• १५ मंसिर २०८१, शनिबार

नेपाल प्रहरीले अध्ययन र बुझाइको दायरालाई बृहत बनाउन जरुरी : प्रहरी महानिरीक्षक कुँवर

blog

वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपालः अ ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एण्ड इम्पिलिकेशन’को विमोचन कार्यक्रममा बोल्नुहुँदै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन ५ गते । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी रहेको बताउनुभएको छ ।

सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरुलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउनुपर्ने आवश्यकता रहेको उहाँको तर्क थियो ।


उहाँले भन्नुभयो, ‘‘आफ्नो स्थापनाकालदेखि हालसम्म नेपाल प्रहरी यो देशका हरेक सङ्घर्ष र परिवर्तनको साक्षी छ । यी परिवर्तनहरुले के सिकाएको छ भने प्रहरीले समाज र समयको ढुकढुकी बुझ्न जरुरी छ । अबको जमानामा लटठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र प्रहरीले जस पाउन सक्दैन । सुरक्षाजस्तो संवेदनशील विषयमा काम गर्नुपर्ने भएकाले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ । त्यसका लागि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी छ ।’’ 

शुक्रबार काठमाडौंमा वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपालः अ ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एण्ड इम्पिलिकेशन’को विमोचन कार्यक्रममा बोल्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले अबको जमानामा लट्ठी, बन्दुक बोकेर गरिने डूयटीबाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले द्वन्द्वपछिको सङ्क्रमणकालीन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि वरिष्ठ प्रहरी उपरीक्षक केसीद्वारा लिखित सो पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।


प्रहरी महानिरीक्षक कुँवरले सो पुस्तकको अनुकरण र अनुसरणबाट नेपाल प्रहरीको विकास र रुपान्तरणका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो ।
‘‘विशेषतः द्वन्द्व उप्रान्त सङ्क्रमणकालीन समाजमा नेपाल प्रहरी लगायतका सुरक्षा निकायले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सामना गर्नु परिरहेको अप्ठ्यारोको सामना र समाधान गर्दै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन कुनै पनि समस्या र विषयबस्तुलाई केवल सुरक्षाको निकायको दृष्टिकोणले मात्र सीमित नरही एक सामान्य नागरिकको दृष्टिकोणबाट पनि विश्लेषण गर्नुपर्ने हुन्छ ।,’’ प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘‘जुन कुराको उठान यस पुस्तकमा भएको मैले पाएको छु । यस पुस्तकको स्रोतबाट प्राप्त भएको जुन निष्कर्ष छ । यसको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रुपान्तरणको लागि यसले कोशेढुङ्गा सावित हुने कुरा पनि मैले विश्वास लिएको छु ।’’

कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ प्रहरी उपरीक्षक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा राख्नुभएको थियो ।