• १३ साउन २०८१, आइतबार

कांग्रेस बैठकमा पार्टी एकताबद्ध बनाउन जोड

blog

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक । तस्बिर: केशब गुरुङ

काठमाडौं, साउन ५ गते। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले पार्टी एकताबद्ध बनाउन जोड दिनुपर्ने बताउनुभएको छ। कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले एउटा घर सञ्चालनका लागि पनि अनुशासन चाहिने भन्नुहुँदै बैठकमा एकआपसमा वाकयुद्ध गर्न नहुने बताउनुभयो।

श्रेष्ठले भन्नुभयो, “एउटा घर चलाउन पनि अनुशासन चाहिन्छ, मानिएन भने भताभुङ्ग हुन्छ।हामी एकताबद्ध भएर गयौं भने कुनै शक्तिले तलमाथि पार्न सक्दैन।हामी चौथो दिनमा प्रवेश गरेका छौं।धेरै कुरा भए, हामी वाकयुद्ध गरिरहेका छौं।आपसमा विरोध, प्रतिवाद गर्ने काम यसले कति फाइदा, कति नोक्सान छ, अहिले धेरैले सुनेका छन् स्वदेश र विदेशमा त्यसको प्रतिक्रिया आउला।हामी प्रत्यक्ष प्रसारणमा छौं तर बन्द कोठामा छैनौं ।”

उहाँले २०७४ मा कांग्रेस २३ सिटमा खुम्चिएको कुरा स्मरण गराउनुहुँदै यी विषयमा संवेदनशील भएर विचार गर्न आग्रह गर्नुभयो ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले अब गुटबन्दी नभएको कांग्रेस बनाउनुपर्ने बताउनुभयो।

भट्टराईले भन्नुभयो, “महामन्त्रीको तालिका पनि बढो राम्रा छन्।परम्परागत शैली मैले तपाइलाई भाष्य सुनाएर संगठन विस्तार हुन्नँ।कसरी संगठन विस्तार गर्न सकिन्छ, हाम्रो संगठन विस्तारको टार्गेट युवा, विद्यार्थी हुनुपर्छ भन्ने लाग्छ ।”

उहाँले वि.सं. २०४८ पछाडि कांग्रेसको नेतृत्वमा विभिन्न नीति निर्माण भएको उल्लेख गर्नुभयो।“अहिले हाम्रा एजेण्डा २०४८ साल पछाडि नीति, निर्माण भए।आर्थिक, जलस्रोत, सडक, स्कुल, स्वास्थ्य, सञ्चार नीति बने कांग्रेसकै कारणले बने वास्तवमा।कांग्रेसको नीति सत्ता बाहिर हुँदा विरोध गर्ने विकल्पन नदिने।यसकारण, हाम्रो नीति धुमिल भएको देखिन्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले बैठकमा निकै महत्त्वपूर्ण विषयमा छलफल भइरहेको भन्नुहुँदै कांग्रेसलाई बलियो र अरु दलभन्दा फरक पहिचानको दल बनाउने हो भने एकपटक समीक्षा गर्न जरुरी रहेको बताउनुभयो।

भुषाले भन्नुभयो, “कांग्रेस भनेको आदर्श, संस्कार, सिद्धान्त, मूल्यमान्यता, इतिहास, बलिदान, संघर्ष, संरक्षक, अधिकार र परिवर्तन पनि हो।केन्द्रदेखि गाउँसम्मको सक्रिय सदस्यलाई यसको अनुभूति अहिले कस्तो छ कि छैन ? एक पटक मलाई लाग्छ समीक्षा गर्न जरुरी छ।साँच्चिकै कांग्रेसलाई अरुभन्दा बलियो र अरु दलभन्दा फरक पहिचानको रुपमा हामीले ल्याउन खोजेको हो भने एकपटक समीक्षा गरौं ।”

उहाँले महामन्त्रीले ल्याएको क्यालेन्डरमा २०१५ मा द्वारिकादेवी ठकुरानीलाई क्याबिनेटमा ल्याइएको, मंगलादेवी सिंहको नेतृत्वमा आम नेपाली महिलाले मतदानको अधिकार प्राप्ति भएको आन्दोलनको विषय राख्न सुझाव दिनुभयो।

उहाँले भन्नुभयो, “गठबन्धनमा धेरै विवाद पनि भयो।मधेश , तराइतिर धेरै मर्का पनि परेको देख्यौं।तल्लो सदनलाई प्रत्यक्ष निर्वाचनमा लिएर जाऔं।मिश्रित निर्वाचन प्राणली पनि राख्ने अनि गठबन्धन बनाउन नहुने ? घात, अन्तरघातको काम नभएको भए हामी उत्कृष्ट हुन्थ्यौं, नेपाली कांग्रेसप्रतिको आस्था पनि बढ्थ्यो।कार्यकर्ताको विश्वास पनि बढ्थ्यो ।”