

सञ्जीव कार्की